नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले प्रहरीमा सुधारको आवश्यकता रहेको भन्दै साइत कुरेर नबस्ने बताएका छन्।
मंगलबार बिहान दर्ज्यानी चिन्ह प्राप्त गरेपछि उनले प्रहरीमा सुधारको आवश्यकता रहेको हुँदा आफैबाट सुरूवात गर्ने बताए।
‘प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने म विश्वास पनि गर्दिनँ,’ उनले भने, ‘प्रहरीमा सुधार आवश्यक छ र त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन। यो सुधारको प्रारम्भ कोही र कसैबाट होइन, म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन।’
त्यस्तै आपराधिक प्रभावलाई निस्तेज पार्ने पनि उनले बताएका छन्।
‘अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दबाबलाई मेरा साथी सहकर्मीहरूको साथ र सामूहिक प्रयासका साथ त्यस्तालाई निस्तेज गरेर अगाडि बढ्ने ढृढता समेत यस अवसरमा व्यक्त गर्दछु,’ उनले भने।
यो पनि: आइजिपी दीपक थापाले पाए दर्ज्यानी चिन्ह (तस्बिरहरू)