नेपालमा जलपंक्षी (पानीचरा) हरूको महत्त्वपूर्ण बासस्थान मानिने लुम्बिनी आसपासको क्षेत्रमा चराहरूको संख्या घटेको छ।
हरेक हिउँदमा अत्यधिक चिसो हुने रूस, उत्तरी चीन, मंगोलिया, साइबेरिया लगायत क्षेत्रबाट जलपंक्षीहरू चिसो छल्न नेपाल आउँछन्।
उत्तरी ध्रुवबाट आएका चराहरू जाडो छल्न र आहाराको खोजीमा नेपालका विभिन्न नदी, ताल, तलैया, सिमसार क्षेत्रमा बस्छन्। केही समयका लागि आएका पाहुना चरा र सिमसार क्षेत्रमा आश्रित रैथाने चराहरूको विवरण पत्ता लगाउन नेपाल पंक्षी संरक्षण संघले हरेक वर्ष चराको गणना गर्छ।
सन् १९८७ देखि हरेक वर्ष जनवरीमा गरिने जलपंक्षी गणनाको काम यस वर्ष गत जनवरी ४ गतेदेखि १९ सम्म गरिएको थियो। चराविदहरू दीलिप चन्द ठकुरी, ईश्वरी प्रसाद चौधरी, देउबहादुर राना, यम महतो, सोभित राज रेग्मी र सुमन आचार्यको टोलीले रूपन्देही कपिलवस्तुका विभिन्न ६ वटा ताल तथा सिमसार क्षेत्रहरूमा पानीचरा गणना गरेको थियो।
पानीचराको ठूलो बासस्थान रहेको कपिलवस्तुको जगदिशपुर र बुड्ढी ताल तथा रूपन्देहीको गैंडहवा तालमा गत वर्षभन्दा चरा संख्या केही बढे पनि अन्य तीन तालमा प्रजाति र संख्या दुवै घटेको छ।
'गत वर्षको तुलनामा लुम्बिनी र आसपासका क्षेत्रका तालमा चराको प्रजाति र संख्या दुवै धेरै घटेको छ,' उनले भने।
विगतमा राम्रो बासस्थान मानिने लुम्बिनीमा यस वर्ष एक हजार तीन सय बढी चरा संख्या कम गणना भएको छ।
सन् २०२४ मा लुम्बिनीमा २२ प्रजातिका दुई हजार ५० वटा चरा गणना गरिएका थिए। यस वर्ष जम्मा सात सय ३५ वटा गणना गरिएको छ। पोहोरको तुलनामा यस वर्ष १३ प्रजातिका चरा नभेटिएको ठकुरीले जानकारी दिए। यसपालि लुम्बिनी क्षेत्रमा जम्मा ९ प्रजातिका मात्रै चरा भेटिएका छन्।
रूपन्देहीको गजेडी तालमा पनि यस वर्ष चरा संख्या घटेको छ। गत वर्ष १६१ वटा चरा गणना गरिएकामा यस वर्ष जम्मा ७८ वटा गणना भएका छन्। संख्या घटे पनि गजेडी तालमा चराको प्रजाति भने बढेको छ। गत वर्ष चार प्रजातिका चरा देखिएकामा यसपालि दस प्रजातिका भेटिएका हुन्।

कपिलवस्तुको हरिहरपुर तालमा पनि चराको संख्या र प्रजाति दुवै अत्यन्त कम भेटिएको छ। ठकुरीका अनुसार हरिहर तालमा गत वर्ष १८ प्रजातिका ६ सय ३ वटा चरा भेटिएका थिए। यस वर्ष ५ प्रजातिका ११ वटा मात्रै भेटिएका छन्।
यस क्षेत्रमै पानीचराको सबभन्दा ठूलो बासस्थान मानिने कपिलवस्तुको जगदिशपुर र रूपन्देहीको गैंडहवा तालमा चरासंख्या र प्रजाति दुवै बढेका छन्। चराविद ठकुरीका अनुसार जगदिशपुर तालमा गत वर्षभन्दा एक हजार ५४८ वटा चरा बढी गणना गरिएका छन्। गत वर्ष ४३ प्रजातिका ८ हजार ८६९ वटा चरा गणना गरिएको थियो। यसपालि ४४ प्रजातिका एक हजार ४१७ वटा चरा गणना भएको ठकुरीले बताए।
जगदिशपुर तालमा यस वर्ष रातो ठूँडे हाँसको प्रजाति पनि थपिएको छ।
कपिलवस्तुको बुड्डी तालमा गत वर्षभन्दा केही संख्यामा चरा बढेको पाइएको छ।
गत वर्ष १८ प्रजातिका ४ सय ५९ वटा चरा भेटिएकोमा यस वर्ष ६ सय २४ वटा गणना भएका छन्। यस वर्ष तीन वटा प्रजाति घटेका छन्।
त्यस्तै गैंडहवा तालमा गत वर्ष २२ प्रजातिका २८७ वटा चरा गणना भएका थिए। यस वर्ष २६ प्रजातिका ९५४ वटा गणना भएका छन्। जगदिशपुर तालमा यस वर्ष केही चरा थप देखिए पनि पाँच वर्ष पहिलेभन्दा ५० प्रतिशत कम हो।
