फागुन दोस्रो साताको एक धमिलो साँझ।
काठमाडौंको नयाँ बसपार्कबाट दक्षिणपूर्व मैत्रीनगरको एक तीनतले होटलमा केही युवाको बाक्लै चहलपहल थियो। आवासीय सुविधा भएको त्यस होटलमा पश्चिम र मध्यपश्चिम क्षेत्रका युवाहरूको बाक्लै आउजाउ हुन्छ, प्रायः।
रोजगारीको खोजीमा विदेशको बाटो तताउने तयारीमा रहेका युवाको छोटो समयको आश्रय थलो नै मान्दा हुन्छ, त्यस लजलाई।
जीवन गुजारा चलाउन र परिवारको गर्जो टार्न विदेश उड्ने तयारीमा रहेका युवाको भीडमा भेटिए, एउटा निन्याउनो अनुहार।
आँखामा गाढा अवसाद हिउँदे पाहुनासरह बास बसेको थियो। गेरू रङ धारण गर्दै आकाशले जसै हुलिया बदल्थ्यो, युवकको अनुहारमा निराशाको बाक्लो धर्सा देखापर्थ्यो!
उनी ठूलै सन्तापले थिचेजस्तो निःस्वास निकाल्थे।
उनी रहेछन् कमल शाही (नाम परिवर्तन)। पश्चिमरूकुम आठबीसकोटका।
दुई वर्षअघिसम्म उनका सपना हृष्टपुष्ट थिए। स्नातकसम्म अध्ययन गरेका, गाउँमै सानोतिनो नोकरी गरिरहेकाले उनको सपनाको आयातन त्यति ठूलो थिएन। बालखैदेखि बाबुआमाले उनलाई सानो सपनाको छहारीमा हुर्काएका थिए।
परिवारले देखाएकै बाटामा लुकामारी खेल्दै हुर्किएकाले मथिंगलमा ठूलो आकांक्षाले गट्टा खेल्न पाएको थिएन। उनी गाउँकै आधारभूत (आठ कक्षासम्म पढाइ हुने) स्कुलमा पढाउँथे। उमेर, अध्ययन र जिम्मेवारीले कुचाको मुख काटेजस्ती श्रीमती घरको काममा उत्तिकै सघाउपघाउ गर्थिन्। नगरपालिकाको केन्द्रनजिकै घर भएकाले बजार फराकिलो बन्दै थियो।
जग्गा-जमिनको आयस्ता ठीकै हुने भएकाले साँझ-बिहान चुह्लो जगाउन कुनै बोझ उठाउनु पर्दैनथ्यो।
अचानक उनको गाउँमा अमेरिकी सपनाको सुनामी पस्यो। तीव्र वेगमा। किलै रित्तिने गरी, टाट्नो खाली हुने गरी गोठ उजाडिएजस्तो मानिसहरू अमेरिकी सपना पछ्याउन थाले। त्यो सपनाको लर्कोमा के युवा, के प्रौढ, श्रमशील उमेरका सबै मिसिए।
हुलका हुल अमेरिका लागे।
अन्ततः गावैँ रित्तो हुन लाग्यो।
अमेरिकी सपनाको लप्का उनको दैलामा पनि आइपुग्न बेर लागेन।
'अमेरिकाको सपना पस्नुअघि हामी ठीकठाक थियौं। आफ्नै परिश्रमले पुगेको थियो। म स्कुलमा जागिर गर्थें। घरको काम पनि भ्याएकै थिएँ। मझौला आकारको परिवार धान्न कुनै मुस्किल थिएन,' कमल दुई वर्षअघि फर्किए।
दुई वर्षअघि –
ठ्याक्कै दिन याद छैन उनलाई। लाग्दो पुस हुनुपर्छ। त्यति बेला पनि गाउँमा अमेरिकी सपनाको ठूलै आँधीबेहरी चलेको थियो। त्यो आँधी उनको आँगनमा पनि मडारिन आइपुग्यो।
'म त विदेश जान्नँ भनेर सोचिरहेको थिएँ। तर गाउँघरतिर अमेरिका जाने लहरै चल्यो। गाउँमा एजेन्टहरू सक्रिय रहेछन्! उनीहरूले देखाएकै बाटोमा गाउँका युवा एकपछि अर्को गर्दै अमेरिका गइरहेका बेला म चाहिँ पछि पर्छु कि जस्तो लाग्यो,' उनी अहिले सम्झिन्छन्।
दलालले उनलाई पनि सजिलो बाटो देखाए। सजिलै अमेरिका जाने टाढाको बाटो देखाउने दलाल टाढाका थिएन्। नाताले उनकै फूपूका छोरा पर्थे। आफ्नै दाजु समानका व्यक्ति नै एजेन्ट भएर आएपछि उनी अमेरिका सजिलैसँग पस्न सकिनेमा ढुक्क हुन थाले।
