रूखको हाँगाले लागेर दैलेखमा दुई जनाको मृत्यु भएको छ।
भैरवी गाउँपालिका वडा नम्बर ५ ढाडगाउँका २७ वर्षीय ईन्द्रबहादुर शाही र ४९ वर्षीय तर्कबहादुर शाहीको रूखको हाँगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरू वार्षीक कार्यका लागि जंगलमा दाउरा काट्न गएका थिए।
सियाला सामुदायिक वनमा सल्लाको दाउरा काट्ने क्रममा उनीहरूलाई रूखको हाँगाले लागेको थियो।
उनीहरू दुवै जनाको शुक्रबार बिहान करिब सवा १० बजेतिर घटनास्थलमै मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले बताए।
डिएसपी दाहालका अनुसार मृतकमध्ये ईन्द्रबहादुर शाहीकी आमा बालकुमारी शाहीको गत वर्ष निधन भएको थियो।
स्थानीय धार्मिक परम्परा अनुसार ईन्द्रबहादुर आमाको बार्षीक पुन्य तिथिका लागि आवश्यक दाउराको जोहो गर्न गाउँले र आफन्त समेतलाई लिएर जंगलमा गएका थिए।
शव पोस्टमर्टमका लागि अस्पताल लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।