विश्वका ३६ ठूला पेट्रोलियम अनि कोइला कम्पनीहरूले उत्पादन गरेको इन्धनले पृथ्वीको तापक्रम बढाउने कार्बन उत्सर्जनको आधा हिस्सा ओगट्ने खुलासा भएको छ।
विश्वको १८० ठूला पेट्रोलियम, कोइला अनि सिमेन्ट कम्पनीहरूको तथ्यांक केलाएर बनाइएको कार्बन मेजर्स रिपोर्टका अनुसार सन् २०२३ मा यी ३६ ठूला कम्पनीहरूले उत्पादन गरेको इन्धनले २० अर्ब टनभन्दा बढी कार्बन-डाइअक्साइड उत्सर्जन गरेको पाइएको छ।
यी ३६ ठूला कम्पनीमा साउदी अरेबियाको साउदी अरेमको, कोल इण्डिया, एक्सोन मोबिल, शेल अनि कैयौं चिनियाँ कम्पनीहरू पर्छन् भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
सो अध्ययनका अनुसार साउदी अरेमको कुनै देश हुन्थ्यो भने उसले चीन, अमेरिका र भारत पछि चौथो धेरै कार्बन उत्सर्जन गर्ने देश हुन्थ्यो भनेर शोधकर्ताहरूले भनेका छन्। त्यस्तै एक्सोन मोबिलको इन्धन जलाएर विश्वको नवौं धेरै कार्बन उत्सर्जन गर्ने जर्मनीको जत्तिकै हुन्छ।
सरकारहरूले सन् २०१५ मा पेरिस सम्झौता गर्दा औसत तापक्रम भरसक औद्योगिक युग सुरू हुनुअघि भन्दा १.५ डिग्री सेल्सियसबाट माथि जान रोक्ने लक्ष्य निर्धारण गरेका थिए। त्यो नसके पनि २ डिग्री सेल्सियसभन्दा धेरै तल राख्ने सहमति भएको थियो।
औसत तापक्रम १.५ डिग्री सेल्सियसबाट माथि जान रोक्नका लागि विश्वव्यापी उत्सर्जन २०३० सम्ममा अहिलेको तुलनामा ४५ प्रतिशतले घट्नुपर्छ। तर उत्सर्जन भने अझै बढिरहेको छ जसले तापक्रम थप बढाइरहेको छ।
वैज्ञानिकहरूका अनुसार सन् २०२४ मा पृथ्वीको औसत तापक्रम सन् १८५०-१९०० को तुलनामा १.६ डिग्री सेल्सियस बढी थियो।
युरोपेली युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले २०२४ मा औसत तापक्रम पहिलो पटक १.५ डिग्री सेल्सियसको तल्लो लक्ष्यभन्दा बढी भएको जनवरीमा खुलासा गरेको थियो।
अरू शीर्ष अन्तर्राष्ट्रिय निकायहरूले पनि विश्वव्यापी औसत तापक्रममा भएको ‘असाधारण’ वृद्धिले जलवायु परिवर्तनले अपेक्षा गरेभन्दा छिटो गति लिने डर पैदा भएको बताएका थिए।
२०१५ मा भएको पेरिस सम्झौताको लक्ष्य कुनै एक वर्षको नभएर २-३ दशकसम्मको औसत तापक्रमलाई भरसक पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा धेरै बढ्न नदिने थियो। तर पनि पछिल्ला वर्षमा लगातार रूपमा पृथ्वीको तापक्रम बढिरहेकाले १.५ डिग्री सेल्सियस त के २ डिग्री सेल्सियसको लक्ष्य पनि हासिल हुन नसक्ने डर सृजना भएको छ।
