पिसाबको समस्या हुँदा अलि सामान्यदेखि अलि जटिल खालको लक्षण पनि देखिन्छ। सामान्य लक्षणमध्ये पिसाब फेर्न गाह्रो हुने, सामान्य जलन हुने, बारम्बार पिसाब लाग्ने, पिसाब फेर्दा एकदमै पोल्ने देखि लिएर काम छुट्ने, ज्वरो आउने समेत हुन्छ। यदि त्यो समस्या शरीरभरी फैलियो भने प्रेसर कम हुने समेत हुन सक्छ।
साधारणतया पिसाबको रङले नै समस्या बुझ्ने भन्ने हुँदैन। पिसाब हल्का पहेलो रङको हुनुपर्छ भनिन्छ। तर पिसाबको रङभन्दा पनि लक्षणका आधारमा निर्धारण गर्न सकिन्छ।
कति समयमा पिसाब लागेको राम्रो हो भनेर जिज्ञासा लाग्न सक्छ। दिनमा ५ देखि ७ पटकसम्म पिसाब फेरेको राम्रो हो। रातिमा १ देखि २ पटकसम्म पिसाब फेर्नु सामान्य हो। तर योभन्दा धेरै पिसाब फेर्नु असामान्य मानिन्छ। त्यस्तै ७ पटकभन्दा धेरै पिसाब फेरेको छ भने या त उसले पानीको खपत धेरै गरिरहेको छ, या त उसलाई पिसाब थैलीको समस्या छ भनेर बुझ्नुपर्छ।
हाम्रो शरीरबाट प्रदुषित पदार्थ निकाल्नको लागि ५ सयदेखि ७ सय एमएल पिसाब निकाल्यो भने राम्रो हो। तर रोगका आधारमा कति पानी खाने अनि कति पिसाब फेर्ने भन्ने निर्धारण हुन्छ। जस्तो पत्थरीका बिरामीले ३ देखि ४ या ५ लिटरसम्म पानी खान मिल्छ। जसले गर्दा २ देखि अढाई लिटर पिसाब होस् भन्ने हो।
यस्तै प्रोस्टेटका बिरामीले कम पानी खान हामी सुझाव दिन्छौं। किनभने बारम्बार पिसाब लाग्ने, राति उठ्नुपर्ने भएकाले डेढदेखि दुई लिटर मात्र पानी खानुपर्छ। आफूलाई तिर्खा लाग्यो भन्दैमा एकैचोटि धेरै पानी पिउन हुँदैन।
आफू बसेको वातावरण, कामको प्रकृतिका आधारमा पानी पिउनु पर्छ। यति नै खान पर्छ भनेर भन्न सकिँदैन तर पनि दिनमा डेढ देखि दुई लिटर पियो भने हाम्रो शरीरको विषाक्त पदार्थहहरू बाहिर निस्किन्छ। यद्यपि कार्यालयभित्र बस्ने र बाहिर काम गर्नेमा पनि धेरै भर पर्छ।
पानीको स्रोत भनेको पानी मात्र होइन। तरल पदार्थ आउने खाना हुन्छन्। आफूलाई प्यास लागेको बेलामा खाइहाल्ने अनि २/३ घण्टाको अन्तरालमा २ सयदेखि ३ सय एमएल पानी खाइयो भने पुग्छ। एकै पटकमा २/३ लिटर पानी खानुको कुनै अर्थ छैन। सामान्यत १ पटकमा ३ सयदेखि ५ सय एमएल पानी खाए पुग्छ। तर मान्छेको अवस्था अनुसार धेरै फरक पर्छ।
पानी कसरी, कति पिउने भनेर पनि धेरैको चासो हुन्छ। मान्छेले बिहान उठेर खाली पेटमा पानी खाएको राम्रो हो। बिहान उठ्नसाथ यस्तै पानी खाने भन्ने कुनै वैज्ञानिक कारण छैन तर मनतातो पानी खाएको राम्रो हो भन्ने लाग्छ। यसको निर्धारण आफू बसेको तापक्रम अनुसार भर पर्छ।
शरीरमा पानी कम भएको पिसाबको रङबाट थाहा हुन्छ। गाढा पहेँलो अनि तेलजस्तै पिसाब आउन थाल्यो भने शरीरमा पिसाबको मात्रा कमी छ भनेर बुझ्न सकिन्छ। एकदमै सेतो पिसाब आउनुपनि राम्रो होइन।
पिसाबबाट विभिन्न परीक्षण गरेर रोगहरू पत्ता लगाउन सकिन्छ। किड्नीले कस्तो पिसाब बनाइरहेको छ भनेर थाहा पाउन सकिन्छ भने पिसाबको संक्रमण समेत पत्ता लगाउन सकिन्छ। शरीरमा भएको विभिन्न संक्रमण, पत्थरीको समस्या अनि क्यान्सरको समस्या समेत थाहा पाउन सकिन्छ।
पिसाबमा कस्ता समस्या देखिए भने चिकित्सकलाई भेट्ने भनेर समेत अलमल हुनसक्छ। दिनमा ५ सय एमएलभन्दा कम पिसाब आयो, तेलजस्तो पिसाब आयो भने अनि एकदमै सेतो पिसाब आयो भने चिकित्सकलाई भेट्नु पर्छ। त्यस्तै पिसाबमा रगत देखियो भने पनि चिकित्सकलाई भेट्नुपर्छ। पिसाबमा रातोपना या दुधजस्तो पदार्थ देखियो भने समेत चिकित्सकलाई भेट्नुपर्छ।
खानासँगै पानी खान हुँदैन, खानालगत्तै खान हुँदैन भनिन्छ तर यसको कुनै वैज्ञानिका कारण छैन। पाचन प्रणाली र निल्नमा सहज बनाउने भन्ने हो अरू केही कारण छैन। अर्थात् पानी खाएलगत्तै खाना खाए, पानीसँगै खाना खाए या खानासँगै पानी खाइयो भने शरीरलाई हानि गर्ने भन्ने हुँदैन।
(शरीरलाई चाहिने पानी अनि पिसाबमा देखिने विभिन्न खालका समस्याबारे भरतपुर अस्पताल चितवनमा कार्यरत कन्सल्टेन्ट युरोलोजिष्ट डा.नारायण दुलालसँग भिडिओ कुराकानी गरेका छौं।)