अबिच्युरी
केही समययता लीलबहादुर क्षेत्रीको हिँडडुल घरकै एउटा कोठाबाट अर्को कोठाभित्र खुम्चिएको थियो।
श्वासप्रश्वास, मधुमेह र रक्तचापको समस्यालाई त उनले नियन्त्रणमै राखेका थिए। बढ्दो उमेरको असरसँग भने उनी क्रमशः हार्दै गइरहेका थिए। उमेरसँगको त्यही पौंठेजोरीमा उनी केहीपटक घरभित्रै लडिसकेका थिए।
गएको माघ २३ को दिउँसो पनि उनी घरभित्रै धरखरिएर लडेका थिए।
‘घरकै एउटा कोठाबाट अर्को कोठातिर जान खोज्दा उहाँ त्यसदिन दिउँसो धरखरिएर लड्नुभएको रहेछ,’ पत्रकार, लेखक एवम् संगीतकर्मी चन्द्र भण्डारीले शुक्रबार सेतोपाटीसँग लीलबहादुर क्षेत्रीसँगको पछिल्लो भेटबारे सम्झिए, ‘हामी त्यही दिन साँझ उहाँको घर पुगेका थियौं। परिवारका सदस्यहरू बोल्न नसक्नुहोला भनिरहनुभएको थियो। तर, उहाँ हामीसित उत्साहसाथ बोल्नुभयो।’
झापामा बसेर सिर्जनकर्ममा सक्रिय भण्डारीले उनीसँगको छोटो अन्तर्वार्ता आफ्नै युट्युब च्यानलमा राखेका पनि छन्।
घरभित्रै धरखरिएर त्यसरी लडेको ३७ दिनपछि बिहीबार राति उनको भौतिक देह सदाका लागि ढलेको छ।
पूर्वोत्तर भारतीय राज्य असमको राजधानी सहर गुवाहाटीको मरिखालीस्थित निवासमा राति १० बजेर १० मिनेट जाँदा जसै उनले अन्तिम श्वास लिए, नेपाली साहित्यका यी चर्चित लेखक भौतिक रूपमा अब सम्झनामा मात्रै सीमित भएका छन्। शुक्रबार बिहान १० बजे गुवाहाटीकै भुतनाथ घाटमा भएको अन्त्येष्टिसँगै उनी पञ्चतत्वमा विलीन बनेका छन्।
विलीन बनेको त उनको भौतिक देह मात्रै हो, नेपाली भाषा साहित्यमा खर्चिएको उनको सिर्जन ऊर्जाले भने उनलाई सदैव पाठकहरूको सम्झनामा बचाइराख्नेछ। पूर्वी नेपालको एउटा सानो पहाडी गाउँमा व्याप्त भोक, अभाव र थिचोमिचोको पीडाले गाउँ छाडेर बाँच्नकै लागि पूर्वोत्तर भारत पुगेका नेपालीको कथा लिएर ‘बसाइँ’ मार्फत् पाठकमाझ पुगेका लीलबहादुर कहिल्यै नबिर्सने नाम भएर अमिट हुनेछन्।
बसाइँ हिँडेपछि कोही पूर्वोत्तर भारतका असम पुगे, कोही मणिपुर। ब्रह्मपुत्र किनार वा त्यसैको छेउछाउमा उनीहरूले जीवन धान्न कम्ता संघर्ष गर्नुपरेन। पूर्वोत्तर भारतका हजारौं नेपालीभाषीको त्यही संघर्षको कथा भन्दै ‘ब्रह्मपुत्रको छेउछाउ’ मार्फत् पढालुहरू माझ प्रस्तुत भएका लीलबहादुर सधैं सम्झिरहने नाम भएर जीवितै रहनेछन्। आफ्ना कृतिहरूमार्फत् पाठकमाझ सदा याद आइरहने उनै लीलबहादुर ९३ वर्षको उमेरमा भौतिक रूपमा भने सम्झनामा सीमित बनेका छन्।
