हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
ती तीन प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
बुधबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ।
त्यस्तै गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागहरूमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।