बाँकेको डुडुवा गाउँपालिका हिरमिनियास्थित जयन्दु बाल सुधार गृह तनावग्रस्त बनेको छ। बालबिज्याइँकर्ता (बालबन्दी) हरूका बीच आपसमा कुटपिट भएपछि शुक्रबार रातिदेखि बाल सुधार गृह तनावग्रस्त बनेको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आपसमा कुटाकुट गरी बालगृहमा रहेका ६ जना बालबन्दीहरू घाइते भएको जानकारी दिए। शुक्रबार राति पौने २ बजे अचानक कुटाकुट हुँदा ६ जना घाइते भएको र उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।
कुटाकुटबाट १९ वर्षीय चन्द्र बहादुर खड्का, १९ वर्षीय देन महतरा, २१ वर्षीय आशिश चौधरी, १९ वर्षीय सुवास राड, १९ वर्षीय संजय परियार र १८ वर्षीय एक जना घाइते भएका छन्।
उनीहरूमध्ये तीन जना कर्तव्य ज्यान र तीन जना जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएकाहरू रहेको प्रहरीले जनाएको छ। आपसमा भएको झडपपछि सुधार गृहमा रहेका दुई जना फरार छन्।
बालगृहमा बालबन्दीहरूबीच कुटाकुट भएपछि नियन्त्रणका लागि गएका प्रहरीमाथि इँटा प्रहार गरेपछि शनिबार बिहान ३ जना प्रहरी पनि घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार घाइते प्रहरीहरूको पनि अस्पतालमा उपचार भइरहेको छ।
उक्त सुधार गृहमा कुल २५० जना बालबन्दी छन्। सुधार गृहमा अहिले आगो लगाएर उनीहरू घरको छतमा संगठित भएर बसेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
‘सुरक्षाकर्मीसहित म पनि अहिले सुधार गृहको २० मिटर नजिकै रहेको छु, सुधार गृहबाट धुँवाको मुस्लो निस्किएको छ। बालबन्दीहरू छतमाथि संगठित भएर रेलिङ भत्काएर प्रहरीलाई इँटा प्रहार गरिरहेका छन्,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी जोशीले आगो नियन्त्रणको लागि दमकल ल्याएर राखिएको भए पनि बालबन्दीहरूको इँटा प्रहारका कारण जान सक्ने अवस्था नभएको बताए। बालबिज्याइँ मुद्दामा अदालतबाट सजाय पाएकाहरूलाई १८ वर्ष उमेरपछि पनि कारागार चलान नगर्दा बाल सुधार गृहमा हरेक वर्ष झडप हुँदै आएको छ। जयन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरूका बीच गतवर्ष असोज ४ गते झडप हुँदा एक जनाको मृत्यु समेत भएको थियो। यसैवर्ष पनि पटक पटक झडप हुँदै आएको छ।
प्रमुख जिल्ला अधिकारी जोशीले उमेर पुगेकाहरूलाई कारागार चलान नगरी बाल सुधार गृहमै राख्दा व्यवस्थापनमा चुनौती देखिएको बताए।
‘यहाँ रहेका २०/२५ जनालाई अन्यत्र लगिए पनि अन्यलाई व्यवस्थापन गर्न सहज हुन्थ्यो, २०/२५ जनाको कारण सिंगो सुधार गृहको व्यवस्थापन नै असहज बन्दै आएको छ,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी जोशीले बालकहरू भएकोले प्रहरीले बल प्रयोग गरेर अवस्था नियन्त्रण गर्न समस्या भइरहेको बताए।
‘कानूनी बाध्यताको कारण प्रहरीले बल प्रयोग गर्न सक्ने अवस्था पनि छैन, बल प्रयोग गरेर भए पनि तत्काल स्थिति नियन्त्रण नगर्ने हो भने सुधार गृहभित्र रहेकाहरूको ज्यान समेत जोखिममा देखिएको छ,’ उनले भने।
बाल सुधार गृहमा बर्दीमा प्रहरी राख्न नमिल्ने व्यवस्था छ।
बालबालिका राखिएकाले त्यहाँ खटिँदा हतियार पनि बोक्न नपाइने प्रावधान छ। यसैको फाइदा उठाएर देशभरका सुधार गृहभित्र अराजक गतिविधि हुने गरेको सुरक्षा सम्बद्ध अधिकृतहरू बताउँछन्।
शुक्रबार राति अचानक आपसमा कुटाकुट भएपछि त्यहाँ रहेका १२ जना प्रहरीले पनि भागेर ज्यान जोगाएका थिए। झडप के कारणले सुरू भएको थियो भन्ने समेत जानकारी नभएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
विवाद र झैझगडाका लागि उनीहरूलाई खास कुनै कारण नै चाहिँदैन, कर्तव्य ज्यान, जबरजस्ती करणी, लागूऔषध कारोबार लगायतको मुद्दामा सजाय भोगिरहेका उनीहरूका बीचमा सामान्य विषयमा झैझगडा र विवाद भइरहने उनले बताए।