त्यसो त लीलबहादुर क्षेत्रीले साहित्यका धेरै विधामा आफूलाई सक्रिय तुल्याए। कविता, कथा, नाटक, निबन्ध र उपन्यास सबैतिर उनले आफूलाई बलियो गरी उभ्याएका थिए। सिर्जनकर्मका यी सबै विधाहरूमा आफूलाई उभ्याएका उनको पहिचान अग्लो बनाएको श्रेय चाहिँ उपन्यासलाई नै जान्छ। त्यसैले त उनको नाम आउनेबित्तिकै सम्झिहाल्ने माध्यम बनिहाल्छन्, बसाइँ र ब्रह्मपुत्रका छेउछाउ। धेरैको दिमागमा यिनै दुई उपन्यासले घर गरेको भेटिन्छ।
यसका एक प्रमाण हुन् प्रधानमन्त्री केपी शर्मा ओली। शुक्रबार बिहान प्रधानमन्त्रीले क्षेत्रीको निधनमा शोक सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो। उहाँका ‘बसाइँ’ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन्। भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुस्कार’ बाट सम्मानित उहाँको ‘ब्रम्हपुत्रको छेउछाउ’ उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ।’
जसरी प्रधानमन्त्री ओलीले क्षेत्रीका दुइटा कृतिको नाम लिएर उनलाई सम्झिए, लीलबहादुर स्वयम् यसबारे पूरापूर जानकार थिए।
नयाँ पुस्ताका चर्चित भारतीय नेपालीभाषी लेखक छुदेन काबिमोका अनुसार दुई वर्षअघि उनले केही साथीहरूसहित क्षेत्रीलाई असम पुगेरै भेटेका थिए। त्यसबेला भएको लामो कुराकानीको अन्त्यमा काविमोले क्षेत्रीलाई सोधेका थिए, ‘दुनियाँले तपाईंलाई ‘बसाइँ’ र ‘ब्रहम्पुत्रको छेउछाउ’ कै कारण चिन्ने गर्छन्। यी दुई किताब धेरैको प्रिय किताब पनि हो। तपाईं आफैलाई चाहिँ आफूले लेखेकोमध्ये कुन किताब प्रिय लाग्छ नि?’
क्षेत्रीले दिएको जबाफ सुनेर छुदेन छक्क परेका थिए। क्षेत्रीले त्यसबेला हाँस्दै भनेका थिए, ‘बसाइँलाई नेपालका पाठकले धेरै प्रेम दिए। ब्रह्मपुत्रको छेउछाउलाई भारतीय पाठकले धेरै मन पराए। म आफैलाई चाहिँ अतृप्त धेरै मन पर्छ। जसको चर्चा खासै हुन सकेन।’
सन् १९३३ को १ मार्चका दिन जन्मेका गुवाहाटी टकौबारीमा प्रेमबहादुर क्षेत्री र पवित्रा देवीका छोरा लीलबहादुरको निधनले जसरी सिंगो नेपाली समाजलाई स्तब्ध तुल्याएको छ, त्यसैगरी भारतीय गोर्खाहरूलाई पनि उत्तिकै विह्वल बनाएको छ।
‘उहाँको निधनले समग्र नेपाली साहित्य समाज र गोर्खा जातिमा शोकको परिवेश छ,’ असमकै नेपालीभाषी लेखक रूद्र बरालले फेसबुकमा लेखेका छन्, ‘उनले आफ्ना कथा र उपन्यासको परम्परा र प्रवृत्तिलाई अक्षुण्ण राख्दै नाटकहरूमा पनि जातीय समस्या उजागर पारेका छन्, रूढीवादको विरोधमा मोर्चा कसेका छन्, निम्नवर्गको दुखेसो बुझेर त्यसको निदानको गोरेटो खोजेका छन्।’
बरालका अनुसार असममा जन्मिएका, सिलोङमा बाल्यकाल बिताएका क्षेत्रीको पढाइ बङ्गला, नेपाली र अंग्रेजी माध्यममा भएको थियो। उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नात्तकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरेका थिए।
