प्रधानाध्यापकमाथि कुटपिट गर्ने दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भानसिं बुढा लगायतको समूहलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छैन।
२०७९ को स्थानीय चुनावमा नेकपा (एमाले) बाट उम्मेदवार भई जितेका वडाध्यक्ष रूद्र बुढाले शुभप्रभात माध्यमिक विद्यालयका प्रअ बुढामाथि कुटपिट गरेका थिए।
वडाध्यक्ष लगायतको समूहले आफूमाथि कुटपिट गरेको भन्दै प्रअ बुढाले बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिए पनि प्रहरीले दर्ता गर्न नमानेको हो।
‘ममाथि कुटपिट भएपछि जिल्ला प्रहरी कार्यालय पुगेर दोषीमाथि कारबाही हुनुपर्ने मागसहित निवेदन दिएँ, तर मेरो उजुरी दर्ता नै गर्न गरिएन, पछि दर्ता गर्छौं भन्दै मलाई फर्काइदिए,’ सेतोपाटीसँग कुराकानी गर्दै प्रअ बुढाले भने।
स्रोतका अनुसार प्रहरीलाई यो घटनामा उजुरी नलिन र मिलापत्र गराउन प्रहरीमाथि एमाले जिल्ला नेतृत्वबाट दबाब छ। ‘यो घटनामा एमालेका जिल्लादेखि केन्द्रीय नेताबाट मेलमिलाप गराउन र उजुरी नलिन दबाब आएको छ,’ स्रोतको दाबी छ।
प्रधानाध्यापक बुढाले शक्ति र सत्ताको दुरूपयोग गर्दै विद्यालय हाताभित्रै सार्वजनिक रूपमा योजनाबद्ध तरिकाले आफूमाथि वडाध्यक्ष लगायतको समूहले कुटपिट गरेको बताए। दोषीमाथि कारबाही गर्न आफूले प्रहरीकहाँ निवेदन दिए पनि दर्ता नगरेको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले प्रधानाध्यापक र कुटपिटबाट घाइते भएका थप दुई जना अभिभावक पनि मुद्दा दिन कार्यालयमा आएको बताए।
‘दुवै तर्फबाट कुटपिट तथा अभद्र व्यवहारबारे मुद्दा प्रहरीमा आएको छ। त्यसबारे थप अनुसन्धान कार्य जारी छ,’ उनले भने।
कुटपिट घटनामा संलग्न दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको उनको भनाइ छ।
‘निवेदन लिएर आएका दुवै पक्षलाई हामीले आइतबार छलफलमा बोलाएका छौं। त्यो छलफल पछि सत्यतथ्य बुझेर कानुन अनुरूप कारबाही हुनेछ,’ उनले भने।
छलफल गराउँदा मेलमिलाप हुन नसके कानुनअनुसार दोषीलाई कारबाही हुने उनले बताए।
‘झगडाका दुवै पक्ष मिल्न खोजे कुरा मिल्न पनि सक्ला। कुरा मिलने भने जो दोषी छ ऊमाथि कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने।
दुवै पक्षले निवेदन लिएर आएको हुँदा कुरा नमिले दुवै पक्षलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया सुरू गर्ने पनि उनले बताए।
प्रहरीका अनुसार घाइतेमध्ये एक जना अभिभावकको हड्डीसमेत भाँचिएको छ।
बुधबार बेलुका विद्यालय व्यवस्थापन समिति गठन गर्न बसेको अभिभावक भेलामा प्रधानाध्यापक बुढामाथि विद्यालयभित्रै कुटपिट भएको थियो।
आफूले भनेको व्यक्तिलाई विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष बनाउनुपर्ने भन्दै वडाध्यक्षसहितको समूहले प्रअ बुढामाथि कुटपिट गरेका हुन्।
प्रअमाथि वडाध्यक्षलगायत समूह नै जाइलागेको भिडिओ सामाजिक सञ्जाल फेसबुकलगायतमा पोस्ट भएका छन्।
उक्त भिडिओमा प्रअ बुढामाथि एक समूहले कुटपिट गरेको देखिन्छ।
वडाध्यक्ष भानसिं बुढाले आफूले प्रअमाथि कुटपिट नगरेको दाबी गरे। आफूमाथि गैरअभिभावक बोलाएर दुर्व्यवहार गरेको आरोप उनको छ।
तर प्रधानाध्यापक बुढाले वडाध्यक्षको समूहले आफूनिकटका व्यक्तिलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्न दबाब दिएको र माइन्युट लेख्न भनेको बताएका छन्।
‘अभिभावकहरूको उपस्थिति संख्या कम छ, कोरम नै पुग्दैन, नियमभन्दा बाहिर गएर गलत काम गर्दिनँ भनेर मैले भनेको थिएँ,’ प्रअ बुढाले भने, ‘त्यसपछि सुरूमा मलाई वडाध्यक्षले आक्रमण गर्नुभयो, त्यसपछि उहाँका मानिसहरूले योजनाबद्ध तरिकाले कुटे।’
विद्यालयभित्रै प्रअ कुटिएपछि शिक्षकसँग सम्बन्धित संघसंस्थाहरूले विरोधमा विज्ञप्ति निकालेका छन्। उनीहरूले वडाध्यक्ष र उनको समूहमाथि प्रहरीले कारबाही गर्नुपर्ने माग गरेका छन्।