सेतो मछिन्द्रनाथको आसन बनाउन भारतले २४ किलो चाँदी उपलब्ध गराएको छ।
भारतीय दूतावासका तर्फबाट २४ किलो चाँदी बुधबार हस्तान्तरण भएको हो।
दूतावासका तर्फबाट काउन्सिलर अविनाश सिंहले चाँदी हस्तान्तरण गरेका हुन्। २४ किलो चाँदीका लागि भारत सरकारले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो।
भारत सरकारले उपलब्ध गराएको सो रकमले राष्ट्र बैंकबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइले चाँदी खरिद गरेको थियो।
२०७२ को भूकम्पले क्षति पुर्याएको पुरातात्विक महत्वको मन्दिरको भारत सरकारकै सहयोगमा पुननिर्माणको काम भइरहेको छ।
पुननिर्माणको समयमा लागत अनुमान गर्दा चाँदीको आसनको कार्य समावेश नभएपछि पुनः भारत सरकारलाई नै चाँदीका लागि आग्रह गरिएको थियो।
सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ६ करोड २६ लाख लागतमा पुरातत्व विभागबाट स्वीकृत मास्टर प्लान र डिजाइनअनुसार मन्दिर प्रवलीकरणको ७५ प्रतिशत काम सकिएको बताएको छ।
सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख प्रकाश आर्यालले भवन प्रबलीकरण र सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि चाँदी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिँदै यसले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।