लेखक क्षेत्रीको नाममा असममै रहेको संस्थाले प्रकाशित गरेको उनीबारेको सामग्रीमा उल्लेख भए अनुसार उनले पहिलोपटक १६ वर्षको उमेरमा ‘शिवस्तुति’ शीर्षकको कविता लेखेर प्रकाशन गरेका थिए। बसाइँ उपन्यास प्रकाशित हुँदा क्षेत्री जम्मा २४ वर्षका थिए। सन् १९५७ मा नेपालबाट प्रकाशित बसाइँ उपन्यास त्यसबेलाको सन्दर्भमा नौलो र प्रयोगवादी उपन्यास मानिन्थ्यो।
त्यसबेलासम्म परम्परागत ढाँचाका आख्यानहरूको दबदबा थियो। बसाइँले भने नेपालको सुदूर पूर्वी पहाडी गाउँको यथार्थ कथा सरल शैलीमा मिठोगरी भनेको चन्द्र भण्डारीको भनाइ छ। बसाइँ नेपालमा लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछि सर्वाधिक बिक्री हुने कीर्तिमान बनाएको पुस्तक पनि हो।
उनको दोस्रो उपन्यास ‘अतृप्त’ थियो, जुन १९६७ मा पाठकमाझ पुगेको थियो। अतृप्त क्षेत्री स्वयंलाई मनपरेको उपन्यास थियो। सो उपन्यासबारे गुवाहाटीकै लेखक ढाकाराम काफ्लेले लेखेका छन्, ‘अतृप्त फ्रायडेली मनोविज्ञानमा आधारित एक बेजोड मनोविश्लेषणवादी उपन्यास हो। यस उपन्यासमा उपन्यासकार मानव मनका भित्री पाटाहरूलाई फुकाउने प्रयासमा यसका पात्रहरूलाई खेलाउन खप्पिस् देखिन्छन्। विजय मल्लको चर्चित मनोविश्लेषणवादी उपन्यास अनुराधाको दाँजोको यो उपन्यास क्षेत्रीको पहिलो उपन्यास बसाइँको छायामा परेर जति चर्चामा आउनुपथ्र्यो, आउन सकेन।’ अर्का लेखक बराल त अतृप्तलाई ‘पूर्वोत्तर भारतको पहिलो मनोवैज्ञानिक उपन्यास’ नै भएको दाबी गर्छन्।
‘ब्रह्मपुत्रको छेउछाउ’ लीलबहादुरको तेस्रो औपन्यासिक कृति हो। आञ्चलिकताको नमूना मानिने यही उपन्यासका लागि उनले धेरै पुरस्कार पनि पाए। त्यसो त भारतका दार्जिलिङ, कालिम्पोङ लगायतका क्षेत्रबाट नेपाली कलासाहित्यका एक से एक ठूला नाम बनाएकाहरू धेरै छन्।
लीलबहादुर क्षेत्री चाहिँ ती विरलाकोटी लेखकमा पर्थे, जसले पूर्वोत्तर भारतबाट अकादमी पुरस्कार प्राप्त गर्ने प्रतिष्ठा आर्जन गर्न सफल भए।
फातसुङ, उरमाल जस्ता चर्चित कृतिका लेखक छुदेन काविमोका शब्दमा ‘असमेली भाषाको वर्चश्वबीच नेपाली समाजको कथा लेख्न थाल्दा लीलबहादुर क्षेत्रीसँग सायदै न ठूलो पाठक थियो। न साहित्य गर्नेहरूको जमात गतिलो थियो। तै पनि उनलाई आफ्नो कथा भन्नु थियो। असमेली नेपालीहरूको संघर्ष सुनाउनु थियो। उनले त्यही कथामार्फत् आख्यान लेखे। र, नै उनले नेपाली साहित्यलाई बिर्सिनै नसक्ने कृतिहरू दिएर गए।’
