कालीकोटमा छुरी प्रहार गरी एक किशोरको हत्या भएको छ।
तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको हत्या भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले सेतोपाटीलाई बताए।
डिएसपी रावतका अनुसार तिलागुफा–७ र खाँडाचक्र नगरपालिका किशोरहरूबीच आपसमा भएको झगडापछि एक जनाले शाहीको पिँठ्युमा छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
खाँडाचक्र नगरपालिका –१० का हस्तबहादुर मल्लको नयाँ घर निर्माण भएपछि पूजा आयोजना गरिएको थियो।
स्थानीय परम्परा अनुसार नयाँ घर सर्दा नाचगान तथा रमाइलो प्रचलन छ। त्यही रमाइलो र नाचगान तथा सांस्कृतिक कार्यक्रम हेर्नका लागि बुधबार राति तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीसहितका किशोरहरू खाँडाचक्र नगरपालिका–१० मा पुगेका थिए।
रमाइलोमा पुगेका किशोरहरूबीच आपसमा विवाद र झगडापछि एक जनाले एकाएक शाहीमाथि छुरा प्रहार गरेका थिए।
‘यहाँ झगडाको निहुँ चाहिँदैन,’ डिएसपी रावतले भने, ‘एक ठाउँका युवाले अर्को ठाउँका युवा आफ्नो ठाँउमा आएको देख्ना साथ दम्भ देखाई अनावश्यक निहुँ खोज्न थाल्छन्। गएराति पनि त्यही भएको देखियो।’
डिएसपी रावतका अनुसार स्थानीय मेला तथा जात्रामा पनि अनाहकमा छिमेकी वा नयाँ गाउँ ठाउँका युवाहरू देख्नासाथ दम्भ पालेर अनावश्यक झैझगडामा उत्रिने गलत सोच हावी भएको हुँदा दुःखद घटना हुन पुगेको हो।
शाहीमाथि राति साढे ११ बजेतिर पिँठ्युमा छुरा प्रहार भएपछि स्थानीय केही युवाहरूले स्ट्रेचरमा राखेर झन्डै एक घन्टा टाढाको अस्पताल पुर्याउने प्रयास गरेको भए पनि प्राण गइसकेको हुँदा शव घटनास्थलमै राखेर प्रहरीलाई राति साढे १२ बजेतिर खबर गरेको डिएसपी रावतले बताए।
छुरी प्रहार गर्ने मुख्य अभियुक्तलाई बिहीबार दिउँसो मात्रै नियन्त्रणमा लिइएको तथा झगडामा संलग्न थप पाँच जनालाई पनि नियन्त्रणमा लिइएको डिएसपी रावतले जानकारी दिए।
छुरी प्रहार गर्नेदेखि पक्राउ परेकाहरु ६ जना सबै नाबालक रहेको उनले बताए।
हत्या घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।