तुलसीपुरको अटो भिलेज नजिकै ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
सल्यानको छत्रेश्वरी गाँउपालिका – २ घर भइ हाल तुलसीपुर उपमहागनरपालिका – ९ गौरी शंकर टोलमा बस्दै आएकी ९ वर्षीया दिपशिखा वलीको टयाक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो।
दुर्गाप्रशाद वलीको छोरी दिपशिखा तुलसीपुरमा काकफ संगीता खड्काको कोठामा बस्दै आएकी थिइन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार गौरीशंकर टोलदेखि अटोभिलेज तर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले बाटो पार गर्दै गरेकी दिपशिखालाई शनिबार दिउँसो ठक्कर दिएको थियो।
घटना लगत्तै चालक फरार भएका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
चालकमाथि कारबाहीको माग गर्दै स्थानीयले गएराति भित्री सडक बन्द गर्नुका साथै सडकमा टायरपनि बालेका थिए ।