के गिलासले चियाको स्वाद फरक पार्छ?
यसको जबाफ त मलाई थाहा छैन, तर गिलासले चिया पिउँदाको आनन्दमा पक्कै फरक पार्छ।
हामी चियाप्रेमीका लागि गिलासको महत्त्व ठ्याक्कै त्यस्तै हुन्छ, जस्तो रक्सी पिउनेका लागि। जसरी ह्विस्की, बियर, वाइन वा रमका लागि छुट्टाछुट्टै गिलास हुन्छ, चियाप्रेमीका लागि चिया पिउनुको आनन्द पनि गिलासले नै दिन्छ।
अब तपाईं सोध्नुहोला, चिया पिउने गिलास भनेको के?
यो स्टोरीमा म यसैबारे कुरा गर्दैछु।
म घरमा कपमा चिया पिउँछु। कहिलेकाहीँ स्टिलको गिलासमा पनि पिउँछु। तर कप वा स्टिलको गिलासमा चिया पिएको मलाई खासै स्वाद लाग्दैन।
म मात्र होइन, मेरो उमेरका धेरै साथीभाइ कप वा स्टिलको गिलासमा चिया पिउन मन गर्दैनन्।
हामी जेन–जीहरू सिसाको गिलासमा चिया पिउन रूचाउँछौं। त्यही सिधा सिधा धर्का भएको सिसाको गिलास, जुन कुनै बेला घर–घरमा हुन्थ्यो, हरेक रेस्टुरेन्टमा हुन्थ्यो। सम्झिनुभयो नि तपाईंहरूले!
अब तपाईंलाई लाग्ला, त्यो धर्के सिसाको गिलासमा चिया पिउनु कुन ठूलो कुरा हो र! त्यो त अघिल्लो पुस्ताले पनि प्रयोग गरेकै हो!
पक्कै हो।
खासमा यो सिसाको गिलास हाम्रा हजुरआमा–बुबाको पालादेखि चलिआएको हो। त्यसपछि हाम्रा आमाबुबाहरूको पुस्ताले पनि लामो समय यही गिलासमा चिया पिउनुभयो। तर आमाबुबाहरूकै पालामा यस्तो समय आयो, जब सिसाको गिलास हराउँदै गयो। यसको ठाउँ लियो विभिन्न डिजाइन र सन्देश कोरिएका कपले।
केही वर्ष अघिसम्म, जति बेला हामी स्कुल पढ्दै थियौं, चिया पिउने भनेकै कपमा हुन्थ्यो। रेस्टुरेन्टमा पनि कपमै चिया दिइन्थ्यो। सस्तो खालको रेस्टुरेन्टले सस्तो कपमा दिन्थ्यो, हाइफाई रेस्टुरेन्टले महँगो कपमा दिन्थ्यो।
आमाबुबाहरूकै पालामा चियाभन्दा कफी पिउनुलाई 'कूल' ठान्न थालियो। चिया पिउनेहरू घट्दै गए, कफीका पारखी बढ्दै गए। कफीको लोकप्रियतासँगै सिसाको कप चल्तीमा आयो।
झट्ट हेर्दा हाम्रा आमाबुबाहरूको पुस्ता चिया र कफीमा अलमलिएको देखिन्छ। उहाँहरू हुर्किएको त चिया पिएरै हो। किशोरावस्था र युवावस्था चिया पिएरै बिताएको हो। पछि कफीतिर लाग्नुभयो। चिया पिउने गिलासका मामिलामा पनि उहाँहरू अलमलिनुभयो। कहिले धर्के सिसाको गिलास प्रयोग गर्नुभयो, कहिले स्टिलको गिलास त कहिले रंगीबिरंगी कप।
अहिले हामी जेन–जीहरू आमाबुबाको पुस्ताभन्दा एक कदम पछाडि गएर हजुरबुबा–हजुरआमाको जमानामा फर्किएका छौं।
हामीलाई न स्टिल गिलासमा चिया पिउन मनपर्छ, न कपमा। हामीलाई चियाको स्वाद र आनन्द हजुरआमा–बुबाको पालाको धर्के सिसाको गिलासमा मात्र आउँछ।

जेन–जीको यो ट्रेन्डलाई पछिल्लो समय खुलेका चिया पसलहरूले पनि पछ्याउन थालेका छन्।
यसको पछाडि दुइटा कारण छ।
एक, जेन–जीहरूमा कफीभन्दा चिया पिउने रूचि बढी छ। किनभने, बजारमा चियाभन्दा कफी निकै महँगो हुन्छ।
दोस्रो, कफी सपहरू हाइफाई हुन्छन्। त्यहाँ अरू खानेकुरा पनि महँगै पर्छ। चिया भने सस्तो मात्र पाइँदैन, चिया पाइने रेस्टुरेन्टमा खानेकुरा पनि सस्तै पर्छ।
यिनै दुई कारणले काठमाडौं लगायतका सहरी क्षेत्रमा राम्रो खालको चिया पसल खुल्ने क्रम बढेको छ। पहिले क्याम्पस वरिपरिका केक–सप वा सामान्य होटलमा चिया पिउनुपर्थ्यो भने अचेल चियाकै लागि स्तरीय रेस्टुरेन्टहरू धमाधम खुलेका छन्।