चन्द थरका ती एजेन्टले अरूलाई पनि अमेरिका पठाइरहेको उनले सुनेका थिए। ५५ लाखसम्म खर्चनुपर्ने भएकाले उनलाई आँट भने आइहालेको थिएन।
त्यत्रो पैसा खर्च गर्ने हो भने यहीँ केही उद्यम गर्न सकिनेसम्म उनले सोचेका थिए। फेरि भन्नेबित्तिकै त्यतिका ऋण कसले पत्याउनू! अमेरिका जाने भनेपछि पत्याउलान् पनि, तर त्यत्रो ऋणको सावाँ-ब्याजको बोझ कसरी उठाउनु! जीवनभर ऋणको पासोमा परिरहन उनको मनले मञ्जुर गरेको थिएन।
तर एजेन्ट बनेर आएका दाजुले उनलाई अमेरिका पुग्ने बाटो मात्र होइन, त्यहाँ पुगेर 'सेटल' हुने उपायसमेत बताइरहेका थिए।
त्यसपछि उनको मथिंगलमा खल्बली मच्चियो। सुत्दा, उठ्दा, खाँदा, बस्दा उनलाई अमेरिकी सपनाले रोटेपिङसरह घुमाउन थाल्यो।
अन्ततः सपनाले जित्यो।
तल्लो बाटो अमेरिका पस्न मन राजी भयो।
दलाललाई पाँच लाख पासपोर्टसँगै बुझाउनुपर्थ्यो। पर्यटक भिसामा दुबई जाने रूट तय भएकाले त्यहाँ पुगेपछि थप पैसा बुझाउनुपर्थ्यो। दुबईबाट ब्राजिल हुँदै अघि बढ्दा देशैपिच्छे किस्ता-किस्तामा पैसा भुक्तानी गर्ने र मेक्सिकोको 'चोर बाटो' भएर अमेरिका पस्नुपर्ने भएकाले ठाउँ-ठाउँमा तिर्नुपर्ने पैसाको जोहो उनी नेपाल हुँदै गरिसक्नुपर्थ्यो।
यत्तिका पैसा कहाँबाट जुटाउने? उनको मथिंगलमा अर्को आँधी मडारिइरहेका बेला परिवारले नै उपाय पहिल्यायो, आठबीसकोटकै जग्गा बेचिदिने।
घडेरी बनाउन मिल्ने, बाटोछेउको रोज्जा जग्गा थियो, त्यो। मानिसहरूको आँखामा परेको त्यो जग्गा बिक्री हुन गाह्रो थिएन। अमेरिकी सपनाको लहर चलेकाले परिवारले त्यही जग्गा बेच्ने निधो गर्यो।
साढे ३३ लाख रूपैयाँमा जग्गा बिक्यो। तैपनि पैसा अपुग थियो। बाँकी कहाँबाट जुटाउने भनेर धेरैतिर मन डुलाउन परेन। आफन्तभित्रैका मानिसहरू ऋण दिन तयार भइहाले।
'अमेरिका जाने भनेपछि पैसा खोज्न गाह्रो रहेनछ। पैसा छ भन्नेहरू प्रशस्तै निस्किए। उनीहरू घरमै पैसा बुझाउन आउन तयार रहेछन्,' उनले हाँस्दै सुनाए।
माघको आधाआधीसम्म पैसाको जोहो भयो। कबोलेमुताबिक पैसा जम्मा हुन त बाँकी थियो। तर आफन्तबाट गुलियो वचन पाइसकेकाले परिवार विश्वस्त थियो।
माघ २६ गते उनी दुबईतर्फ लागे।
'जहाज चढ्नै आँट्दा ऋण सम्झिएर एकपटक त मुटु ढक्क फुलेको थियो। कति टाढा होला र अमेरिका! त्यहाँ पुगेपछि त तिरिहाल्छु नि ठानेर फेरि आफैलाई सम्झाएँ,' उनले भने, 'त्यहाँ छिरेकाले महिनाकै चार लाखसम्म कमाइरहेका उनीहरूका आफन्त बताउँथे। अमेरिका पस्न पाएँ भने त एक वर्षमै ऋणको सावाँ-व्याज बुझाइहाल्छु नि भन्ने आत्मविश्वास पो आयो।'
रूकुमबाट उनीसहित पाँच जना अमेरिकाका लागि हिँडेका थिए। त्यो लटमा १६ जना रहेछन्। सबैको संघर्ष, सपना, उडान र गन्तव्य साझा थियो। उडानका क्रममै उनीहरू साथी बनिहाले।
