भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षीय मोटरसाइकल चालक श्याम कृष्ण कायस्थको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार अपराह्न पौने ४ बजे भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर चोकस्थितमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १८८४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकले ठक्कर दिँदा कायस्थ घाइते भएका थिए। उनको उपचारको लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगेकोमा उपचारको क्रममा ४ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं.६ घर भई हाल जिल्ला भक्तपुर मध्यपुरठिमी .न.पा.३ साँगबारी बस्ने ४७ वर्षीय ट्रक चालक चन्द्रलाल शाक्यलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।