प्रवेशिका (एसएलसी) परीक्षालाई माध्यमिक तहको अन्तिम खुट्किलो मानिन्थ्यो।
‘टेस्ट’ परीक्षा दिइसकेपछि सहपाठीहरूसँगको सामीप्यबाट टाढा हुन लागेको आभास उनीहरूलाई हुन्थ्यो।
एउटै बेञ्चमा किताब–कापीसमेत साटासाट गरी पढिरहेका विद्यार्थीहरूलाई प्रिय साथीहरूसँगको बिदाइको क्षण कठिन र पीडादायी पनि बन्थ्यो!
स्कुले कालको सम्झनालाई जीवन्त राख्न उनीहरू डायरी साटासाट गर्थे। कलम, कापी वा सहपाठीलाई मन पर्ने उपहार दिन्थे।
एकार्काप्रति माया, स्नेह, सद्भाव, सहृदयीता आदानप्रदान गर्दै ‘अटो’हरूमा आफ्ना भावना पोख्थे।
यस्तो जमाना पनि थियो– आफ्ना प्रिय साथी–संगातीहरूको किताब–कापीका बीच पानामा ‘पोस्टकार्ड’ राखिदिएर त्यसमा माया र प्रेम साटासाट गर्ने। ती पोस्टकार्डहरूमा सायरी र कवितारूपी भावनाहरू लेखिएका हुन्थे।
समय बदलियो, माया–सहृदयीता साटासाट गर्ने माध्यमहरू पनि बदलिए।
अहिले माध्यामिक तहको खुट्किलो सरेर १२ कक्षामा पुगेको छ। विद्यार्थीहरूले भावना आदानप्रदान गर्न पोस्टकार्ड र डायरीहरू रंग्याउन छाडिसकेका छन्।
बरु कक्षा सकिएर बिदाइ हुँदै गर्दा सहपाठीहरूबीच भावनात्मक सम्बन्ध अझ प्रगाढ होस् भनेर उनीहरूले पोसाक रंग्याउन थालेका छन्। विद्यालय–कलेज जाँदा लगाउने पोसाकमै साथीहरूलाई माया–स्नेह आदि भावना पोख्न लगाएर त्यसैलाई चिनो बनाउने गरेका छन्। र, प्रिय साथीहरूको सम्झनामा ‘नोस्टाल्जिक’ हुन्छन्।
होलीको सन्दर्भ पारेर प्लस टु पढिरहेका विद्यार्थीहरूले बिदाइ साटासाट गरेका छन्। कलेज पोसाकमा आफ्ना भावनाहरू अभिव्यक्त गर्दै सम्झनाको चिनो साटासाट गरेका छन्।
हेरौं तस्बिरहरूः