ब्राजिलबाट अमेरिकी सपना हिँड्दै पछ्याउनुपर्ने भएकाले कस्तो होला त्यो रूट? कहिले पुगिन्छ होला त्यहाँ? यस्ता कुरा उनीहरूको मनमा खेलेका थिए। यी अव्यक्त भावहरू उनीहरू एकअर्काका आँखामा देख्थे। मुसुक्क मुस्कुराउँथे।
करिब ५ घन्टाको उडानपछि उनी दुबई अवतरित भए।
दुबई झरेको दुई-तीन दिनभित्रै अमेरिकाकाको यात्रा सुरू हुने एजेन्टले वचन दिएको थियो। त्यहाँ एउटा होटलको प्रबन्ध गरिएको रहेछ। नेपाली मात्रै बस्ने होटलजस्तो देखिन्थ्यो त्यो। लिफ्ट, बरन्डा, बेसमेन्ट, रेस्टुरेन्टमा सबैतिर प्रायः नेपाली भेटिन्थे। होटलमा काम गर्नेहरू पनि अक्सर नेपाली नै भेटिन्थे।
'दुबई बस्दा यस्तो लाग्थ्यो, देश नै विदेश बसाइँ सर्दैछ,' उनले भने।
देश नै विदेश गइरहेको क्षणको साक्षी बसिरहेका उनलाई अमेरिका कहिले पुगौं भएको थियो। उनले जसलाई सोध्थे, ती सबैले अमेरिका जान लागेको बताउँथे। यसो भन्नेहरूमध्ये केही एक-दुई दिनपछि देखा पर्दैनथे।
'एजेन्टहरूले बिस्तारै बिस्तारै मानिसहरू पठाउँदा रहेछन्। होटलका चोटाकोठाबाट कतिपयबीच भनाभन पनि सुनिन्थ्यो। कबोलेको रकम नदिएकाहरूसँग झगडै पर्ने रहेछ, यो सबै हामी हेरिरहेका थियौं,' उनले भने।
उनीसँगै रूकुमबाट आएकाहरू, एउटै लटमा परेकाहरू क्रमशः ब्राजिल हुँदै अमेरिकातर्फ लागे।
'कतिसँग बाटामा पनि कुरा हुन्थ्यो। आज पनामाको जंगल पस्न लागेको, एक सातासम्म सम्पर्क हुँदैन होला पनि भन्थे,' उनले सुनाउँदै गए, 'पछि सम्पर्क हुँदैनथ्यो। त्यसरी जानेहरू कति अध्यागमनको कस्टडीमा लामै समय जाकिँदा रहेछन्। कति उम्किँदा पनि रहेछन्।'
यी सबैको साक्षी भएको एक साता बितिसकेको थियो। एजेन्टले उडाउने सुरसार गरेन। आजभोलि भन्दै दस दिन बितायो। अहँ ब्राजिल पठाउने सुरसार गरेन।
पर्यटक भिसाको म्याद गुज्रने भय बढिरहेको थियो। होटल छाडेर बाहिर जाऔं, प्रशासनको नजर पर्ने डर थियो। होटल परिसर, बरन्डा, बेसमेन्ट आदिसम्म मात्रै निस्कन मिल्ने अवस्था थियो।
यसरी बन्दीसरह जीवन बिताएको १५-१६ दिन हुन लागिसकेको थियो। एजेन्ट अमेरिका जान अन्यत्र देशतर्फ उडाउने होइन कि सम्पर्कमा आउन पनि छाड्यो। फोन सम्पर्क नहुने, सम्पर्क भए पनि कल नउठाउने आदि समस्याले उनीहरू आजित भएका थिए।
एकदिन होटलको आँखा छलेर उनीहरू बाहिरतिर के निस्किएका थिए, सहायक एजेन्टसँग जम्काभेट भयो। भारतीय मूलका जस्ता देखिने ती एजेन्ट कहाँका थिए, उनीहरूलाई थाहा छैन। मुख्य एजेन्टले गराइदिएको सम्पर्कका आधारमा कुराकानी भइरहेको थियो।
बाटामा फेला पर्नासाथ भिसा पर्खिइरहेका ताडित युवाको घेराबन्दीमा परिहाले। तिनले होटलसम्म ल्याइपुर्याएर केरकार गर्न थाले।
एजेन्ट अनेक बहाना गरेर उम्कन खोजिरहेको थियो। उडाउने दिनको ठोस जबाफ खोजिरहेका युवाले उसलाई फुत्कन दिएनन्। धम्कामुक्का चल्यो। आक्रोशित युवाले मुक्का हान्दा ती सहायक एजेन्ट रगतपच्छे हुन पुगे। अघिल्तिरको दाँतसमेत झरेछ!
आफ्नो सम्पर्क सूत्रबाट जम्मा भएका युवा आक्रोशित बन्दै गएको र स्थिति काबुबाहिर पुगेको मुख्य एजेन्टले पनि थाहा पायो। प्रहरी केस चल्ने भय बढेपछि कमलसहित आक्रोशित केही युवालाई भिसा मिलाएर भारत पठाइदियो।
त्यतिञ्जेल कमलले एजेन्टलाई ३३ लाख बुझाइसकेका थिए। दुबई बस्दा थप केही ऋण थपिएको थियो।
अमेरिकी सपनाको उडान अनिश्चित थियो। ऋणको सावाँ-व्याजको भारी बढ्ने उपक्रममा थियो।
यात्रा थप अनिश्चयको भुँवरीमा फस्यो! त्यहाँबाट कसरी उम्किने? उनले केही भेउ पाएका थिएनन्।
भारत फर्किएपछि पनि एजेन्टले आश्वस्त पार्न छाडेका थिएनन्। सम्पर्क भएपिच्छे उनले अमेरिका पठाइछाड्ने वचन दिन्थे। तर मनमा गहिरिँदै गएको घाउ वचनले मात्र निको हुने अवस्था थिएन। वचनको विश्वास गर्नुको विकल्प पनि उनीसँग थिएन।
भारत फर्किएको केही समय भएको हुँदो हो, दुबईमा रहेका मुख्य एजेन्टले नेपालमै भएको अर्को सम्पर्क सूत्र पहिल्याइदियो।
मानव तस्करको अन्तर्राष्ट्रिय गिरोहको सञ्जाल गाउँगाउँमा पुगेको थियो। तिनले नेपालमा बचेखुचेका युवालाई प्रलोभनमा पारिराखेका थिए।
कमल तातो तावाबाट उम्किएर आएका थिए। अब पालो भुंग्रामा पर्ने थियो।
'भारत हुँदै नेपाल फर्किएको केही समयपछि दुबईमै रहेका मुख्य एजेन्टले अर्को सम्पर्क सूत्र भेट्टाइदियो। तिनले नेपालकै अर्को एजेन्टसँग सम्पर्क गराइदियो,' कमलले सुनाए।
अघिल्लो दलाललाई जुन रितले पैसा बुझाएका थिए, ती दलाललाई पनि सोही रितले पैसा बुझाए। सुरूमा पाँच लाख रूपैयाँसहित पासपोर्ट दलालको हातमा थमाइदिए। ती दलालले पनि उनलाई दुबईकै पर्यटक भिसा लगाइदिए।
अमेरिकाको गन्तव्य तय गर्न उनी पुनः दुबई उडे।
'यसबीच घरपरिवारले अब अमेरिका जानुपर्दैन, जायजेथा बेचेर भए पनि ऋण तिरौंला। फेरि आत्तिइहाल्नुपर्ने गरी ऋण लागेको छैन त भन्नुभएको थियो,' कमलले भन्दै गए, 'तर आफूले थाहा पाएकाजति साथी सजिलैसँग अमेरिका पुगिरहेका थिए, मलाई पनि कसो जान नसकूँला त भन्ने लाग्यो।'
अमेरिकी सपना पछ्याउँदै उनी दोस्रोपटक दुबई उडेका थिए। चार महिनापछि उनी पुनः दुबई पुगेका थिए।
'दोस्रोपटक दुबई पुगेपछि ढुक्क भएको थिएँ। त्यो लटमा २०-२५ जना नेपाली हुँदा हुन्। अधिकांश रूकुम, रोल्पा, दाङ घर भएको बताउँथे। उनीहरू सबै यसपालि एजेन्ट राम्रो परेकाले अमेरिका पुगिने बताउँथे,' कमलले सुनाए।
उनको अमेरिकी सपनाको दुःख सकिएको थिएन।
दोस्रोपटक भेटिएका दलाल पनि भरपर्दो परेनन्। अघिल्लोपटक उनी १५-१६ महिनामै दुर्घटनावश फर्किएका थिए। दोस्रोपटकको बसाइ झन् पट्यारलाग्दो भयो र त्यो क्रमशः लम्बिँदै गयो।
