रूपन्देही प्रहरीले अवैध गाँजासहित भारतीय महिलालाई पक्राउ गरेको छ।
थाई एयर एसियाको जहाजमा थाइल्याण्डको बैंककबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आएकी भारतीय महिलालाई प्रहरीले साढे सात किलो अवैध गाजासहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सोमबार दिउँसो सवा १२ बजे थाई एयर एसियाको जहाजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी भारतको मुम्बई महाराष्ट्रकी ४५ वर्षीया गुलनाज बेग विमानस्थलको टर्मिनल गेटबाट गाँजासहित पक्राउ परेकी हुन्।
विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा रहेको प्रहरी टोलीले बेगले ल्याएको सुटकेस खानतलासी गर्दा साढे सात किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
बेगले ल्याएको सुटकेसभित्र गाँजालाई प्लाष्टिकमा २६ वटा पोका बनाएर राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले गाँजा र पक्राउ परेकी बेगलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए।