कालीगण्डकी नदी किनारमा बेग्लाबेग्लै ठाउँमा दुई जनाको शव फेला परेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका ३ घर भएका ४५ वर्षीय तेजबहादुर रास्कोटी र सिन्धुलीको गोलाचौर गाँउपालिका ६ का भोजराज अस्लामी मगरको शव कालीगण्डकी नदी किनारमा फेला परेको हो।
रास्कोटी राम्दी रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा काम गर्थे।
उनी पाल्पाको बगनासकाली गाँउपालिका ६ माइलीचौरस्थित नदी किनारमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लका अनुसार रास्कोटी नुहाउन गएको समयमा फागुन २९ गते बगेर बेपत्ता भएकोमा घटनास्थलदेखि दुई सय मिटर तल मृत फेला परेका हुन्।
त्यस्तै सिन्धुलीको गोलाचौर गाँउपालिका – ६ का भोजराज अस्लामी मगर पनि शनिबार मृत अवस्थामा फेला परे। उनी डोजर चालक हुन्।
मगर चैत २६ गते रातिदेखि सम्पर्कविहीन थिए।
शनिबार उनको शव कालीगण्डकी नदी किनारामा भेटिएको हो। शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।