दाङको तुलसीपुर उपमहानगरपालिका – १७ मानपुरमा एउटा ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिरेको छ।
शनिबार बेलुका ८ बजे बिजौरीबाट मानपुर तर्फ जाँदै गरेको लु. प्र ००२ –००१ त ००८५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भइ स्थानीय मुरारी शर्माको कच्ची दुई तले घरको पश्चिम तर्फको भागमा ठोक्किन गएको थियो ।
सोही घरको पहिलो तलामा ५६ वर्षीय रामकृष्ण चौधरीले नास्ता पसल सञ्चालन गर्दै आएका थिए। ट्याक्टर घरभित्रै छिरेपछि ५६ वर्षीय रामकृष्णसहित उनकी छोरीहरु २८ वर्षीया शान्ति चौधरी, २० वर्षीया त्रिमा चौधरी, स्थानीय ४२ वर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएका छन्।
घाइते सबैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए।
घाइते सबैलाई तुलसीपुरस्थि राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै बाँके नेपालगन्ज नर्सिङहोममा रिफर गरिएको थियो ।
दुर्घटना लगतै ट्याक्टर चालक स्थानीय २० वर्षीय गोविन्द वली फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। ट्याक्टर धनी स्थानीय २७ वर्षीय कमल पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक मगरका अनुसार ट्याक्टरको बीचको भाग भाँचिएको देखिएको हुँदा त्यही कारण अनियन्त्रित भइ घरमा छिरेको हुन सक्ने अनुमान छ।
चालक नियन्त्रणमा आएपछि थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।