कपर्निकसका अनुसार सन् २०१५ देखि २०२४ सम्मका वर्षहरू अभिलेख राख्न सुरू भएयताका सबभन्दा बढी ताता १० वर्ष थिए। त्योभन्दा अघि गएर कपर्निकसले गत वर्षको तापक्रम सम्भवतः पछिल्लो एक लाख २५ हजार वर्षमा सबभन्दा धेरै रहेको हुन सक्ने बताएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्नुभन्दा १० दिनअघि कपर्निकस लगायत ६ वटा जलवायु-अनुगमन संस्थाहरूले एकैपटक गत वर्षको तापक्रमसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका थिए।
ट्रम्पले २०१७ मा पहिलो कार्यकाल सुरू हुनेबित्तिकै अमेरिकालाई पेरिस सम्झौताबाट अलग्याएका थिए। उनीपछि राष्ट्रपति भएका जो बाइडेनले फेरि सो सम्झौतासँग अमेरिकालाई जोडेका थिए। साथै अमेरिकामा कार्बन डाइअक्साइड र मिथेन लगायत हरितगृह ग्यास उत्सर्जन कम गर्न दीर्घकालीन कार्यक्रमहरू ल्याएका थिए।
दोस्रो कार्यकाल सुरू हुनुभन्दा अघि ट्रम्पमाथि दबाब परोस् भनेर कपर्निकस लगायत ६ वटा जलवायु-अनुगमन संस्थाहरूले एकै पटक सन् २०२४ को औसत तापक्रमको विवरण सार्वजनिक गरेको अनुमान गरिएको थियो। तर त्यसका बाबजुद ट्रम्पले दोस्रो कार्यकालमा फेरि अमेरिकालाई पेरिस सम्झौताबाट अलग्याए।
प्रशान्त महासगर 'ला निना' चरणमा जाने भएकाले सन् २०२५ गत वर्षभन्दा अलिक शीतल हुने अपेक्षा गरिएको छ। तर पनि यो वर्ष २०२४ र २०२३ पछि तेस्रो सबभन्दा गर्मी हुने वैज्ञानिकहरूले आकलन गरेका छन्। तर हरितगृह ग्यास उत्सर्जन धेरै नघटाए २०२४ को रेकर्ड २०२६ मै तोडिन सक्छ।
अहिले नै उच्च तापक्रमका कारण भएको जलवायु परिवर्तनका असर देखिन थालेका छन्।
गर्मी याममा तापक्रम बढ्दै जानु, पहिलेभन्दा धेरै पानी मिश्रित आँधी आउनु, समुद्रको सतह बढ्नु र झन् झन् भयंकर डढेलो लाग्नु यसकै परिणाम हुन्।
यी परिवर्तनबाट हाम्रो घर, समाज र पर्यावरणलाई हुने खतरा बढिरहेको छ। यीबाहेक, हामी झनै ठूलो रूपमा पनि जलवायु परिवर्तन गरिरहेका हुन सक्छौं।
विगत दुई दशकदेखि वैज्ञानिकहरूले कार्बन उत्सर्जनका कारण भइरहेको तापक्रम वृद्धिले प्रकृतिका विशाल प्रणालीहरूलाई विनाशतर्फ धकेलिरहेको हुन सक्छ भनेर चेतावनी दिइरहेका छन्। यी प्रणाली धेरै विशाल भएकाले तापक्रम बढे पनि केही हदसम्म सन्तुलनमा रहन सक्छन्। तर यो सन्तुलन एउटा निश्चित विन्दुसम्म मात्रै सम्भव छ।
वैज्ञानिकहरूका अनुसार हामीले पृथ्वीको तापक्रमलाई एउटा निश्चित विन्दुभन्दा माथि पुर्याएपछि यो सन्तुलन गुम्न सक्छ र यसको प्रभाव व्यापक हुनेछ। यसलाई उल्टाउन असम्भव नै त छैन, तर धेरै नै कठिन हुनेछ। तापक्रम बढ्दै जाँदा, पुरानो अवस्थामा फर्काउनै मुस्किल हुने गरी ठूला क्षति भइरहेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)