चराविद ईश्वरी प्रसाद चौधरीका अनुसार सन् २०२० मा जगदिशपुर तालमा २० हजार ८०७ वटा चरा गणना भएका थिए। त्यसपछि हरेक वर्ष निरन्तर घट्दै गएको चरा संख्या यस वर्ष केही बढी भेटिएको चौधरीले बताए।
उनका अनुसार सन् २०२१ मा एकैपटक ८ हजार ७४४ चरा वटा घटेका थिए। त्यस वर्ष जम्मा १२ हजार ६३ वटा चरा गणना गर्ने भएका थिए। चौधरीका अनुसार जगदिशपुरमा सन् २०२२ मा ९ हजार ८३७, २०२३ मा ९ हजार ४ सय ८७ र २०२४ मा ८ उठाए ८६९ वटा चरा गणना भएका थिए। चौधरीले हरेक वर्ष पानीचराको संख्या र प्रजाति घट्नु चिन्ताको विषय भएको बताए।
चराविद ठकुरीका अनुसार सिमसार तथा तालतलैया वरपर मानवीय अतिक्रमण र भौतिक संरचना निर्माणका कारण चरा संख्या घट्दै गएको छ।
'चराहरूले बासस्थान बनाउन मानिस चहलपहल नभएको शान्त र पर्याप्त आहारा भएको स्थान खोजी गर्छन्। सिमसार क्षेत्र मासेर भौतिक संरचना निर्माण थप्दै जाँदा चराको बासस्थान र आहारा दुवै नाश हुँदै गएको छ। यसले गर्दा चराको संख्या घट्दै जान थालेको छ,' ठकुरीले भने, 'पहिलेजस्तो चोरी–शिकारी घट्दै छ। अहिले पहिले जस्तो चरा चोरीशिकारी केही कम हुने गरेको छ। गाउँहरूमा संरक्षणकर्मीहरू पनि थपिएकै छन्। तर चराहरूको संख्या भने घटिरहेको छ जुन ज्यादै चिन्ताको विषय हो।'

चराविद चौधरी भने नेपाल मात्र नभएर भारतका जलाशय र सिमसारमा पनि चरा संख्या घटिरहेको र पहिले जुन देशबाट नेपालका सिमसारमा चरा आउँथे, अहिले त्यही देशमा बासस्थान र पयाप्त आहारा पाइन थालेपछि नेपालमा नआएको हुन सक्ने बताउँछन्।
चौधरीले नेपालका ताल तथा सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र मानवीय गतिविधि बढ्दै जाँदा पनि नेपालका तालतलैयामा चराहरू असुरक्षित मान्ने गरेको बताए।
नेपालमा प्राकृतिक रूपमा भएका सिमसार तथा तालतलैया आसपासमा मानिसको बस्ती बस्दै जाँदा अरू देश नै सुरक्षित मानेर चराहरू उतै गएका पनि हुनसक्ने उनी बताउँछन्।
'कपिलवस्तुको जगदिशपुरसँगै रूपन्देहीको गैंडहवा तालमा पनि चराहरूको राम्रो बासस्थान भएको मानिन्थ्यो। पछिल्लो समय डुंगा सञ्चालन गर्ने र माछापालनका लागि समेत ठेक्कामा लगाउँदा चराहरूले असुरक्षित मानिरहेका छन्,' उनले भने।
विशेषगरी साइबेरिया, रूस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिस्तान, कीर्गिस्तान लगायत देशबाट हरेक वर्ष जाडो छल्न र बच्चा कोरल्न ७ देखि १० दिनसम्म ४ देखि ५ हजार माइल उडान भरी चराहरू यहाँ आउँछन्।
जाडोका बेला सो देशहरूमा हिमपात हुने र तालहरू जमेर आहारा नपाइने भएपछि चराहरू आहारा खोजी गर्दै यति लामो दुरी उडानबाट नेपालका तराई क्षेत्रका सिमसार र जलाशयहरूमा आउँथे।
पहिले हिउँदयाममा तालहरू जमेकाले चिसो छल्न र आहाराको खोजी गर्दै ती देशहरूबाट नेपाल भारत लगायत ताल र सिमसारहरूमा चराहरू आउने गर्थे, जलवायु परिवर्तनका कारण ती देशका अहिले तालहरू जम्न छाडेपछि उतै बसेका पनि हुन सक्छन्।
अर्को कुरा, अहिले नेपालमा पहिलेजस्तो आहारा नपाइने र आफ्नै देशहरूमा प्रशस्त पाइएको पनि हुन सक्छ, चराहरूको संख्या किन घटिरहेको छ अन्तर्राष्ट्रिय स्तरबाटै अध्ययन गर्नुपर्ने हुन्छ,' चराविद चौधरी भन्छन्।
धेरै प्रजाति र संख्यामा चराहरू आउने भएकाले लुम्बिनी, गैंडहवा, हरिहर र जगदिशपुर ताल पंक्षीविदहरूका लागि अध्ययन गर्ने थलो मानिन्छन्।