दलाल नियमित सम्पर्कमा भएकाले विश्वास मुर्झाइसकेको थिएन। तर बसाइ अनिश्चित बन्दै गइरहेको थियो।
एक-दुई महिना हुँदै वर्षदिन बित्यो। अहँ दलालले उडाउने सुरसार गरेन।
'मुख्य एजेन्टसँग सम्पर्क हुने होइन। उसले भेटाइदिएका सहायक एजेन्टसँग कुरा गर्यो, स्पष्ट जवाफ दिँदैन। बाहिर निस्किएर काम गरौं, इलिगल (अवैध) बसिरहेका छौं, पाउनु-नपाउनु दुःख पो पायौं,' उनले भन्दै गए।
त्यतिञ्जेल दोस्रो दलाललाई पनि उनले २० लाखभन्दा बढी बुझाइसकेका थिए। उनले थप रूपैयाँ पनि माग गरिरहेका थिए।
'होटलमा बस्दाबस्दा झन्डै चार लाख सकिइसकेको थियो। १५ महिनाभन्दा बढी बस्दा पनि अमेरिका जाने टुंगो लागेको थिएन,' उनले भने, 'त्यसपछि भने मनले हरेश खायो।'
गत कात्तिक मसान्तताका अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए। ट्रम्प निर्वाचित भएर आएपछि आप्रवासनसम्बन्धी कानुनमा व्यापक हेरफेर गर्छन् भन्ने हल्ला चलिरहेकै थियो। अवैध रूपमा अमेरिका छिर्ने सबै बाटा बन्द गर्छन् भन्ने हल्ला विश्वव्यापी थियो। जो बाइडेनका पालामा मानिसहरू सजिलै अमेरिका पसिरहेका थिए। मेक्सिको हुँदै चोर बाटाबाट अमेरिका छिरेकाहरू केही महिनासम्म अध्यागमनको हिरासतमा बस्थे। त्यसपछि उनीहरूले अमेरिका प्रवेशको अनुमति पाइहाल्थे।
फिर्ता पठाइने (डिपोर्ट) को संख्या अत्यन्त न्यून थियो।
'त्यति बेलासम्म हामीसँगै गएका रूकुमकै सात जनाले डिपोर्ट खानुभएको थियो,' उनले भने, 'उनीहरूले केस त हालेका थिए। तर तीनतिर लिइने बयानमा उनीहरूको कुरा फरकफरक भयो। कागजात र कारण पनि राम्रो बताउन सकेनन्। अन्तिममा फर्काइए।'
'अमेरिका पुग्न दलाल भरपर्दो चाहिन्छ। त्यहाँ पुगेपछि राम्रो वकिल चाहिन्छ। वकिल गतिलो परेन भने डिपोर्ट खाइहालिँदो रहेछ!' कमलले सुनाए।
ट्रम्प निर्वाचित भएपछि कमलको मात्र होइन, धेरैको मनमा भुइँचालो गयो। उनीहरू दलालको गुलियो वचन नाघेर क्रमशः देश फर्कन थाले।
कमल दुबई बसेको १९ महिना बितिसकेको थियो। दलालले आश्वासन दिन छाडेको थिएन। ट्रम्प निर्वाचित भए पनि राष्ट्रपतिको शपथ लिन अझै केही समय बाँकी रहेकाले यो अवधिमा बाइडेन प्रशासनकै नीति लागू हुने हुँदा अमेरिका छिर्न कष्टसाध्य नरहेको बताउँदै लोभ्याइरहेकै थियो। तर यात्रा दुबईबाटै अघि नबढेकाले उनीहरूले भर पर्ने आधार भेटेनन्।
१९ महिनापछि कमल र उनका साथीहरूले पुनः दुबईको बसाइ बिट मारे। जसोतसो भारतको नयाँदिल्ली फर्किए। रूपैडिया-जमुनाह नाका हुँदै नेपाल फर्कने निधो गरे।
