काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोरबाट ठूलो परिमाणको विदेशी मुद्रासहित गए राति एक जना ट्रक चालक पक्राउ परे।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ को ट्रक र त्यस ट्रकभित्र लुकाएर राखेको पैसासहित चालकलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी ट्रक चालक र बरामद विदेशी मुद्राबारे अहिलेसम्म प्राप्त जानकारी भन्दै केही कुरा खुलाएको छ।
प्रहरीका अनुसार ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुशाङ लामा (फुच्चे) हुन्। उनी केही समयदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा डेरा गरी बस्दै आएका थिए।
ट्रक उनको आमाको नाममा छ। उनले ट्रकमा विदेशी मुद्रा राख्नुअघि २० दिनदेखि रङ लगाउन ट्रक ग्यारेजमा राखेका थिए।
लामा सुन तस्करी आरोपमा पाँच वर्ष जेल परेका थिए। जेलबाट छुटेपछि उनले ट्रक चलाउन थालेको देखिन्छ।
चालक लामाले ट्रकमा कसरी लुकाएर ल्याएका थिए यति धेरै विदेशी मुद्रा? प्रहरीका अनुसार ट्रकको क्याबिनमा फल्स बटम बनाएर त्यसमा पैसा लुकाएर राखिएको थियो।
उनले यो विदेशी मुद्रा कहाँ लैजाँदै थिए? प्रहरीले चालक लामासँग यसबारे सोधपुछ गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार प्रारम्भिक बयानका क्रममा चालक लामाले उक्त पैसा चीनको केरूङसम्म लैजान लागेको बयान दिएका छन्।
तर चालक लामाले त्यस ट्रक रसुवागढीसम्म लगेर छाड्ने र रसुवाकै मानिस वा भिसाप्राप्त व्यक्तिको प्रयोग गरी त्यहाँबाट ट्रकलाई सीमा कटाएर केरूङसम्म पुर्याउने योजना बनाएको प्रहरी स्रोतको भनाइ छ।
‘उनले यतिका धेरै विदेशी मुद्रा कसरी संकलन गरे खुलिसकेको छैन, बैंकबाट यति धेरै पैसा जुटाउन सम्भव देखिँदैन,’ प्रहरी स्रोतले भन्यो, ‘पैसा साट्ने निजी निकायहरूमार्फत् अवैध रूपमा साटेको हुन सक्छ, अनुसन्धान भइरहेको छ।’
चालक लामाले काठमाडौंको सामाखुसी क्षेत्रमा पार्किङ गरिराखेको आफ्नो ट्रकमा कसैले पैसा लोड गरिदिएको बयान दिएका छन्।
तर यस घटनामा चालक लामाको मात्र नभएर अरूको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीलाई सोमबार अबेर राति ट्रकमा ठूलो रकम राखेर लैजाँदै गरेको सूचना आएको थियो।
उक्त सूचनापछि डिएसपी अनिल घिमिरेसहितको टोली परिचालन भएको थियो।
‘प्रहरीले त्यो ट्रकको खोजी गर्दै जाँदा टोखाको झोर सडकमा गुडिरहेको अवस्थामा भेटियो,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले सेतोपाटीसँग भने, ‘हाम्रो गाडी ट्रकअघि रोक्यौं, अनि ट्रकमा के रहेछ भनेर हेर्दा सामान राख्ने ठाउँ पूरा खाली थियो। चालकलाई सोध्दा सामान छ भनेपछि थप अनुसन्धान गर्न टेकु ल्यायौं।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा ट्रक ल्याएर पैसाको खोजी सुरू गरिएको ती अधिकृतले जानकारी दिए।
‘हामीले भिडिओ खिच्दै ट्रकमा पैसा राख्न मिल्नेजस्ता ठाउँको खोजी गर्यौं, चालक बस्ने क्याबिनमाथि फल्स बटम बनाएर त्यहाँभित्र पोका-पोकामा पैसा राखिएको रहेछ,’ उनले भने, ‘राति नै हामीले पैसा गन्यौं, करिब २५ करोड रुपैयाँभन्दा बढी थियो। आज पनि बिहान मेसिन ल्याएर फेरि पैसा गन्यौं।’
२५ करोडभन्दा बढी रकम ट्रकमा राखेर लामा केरूङतर्फ अघि बढ्दै गर्दा प्रहरी नियन्त्रणमा परेका थिए।
लामा २०७३ सालमा ७ किलो सुनसहित पक्राउ परेर २०७८ सालमा छुटेका थिए।
अहिले पनि उनले सुन तस्करीकै लागि उक्त रकम केरूङतर्फ लैजान लागेको प्रहरी स्रोतको भनाइ छ। उनले कसको पैसामा कसलाई सुन तस्करी गर्छन् भन्ने खुलेको छैन।
प्रहरीले चालक लामालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ बमोजिम अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरलाई बुझाउने तयारी गरेको छ।
प्रहरी र राजश्व अनुसन्धान टोलीले बरामद भएका विदेशी मुद्राको सिरियल नम्बर रेकर्ड राखेर अनुसन्धान थाल्नेछन्। यो पैसा विभिन्न कानुनी प्रक्रिया पूरा गरी सरकारी राजश्वमा दाखिला हुनेछ।
बरामद भएको युरो नेपाली बजार मूल्यअनुसार २० करोड ७६ लाख ४७ हजार ६ सय ५० रुपैयाँ र अमेरिकी डलर नेपाली मूल्यअनुसार चार करोड ४२ लाख ७७ हजार ३ सय रुपैयाँ हुन आउँछ।