सन् २००४ मा प्रकाशित ‘प्रतिध्वनिहरू विस्मृतिका’ उनको व्यक्तिगत रूपमा चौथो र अन्तिम औपन्यासिक सिर्जना हो। ‘तीन दशक बीस अभिव्यक्ति’ लीलबहादुरका कथाहरू, छरिएको बिस्कुन र दिल नफुक्ने गाँठो उनका कथाकृतिहरू हुन्।
निबन्ध लेखनमा पनि उत्तिकै रूचि राख्ने क्षेत्रीले असममा नेपाली भाषाको साहोगाह्रो, पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत्त, झ्याउरे पार्टीमा लाग्दा, सिमलको भुवा जस्ता निबन्धहरू पनि लेखेका छन्। दोबाटो, माग (एकाङ्की) र सुरूको सुरू गरी क्षेत्रीका तीन वटा नाट्यकृति पनि प्रकाशित छन्। त्यसो त गोविन्दराज भट्टराईको सम्पादनमा लीलबहादुर क्षेत्रीका चर्चित नाटकहरू शीर्षकमा सन् २०२१ मा काठमाडौंबाट थप कृति प्रकाशित भएको लेखक बरालले उल्लेख गरेका छन्।
विस २०७२ मा नेपालको जगदम्बाश्री पुरस्कार प्राप्त गरेका क्षेत्रीले सन् २०२० मा भारतकै प्रतिष्ठित मानिने पद्मश्री सम्मान प्राप्त गरेका थिए।
‘पद्मश्री पुरस्कारले सम्मानित भएर क्षेत्रीले समग्र पूर्वोत्तरका गोर्खाहरूको शिर उँचा पारेका छन्,’ लेखक बराल थप्छन्, ‘यो पुरस्कार थाप्ने उनी पूर्वोत्तरका पहिलो गोर्खा सपूत हुन्।’
भारतको कालिम्पोङमै रहे बसेर लेखन र पत्रकारिताका सक्रिय रहेका मनोज बोगटी लीलबहादुर क्षेत्री आफ्नो सिर्जनाको बलले चुलिएको लेखक भएको बताउँछन्।
‘उनलाई न साहित्यिक आन्दोलनहरूको टेको चाहियो, न साहित्यिक सिद्धान्तहरूको,’ बोगटीले सेतोपाटीसँग भने, ‘सोझो र चोखो मनले लेख्ने लेखक। उनको बसाइँ र ब्रह्मपुत्रको छेउछाउ सर्वाधिक पढिएका उपन्यासहरू हुन्। तिनी धेरै भाग्यमानी लेखक पनि हुन्, पद्मश्रीजस्तो सम्मान पाए। जिउँदो हुँदै आफ्नो नाममा राखिएको पुरस्कार आफ्नै हातले प्रदान गरे। जिउँदो हुँदै पर्याप्त अभिनन्दन ग्रन्थहरू छापिए। उनी कसैले नाघ्नै नसक्ने उचाइँका लेखक हुन्।’
नयाँ पुस्ताका रूचाइएका कविसमेत रहेका बोगटीले भने जस्तै लीलबहादुरले कुनै निश्चित विचारको चौघेरोमा आफ्नो लेखनलाई कैदी बनाउन चाहेनन्।
खासमा पूर्वोत्तर भारतका नेपालीभाषीहरूको अस्तित्व चिनाउने काममा आफूलाई हरदम सक्रिय राखे। त्यसैले पूर्वोत्तर भारतका नेपालीभाषीहरूको जीवनमा ऊर्जा भर्ने माध्यम बनेका थिए क्षेत्री र उनका कृतिहरू।
‘असममा उनीपछि पनि दर्जनौं नेपाली लेखकहरू जन्मिए, धेरैले अकादमी पुरस्कार नै जिते। तर आज पनि असम बाहिरबाट कसैले त्यहाँको नेपाली लेखकको नाम सम्झिनु परे, पहिलो नम्बरमा आउने नाम लीलबहादुर क्षेत्री नै हो,’ छुदेन काविमोले थपे, ‘उनी नरहे नि, उनको आख्यानको धङधङीले हाम्रो दिमागबाट कतै बसाइँ सार्ने छैन। उनको सम्झना ब्रह्मपुत्रको छेउछाउतिरै हरदम रहिरहनेछ।’