'हामी बसेको होटल र आसपासका अन्य होटलमा गरेर दुई सयभन्दा बढी नेपाली अझै त्यहीँ हुनुहुन्थ्यो। दलालले अझै आश्वासन दिइरहेकाले उहाँहरू फर्कन मानिराख्नुभएको थिएन। ४०-५० लाख खर्च भइसकेको छ। नेपाल फर्किएर पनि के गर्नु, यहीँ केही उपाय लाग्छ कि भन्दै हुनुहुन्थ्यो,' कमलले सुनाए।
कमल र उनका साथीहरूले त्यो बाटो खोजेनन्।
कमल नेपाल फर्किएको पनि चार महिना बितिसकेको छ। पहिलोपटक ३७ र दोस्रोपटक २२ गरी ५९ लाख रूपैयाँ उनले अमेरिकी सपनाको भुंग्रोमा परेर खर्च गरे। ३३ लाख रूपैयाँको घडेरी पनि यही मोहोरीमा परेर स्वाहा भयो।
'दुबई र काठमाडौं बस्दासमेतको खर्च जोड्दा अहिले मेरो थाप्लोमा २८ लाख रूपैयाँ चोखो ऋण छ,' कमलले निरूपाय हुँदै सुनाए, 'अमेरिकी सपनाको मोहोरीमा परेर हुँदाखाँदाको जागिर र जेथा नै गुमाएँ। अहिले सम्झँदा सर्वश्व नै गुमाएँजस्तो लाग्छ। श्रीमती काखको छोरो हेर्दै रोइरहन्छिन्, यस्तो बेला मैले के भन्नुपर्ने हो त्योसमेत थाहा पाइराखेको छैन।'
नेपाल फर्किएको केही समय उनले गाउँमा पनि बिताए। आफू गाउँमै बस्दा परिवारलाई थप पीडा होला भनेर उनी काठमाडौं फर्किए। अहिले उनी खाडी मुलुक भए पनि जाने ध्याउन्नमा छन्।
'अमेरिका जान नसकेपछि आवेगमा आएर पासपोर्ट फालिदिएँ। अहिले अर्को पासपोर्ट बनाउने पैसासमेत छैन,' उनी भन्दै थिए।
कमलको यति पीडा सुनिसकेपछि उनीसँगकै सम्पर्कका आधारमा हामीले दुबईमा रहेका केही नेपालीसँग कुरा गर्यौं। दाङ, रोल्पा, रूकुम घर बताउने ती युवा अझै अमेरिका जाने सपनाकै भुँवरीमा छन्।
'दलालले अर्को बाटो पहिल्याएका छौं भनेको छ। उसले अमेरिका पुर्याइछाड्ने वचन दिएको छ,' सेतोपाटीसँग सम्पर्कमा आएका ती युवाले भने।
कमलका अनुसार अवैध बाटो अमेरिका जान खोजेका डेढ सयभन्दा बढी युवा अझै दुबईको होटललाई आश्रय थलो बनाएर उपाय खोजी गरिरहेका छन्। ती सबै युवालाई दलालले अमेरिका छिराइछाड्ने आश्वासन दिएको छ। घर फर्किएर पनि के गर्ने टुंगो नभएका केही युवा दुबईमै कामदार भिसा लिएर कामको खोजीमा निस्किएका छन्।
'एजेन्टले अहिले दुबईमा काम गर्ने र ट्रम्पको कार्यकाल सकिएपछि पुनः अमेरिका छिराउँला भनेर पनि कतिपयलाई आश्वासन दिएको छ,' कमलले सुनाए, 'कतिपय त त्यतिञ्जेलसम्म पर्खने सोचाइमा समेत छन्।'
उनका अनुसार दुबईमा मात्र होइन, अमेरिका पठाउने भनेर दलालहरूले नेपालमै पनि पैसा उठाइरहेका छन्।