सबभन्दा ठूलो कुरा त, ती रेस्टुरेन्टले जेन–जीको रूचिअनुसार सिसाको धर्के गिलासमा चिया सर्भ गर्छन्।
हामीले यसबारे झम्सीखेलको चर्चित रेस्टुरेन्ट 'चिया माया' का सञ्चालक सुभम घिमिरेसँग कुरा गर्यौं। पछिल्लो समय जेन–जीहरूको निम्ति भेटघाट र गफगाफको थलो बन्दै आएको यो रेस्टुरेन्टमा बिहानदेखि साँझसम्म भीडभाड भइरहन्छ। अधिकांश ग्राहक सिसाको गिलासमा चिया चुस्की लिँदै आलुचाप र सेल खाइरहेका हुन्छन्।
'सिसाको गिलासमा चिया खाँदा पुरानो समयमा फर्किएको अनुभव हुन्छ,' सुभमले भने, 'यसमा चिया खाँदाको भाइब्स नै छुट्टै छ।'
उनी आफै पनि साथीहरूसँग भेटघाट गर्न राम्रो ठाउँ होस् भन्ने चाहना राख्थे। त्यस्तै ठाउँ खोज्ने क्रममा उनले सन् २०२३ जनवरीमा बुटवलमा 'चियाहोलिक' खोले। त्यति बेला उनी २२ वर्षका थिए। राम्रो प्रतिक्रिया पाएपछि उनले चिया व्यापारलाई काठमाडौं उपत्यकामा विस्तार गर्ने निधो गरे।
यसैबाट जन्मियो — चिया माया।

सञ्चालनको एक वर्षमै लोकप्रिय ब्रान्ड बनेको चिया मायाका सञ्चालक सुभमलाई हामीले सोध्यौं, 'सिसाको गिलास नै प्रयोग गर्नुको कारण के त?'
जबाफमा उनले एउटा घटना सुनाए —
उनले भारत घुम्न जाँदा थुप्रै ढाबा र रेस्टुरेन्टमा चिया पिएका थिए। किसिम किसिमका रेस्टुरेन्टमा चिया पिउँदा एउटा खास कुरामा उनको ध्यान गयो।
उनले देखे, चाहे ढाबा होस् वा रेस्टुरेन्ट; सबैतिर लोकल सिसाको गिलास नै चल्तीमा रहेछ।
'यस्तो गिलासमा त हामीले पनि चिया पिएकै हो,' उनले सोचे, 'त्यो गिलास अचेल कहाँ हरायो? किन हामीले सिसाको गिलासमा चिया खान छाड्यौं र कपतिर लाग्यौं?'
त्यही घटनापछि उनले आफ्नो रेस्टुरेन्टमा सिसाकै गिलास प्रयोग गर्ने निधो गरे।
'युवा पुस्ताले यो आइडिया मनपराए,' उनले भने, 'अरू रेस्टुरेन्टमा कपमा चिया सर्भ गरिन्छ। हामी सिसाको गिलासमा सर्भ गर्छौं। कतिले त यस्तो गिलास पहिलोपटक देखेका थिए। उनीहरूलाई यो साह्रै कूल लाग्यो।'
अहिले चिया मायामा सबभन्दा बढी बिक्ने 'कटिङ चिया' हो। यो नाम उनले भारतबाटै सिकेका हुन्। त्यहाँ आधा गिलास चियालाई 'कटिङ चिया' भनिन्छ। उनी भने आधा गिलास मात्र बेच्दैनन्। चिया गिलासभरि नै हुन्छ।
सुभमले चिया नै बेच्नुका पछाडि पनि कारण छ।
'भर्खर कलेज पढ्न थालेका युवाहरूसँग महँगो रेस्टुरेन्टमा खान पैसा हुँदैन। त्यसैले उनीहरू सस्तो तर राम्रो ठाउँको खोजीमा हुन्छन्,' उनले भने, 'युवाहरूको त्यही चाहना पूरा गर्न मैले चिया माया खोलेको हुँ। यहाँ चिया र अरू खानेकुरा सस्तो पाइन्छ। वातावरण पनि युवाहरूलाई मनपर्ने नै छ।'
कम खर्चमा साथीभाइसँग भेटघाट र कुराकानी गर्न पाइने भएकाले चिया माया जेन–जीहरूमाझ लोकप्रिय भएको उनी बताउँछन्।
'मैले एक युवाका रूपमा जुन स्पेसको अभाव देखेँ, त्यही स्पेस होस् भनेर चिया मायाको कन्सेप्ट ल्याएको हुँ,' उनले भने, 'मैले यहाँको मेनुदेखि मूल्यसम्म जेन–जीको रूचिलाई ध्यानमा राखेर तयार पारेको छु।'
सबभन्दा ठूलो कुरा, चिया मायाले 'सर्भ' गर्ने हजुरआमा–बुबा पालाको सिसाको गिलास नै हो।
जेन–जी पुस्ताले रूचाएको यो गिलास अहिले ट्रेन्डिङमा मात्र छैन, 'कूल' पनि छ।
***