पोखरा महानगरको फोहोरमैला समस्या ‘कोरियाली मोडल’मा समाधान गर्न ‘ग्रीन भेन्चर जोन’ अर्थात कोसेली घर निर्माण हुने भएको छ।
कोसेली घर भवनको सोमबार पोखराका मेयर धनराज आचार्य, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) का एसिया प्यासिफिक निर्देशक क्रिष्टोफर बहाइटले संयुक्त शिलान्यास गरे।
कोसेली घरमा फोहोरमैला ‘अपसाइकल’ र ‘रिसाइकल’का सामग्री हुनेछन्। फोहोरैला अपसाइकल र रिसाइकल गरेर बनेका सामग्रीहरूको बिक्री कक्ष, प्रदर्शनी कक्ष, सभाहल, कार्यालय लगायत बन्नेछन्। उक्त भवन बनाउन ५४ करोड ४० लाख खर्च लाग्नेछ।
पोखराको फोहोरमैला व्यवस्थापनमा कोइका र युएनडिपीले संयुक्त रूपमा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना (जिसीआरयु) परियोजना चलाएको छ। उक्त परियोजनामा कोइकाले १ अर्ब ३५ करोड २४ लाख र युएनडिपीले १२ करोड २४ लाख रुपैया अनुदान दिएको छ।
सोही अनुदानबाट ग्रीन भेन्चर जोन अर्थात कोसेली घर निर्माण थालिएको महानगरका इञ्जिनियर नेत्र तिमिल्सिनाले बताए। भवन बनाउन इन्टरनेशनल इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ भने भवनको डिजाइन र निरिक्षणको जिम्मा जेके एसोसिएसनले पाएको उनले बताए। ठेक्का संझौता अनुसार भवन निर्माण कार्य आगामी २४ महिनामा सकिनुपर्छ।
‘हामीले ठाउँ मात्र देखाइदिएको हो, ठेक्का लगाउनेदेखि सुपरिवेक्षण कोइका र युनिडिपीले नै गर्छ,’ इञ्जिनियर तिमिल्सिनाले भने।
‘रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना (जिसीआरयू) परियोजना कोरियाको राजधानी सोलमा भइरहेको अभ्यासमा आधारित छ।
फालिएका पुराना कपडा, प्लास्टिक, काठ लगायतबाट पुन प्रयोग गर्न सकिने सामग्री बनाउने र त्यसको प्रदर्शनी र बिक्री कक्ष राख्न उक्त भवन बनाउन लागिएको उनले बताए।
परियोजना लागू गर्न पोखराका ३३ वटै वडामा १३६ वटा समूह बनाइएको छ। समूहलाई फोहोरबाट विभिन्न प्रकारका सामग्री बनाउने तालिम दिन थालेको इञ्जिनियर तिमिल्सिनाले बताए। यस्तै, सबै समूहलाई फोहोर संकलन गर्न कुहिने फोहोर राख्न र नकुहिने फोहोर राख्न छुट्टा–छुट्टै बिन विगतरण गरिएको छ।
‘हामीले एउटा समूहलाई ६० वटाका दरले १३६ वटा समूहलाई ८१६ वटा बिन वितरण गरेको छौं,’ उनले भने, ‘सबैभन्दा चुनौती फोहोर छुट्याउन छ।’
फालिएका कागज, प्लाष्टिक, बोरा लगायत नकुहिने प्रकारका फोहोरबाट गमला, चकटी, खेलौना लगायत बनाउने तालिम सुरू भएको उनले बताए।
कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने र काम नलाग्ने नकुहिने फोहोर ल्याण्डफिल साइट पठाउने महानगरको योजना रहेको उनको भनाई छ।
गत वर्ष कोरियाको राजधानी सोल पुगेर महानगरका मेयर आचार्य नेतृत्वको टोली फोहोरमैला व्यवस्थापन हेरेर फर्किएका थिए। सोलमा फोहोरबाट यसरी रोजगारी र आम्दानी गर्ने काम निजी क्षेत्रलाई दिएको इञ्जिनियर तिमिल्सिनाले बताए।
‘कोरियामा यसरी नै फोहोरमैला व्यस्थापन भइरहेको रहेछ। त्यहाँ सबै काम निजी क्षेत्रले गर्छ,’ उनले भने।

सोलमा पुराना काम नलाग्ने कपडा रिसाइकल गरेर आकर्षक क्यालेण्डर छाप्ने, काठका टुक्राहरूबाट बेन्च र कुर्ची बनाउने, प्लास्टिकका फूल र खेलौनाहरू बनाउने, कप, प्लेट लगायतका सामग्री पनि यसरी नै फोहोर पुनप्रयोग गरेर बनाएको उनले बताए।
कोरियामा फोहोरबाट बनाइएका सामग्री प्रयोग गर्न राज्यले नै साथ दिएको भन्दै उनले यसबाट रोजगारी सिर्जना भएको बताए।
पोखरा महानगरका मेयर आचार्यले रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाबाट ३ हजार जनाले रोजगारी पाउने बताए। फोहोरमैलाको दिगो व्यवस्थापन गर्न कोरियामा सफल भएको मोडल पोखराले अपनाएको उनले बताए।
‘यो परियोजनाबाट ३ हजार जनाले रोजगारी पाउनुहुन्छ, फोहोरमैला समस्याको दिगो समाधान पनि हुन्छ,’ उनले भने, ‘यो नेपालमा पहिलो र नमुना प्रोजेक्ट हो।’
उक्त परियोजना संचालन गर्न २०७६ सालमा पोखरा महानगरको कार्यपालिका बैठकबाट निर्णय भएको थियो। तत्कालीन मेयर मानबहादुर जिसी बिरामी भएपछि परियोजना लागु गर्ने निर्णय कार्यबहाक मेयर मञ्जुदेवी गुरुङले गरेकी थिइन्।
पोखरामा बढ्दो जनघनत्वसँगै फोहोरमैलाको समस्या दिगो समाधान गर्न उक्त परियोजना सफल बनाउनुपर्ने उनले बताइन्।
‘फोहोरमैला पुन प्रयोग गरेर उत्पादित सामग्री खरिद-बिक्रीमा महानगरले साथ दिन्छ,’ उनले भनिन्, ‘पोखराको फोहोर आम्दानी र रोजगारीको स्रोत बन्न सक्छ।’
कोसेली घर भवन शिलान्यासमा बोल्दै कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले यस परियोजनाबाट फोहोरमैला व्यवस्थापनको चक्र चल्ने विश्वास लिए।
‘यो परियोजनाले वातावरणीय पुनर्स्थापनाको अवसर सिर्जना गर्दछ। दिगो विकास प्रोत्साहन, वातावरण, आर्थिक सहयोग, सशक्तीकरण र उदीयमान उद्यमीलाई यस परियोजनाले सहयोग गर्छ,’ उनले भने।

संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी)का एसिया प्यासिफिक निर्देशक क्रिष्टोफर बहाइटले यस परियोजनाबाट हरित उद्यमी तयार पार्ने भन्दै फोहोरमैलाको समस्या दिगो समाधान हुने बताए ।
‘प्राकृतिक सौन्दर्य, ताल र हिमालका लागि परिचित पोखरामा यो परियोजनाबाट हरित उद्यम, विकास र रोजगारीका अवसर सिर्जना गर्छ,’ उनले भने, ‘फोहोरको समस्या समाधान गर्ने दिगो उपाय पुनप्रयोग हो।’