'स्पेनको बाटो हुँदै जान सकिन्छ भनेर पैसा उठाएका रहेछन्। उनीहरूसँग सुरूमै १०-१० लाख उठाइएको रहेछ। चार जना मेरै साथीले त्यसरी पैसा दिएका रहेछन्। तर अघिल्लो लटमा पैसा दिएकाहरू स्पेनबाट अघि बढ्न सकेका रहेनछन्,' कमलले भने, 'राम्रो सेटिङ हुनेले अझै अमेरिका छिराइरहेका छन्। नेपालीले त सक्दैनन्, भारतीय र बंगालीहरूले यो काम अहिले पनि गरिरहेका छन्।'
अझ आश्चर्यको कुरा त, अमेरिका पुगिछाड्ने आस बोकेका केही युवा ब्राजिलको बाटो हुँदै अझै पनामाको कष्टसाध्य जंगल छिचोलिरहेका छन्। कमलको भाइ नाता पर्ने सुदीप पनि अहिले 'डेरियन ग्याप' भनिने पनामाको जंगल काट्दै छन्। उनी कहाँ पुगेर रोकिन्छन् यसै भन्न सकिँदैन।
'सुदीपसँग मेरो केही दिनअघि मात्रै कुरा भएको थियो। उनीसँगै १७ जना नेपाली रहेछन्। सबै पनामाको जंगल छिचोलिरहेका छन्,' कमलले भने, 'सुदीपले अहिलेसम्म ४० लाख रूपैयाँभन्दा बढी सकिएको बताउँथ्यो। अरूको पनि त्यत्तिकै हाराहारी पैसा खर्च भइसकेको छ। तर अमेरिका छिर्न सक्ने हो कि होइन केही थाहा छैन।'
गत बुधबार (फागुन २१) मात्रै ९ नेपाली अमेरिकाबाट स्वदेश फर्काइए। उनीहरू सबै ९ महिना डिटेन्सन (अध्यागमनको हिरासत) मा बसेर आएका हुन्।
अध्यागमनको अदालतले उनीहरूलाई डिपोर्ट (निकाला) गर्न आदेश दिएको थियो। आफै स्वदेश फर्कन नमानेपछि उनीहरूलाई हतकडी नै लगाएर नेपाल फिर्ता गरियो। आठ जना चार्टर्ड र एक जना व्यावसायिक उडानमार्फत् नेपाल आएका थिए। ट्रम्पले प्रशासन सम्हालेयता ३५ जनाभन्दा बढी नेपाली डिपोर्ट भइसकेको अभिलेख अध्यागमनसँग छ। कति फिर्ता पठाइने उपक्रममा छन्।
यसरी अवैध बाटाबाट अमेरिका छिर्न खोज्ने आप्रवासीप्रति ट्रम्प प्रशासन कठोर बनिरहेका बेला कतिपय नेपाली अझै पनि छिर्न सकिने आसमै भेटिन्छन्।
'अमेरिका छिर्ने सपनाको पछि लागेर मानिसहरूले सर्वश्व गुमाइरहेका छन्। मेरो थाप्लामा २८ लाख रूपैयाँ ऋण छ। दलाललाई सम्पर्क गर्दा फिर्ता गर्छु त भन्छ तर कहिले, कसरी र कुन रूपमा फिर्ता गर्छ यकिन छैन,' कमलले भने।
हुन पनि कमलजस्तै अरू पीडित युवालाई पैसा उठाउन गाह्रै छ। रकम उठाउन प्रहरी प्रशासनको सहयोग लिऊँ, मुद्दा-मामिलामा जाऊँ, वैध बाटोबाट पैसा दिएको होइन! चौकी धाइरहनुपर्ने र केरकारमा समेत परिने त्रास उनीहरूलाई छ। दलालले भनेअनुसार विभिन्न बैंक खातामा पैसा हाल्दै गएकाले ठगीको प्रमाण जुटाउन पनि मुस्किल छ।
अन्तर्राष्ट्रिय गिरोहले यसरी चंगुलमा पारेका बेला उनीहरूकै आश्वासन, प्रलोभनलाई सत्य मानेर पछ्याइरहनुको विकल्प उनीहरूसँग कहाँ छ र!
***