दाङको घोराहीबाट साढे २९ किलो चरेशसहित तीन जना मानिस पक्राउ परेका छन्। पक्राउ पर्नेहरु सबै रुकुम पूर्वका हुन्।
रुकुम पूर्वको भूमे गाँउपालिका – २ खबाङका ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाँउका ५३ बर्षीय रुपधन घर्ती र ६४ वर्षीय जुनबहादुर पुन पक्राउ परेका हुन्।
पक्राउ परेका मध्य फर्कबहादुरको साथबाट १५ किलो १२३ ग्राम र रुपधनको साथबाट १४ किलो ५७२ ग्राम चरेश बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
सुराकको आधारमा जिल्लाबाट प्रहरी निरीक्षक कविराज रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त टोलीले सोमबार उनीहरुलाई घोराही – होलेरी सडक खण्डबाट पक्राउ गरेको थियो।
घोराही उपमहानगरपालिका – १३ बाह्रकुने दह क्षेत्रबाट उनीहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
पैदल हिडिरहेका उनीहरुले बोकेको आलुको बोरा भित्र खान तलासी गर्ने क्रममा चरेश बरामद भएको डिएसपी शाहले बताए।
पक्राउ परेकाहरुबारे लागु औषध सम्बन्धि मुद्दा चलाउने गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।