बाँकेका एक युवक रोल्पामा मृत फेला परेका छन्। बाँकेको नेपालगञ्ज घर भई रोल्पास्थित मामाघरमा आएका २३ वर्षीय उमेश बुढामगर रोल्पाको जंगलमा मृत फेला परेका हुन्।
रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मगर रोल्पा नगरपालिका–९ हानवाङस्थित सालघारी सामुदायिक वनमा सोमबार मृत फेला परेका थिए।
शाहीका अनुसार मगर करिब १२ दिनअघि मामाघरमा पाहुना आएका थिए। मामाघरमा भेटघाटको लागि भनेर आएका मगर रोल्पामा माउली हजुरआमासँग बस्दै आएका थिए। नेपालगन्जमा भने उनी हजुरबुवासँग बस्दै आएका थिए।
मृतक मगरलाई चैत १ गते दिउँसो रोल्पाको सदरमुकाम लिवाङ बजारको मेलामा स्थानीयले देखेको बताएका छन्। त्यसपछि उनी सम्पर्कविहीन थिए।
उनको शव सोमबार माडीचौरबाट हाङबाङ जाने गोरेटो बाटोको दुई सय मिटरमुनि घोप्टो परेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक शाहीले बताए।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरी चौकी माडीचौरबाट प्रहरी सहायक निरीक्षक केशरबहादुर घर्ती मगरको कमाण्डमा तीन सदस्य टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक रोहितकुमार शाहीको नेतृत्वमा सात जनाको टोली पुगेको थियो। मगरको मृत्यु भिरबाट लडेर भएको हुन सक्ने प्रहरीको आशंका छ।
मृतक मगरकी श्रीमती भने छिमेकी देश भारतमा मजदुरीका लागि गएको भन्ने खुलेको शाहीले बताए। प्रहरी निरीक्षक शाहीका अनुसार नेपालगञ्जबाट मृतकका हजुरबुवालाई बोलाइएको छ।
शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल रेउघा पुर्याइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।