काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ विपी चोकमा टिपरले तानेर ल्याउँदै गरेको गाडीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बेलुका साढे ७ बजे बा ५ ख ११६८ नम्बरको टिपरले बा १२ च २६९७ नम्बरको बोलेरो गाडीलाई तानेर ल्याउँदै गर्दा बा.४८ प ३६४० को मोटरसाइकलले ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित सानीटारीका ३७ वर्षीय अनुज ढकालको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा बेलुका ८ बजे ढकालको मृत्यु भएको एसपी बोहराले जानकारी दिए।
प्रहरीले टिपर चालक र बोलेरो गाडी चालक दुवैलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।