दाङको तुलसीपुर उपमहानगरपालिका– ४ रक्षाचौरस्थित राप्ती आँखा अस्पतालमा शुक्रबार दिउँसो १ बजेर १२ मिनेट गएको थियो।
अर्धचेत अवस्थाकी ३३ वर्षीया डिला खड्का डाँगीलाई जनरल ओपिडी रूममा लगिएको थियो। उनलाई घरपरिवार र आफन्त दुई जना महिलाले कुर्सीमा अड्याएर थामेका थिए।
डिलालाई कुर्सीमा राखेपछि आफन्त महिलाहरूले उनका आँखाको ढकनी औंलाले फट्याइदिए। अस्पतालका नेत्र सहायक रोहित कडायतले डिलाको आँखा जाँच गरे। दुई हप्ताअघि मात्रै यही अस्पतालमा उनको आँखाको शल्यक्रिया भएको थियो। उनको आँखामा मासु पलाएर ढाकिएको थियो।
पछिल्ला दुई दिनयता डिला अर्धचेत अवस्थामै थिइन्। रूँदा–रूँदा, मिच्दा–मिच्दा उनको आँखामा समस्या भयो कि भनेर आत्तिएका परिवारजनले उनलाई अर्धचेत अवस्थामै अस्पताल पुर्याएका थिए।
डिलाका जेठा ससुराबुबाका छोरा, जेठाजु टोपेन्द्र डाँगीले केही आफन्तलाई गुहारेर बुहारी डिलालाई अस्पताल पुर्याएका थिए।
नेत्र सहायक कडायतले आँखामा राख्ने थप केही औषधि लेखिदिए। धेरै नरून, आँखामा पानी धेरै नराख्न र धेरै मिच्न नदिनु भन्ने सल्लाह दिएर पठाए।
'अमेरिका सपना पछ्याउँदै अवैध मार्ग (तल्लोबाटो) हिँडेका भाइ (डिलाका श्रीमान) को बीचमै मृत्यु भयो। यो खबर पाएदेखि यही हालत छ,' टोपेन्द्रले भने।
एसइई तयारी गरिरहेका डिलाका छोरा रोशन पनि बुबाको मृत्युको खबरले बेहोस भएका थिए। घरमै चिकित्सक लगेर बिहीबार रातभर आमाछोरालाई सलाइन चढाउनुपर्यो। गोरखामा स्नातक पढिरहेकी छोरीको अवस्था पनि उस्तै भएको टोपेन्द्रले बताए।
डिलाका श्रीमान ३८ वर्षीय पूर्णबहादुर डाँगी घानाको आक्रामा बुधबार मृत अवस्थामा फेला परेको खबर बिहीबार बिहान ३ बजेतिर परिवारले पाएको थियो। त्यो खबर उनीहरूलाई पत्यार लागेन।

किनभने, बुधबार साँझसम्म पूर्ण बिरामी रहेको सूचना परिवारलाई दिइएको थियो। त्यसको दुई दिनअघि मात्रै डिलासँग पूर्णले सामाजिक सञ्जालमा भिडिओ कलमा कुरा गरेका थिए।
'अब अमेरिका सपना यस्तै भयो, अब अमेरिका जाने हुँदैन। म युरोपियन देशहरू युके, क्यानडा वा कतै म्यानेज गर्छु भनेर एजेन्टले भनेका छन्। तिमीहरू नआत्तिनू। म त्यता जान पाएछु भने पनि महिनाको चार-पाँच लाख कमाउन सकिहाल्छु नि,' पूर्णका भनाइ उद्धृत गर्दै दाजु टोपेन्द्रले भने।
तर पूर्ण कुनै गन्तव्यमा नपुगी बाटोमै अस्ताए।
पूर्ण पहिले झन्डै ११ वर्ष मलेसिया बसेका थिए। त्यसबीच उनी घर आउजाउ गरिरहन्थे। मलेसियामा उनी ठूला गाडी चलाउन काम गर्थे। मासिक दुई लाख रूपैयाँभन्दा बढी कमाइ हुन्थ्यो।
दाजुभाइको छुट्टीभिन्न भएपछि पूर्ण आठ वर्षअघि आफ्नो परिवारसहित तुलसीपुर बजार नजिकै बस्न थालेका थिए। गाउँको जमिन बेचेर र मलेसियाको कमाइबाट उनले तुलसीपुर उपमहानगरपालिका– ८ दोघरेमा पाँच मिटर जग्गा किनेर घर बनाएका थिए।
तीन वर्ष पहिले उनले मलेसियाबाटै एजेन्ट खोजेर अवैध बाटो हुँदै अमेरिका जान खोजेका थिए। ती एजेन्टबारे भने केही थाहा नभएको टोपेन्द्रले बताए।
'झन्डै ४० लाख खर्च भएको भनेको थियो। एक-डेढ वर्ष अफ्रिकी मुलुकमा घुमाए पनि एजेन्टले पूर्णलाई अमेरिका प्रवेश गराउन सकेन। सबै पैसा स्वाहा भयो,' उनले भने।
भिसाको म्याद सकिएपछि पूर्ण घर फर्किए। झन्डै तीन महिना जति घरै बसे। अमेरिका सपनामा ठूलो पैसा डुबिसकेको थियो। पूर्णले ऋण र डुबेको पैसा उठाउन अमेरिका नगई हुँदैन भन्ने सोचे। अनि अर्को एजेन्टको सम्पर्कमा पुगे।
केही आफन्तसँग फेरि सापटी लिए। घर धितो राखेर बैंकबाट ४० लाख जति ऋण निकाले। अनि करिब डेढ वर्षअघि अमेरिका जाने भन्दै हिँडे। तर एजेन्टले पूर्णलाई अमेरिका छिराउन सकेनन्।
'पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी कडा नीतिहरू ल्याएका छन्। अवैध मार्गबाट अमेरिका छिर्ने बाटो बन्द भएको थाहा पाएर पूर्णले युरोपियन देश भए पनि जाने कुरा गरेको थियो। नआत्तिन भनिरहेको थियो,' दाजु टोपेन्द्रले भने, 'ऋण जसरी पनि चुकाउँछु भनेको थियो। तर कहिल्यै फर्केर नआउने गरी गयो।'
टोपेन्द्रका अनुसार पूर्ण कोठामा एक्लै मृत अवस्थामा फेला परेको खबर उनका साथीहरूले दिएका छन्। मृत्युको कारण हृदयघात भनिए पनि यकिन भइसकेको छैन। घानामा अहिले आइतबारसम्म बिदा परेकाले पोस्टमर्टम रिपोर्ट सोमबार मात्र आउने भनिएको छ।
पोस्टमर्टमपछि पूर्णको शव नेपाल ल्याउन राज्यले पहल गरिदिए हुन्थ्यो भन्ने चाहना घरपरिवारको छ। पूर्णको शव घर आइपुगेपछि मात्रै काजकिरिया गर्ने सल्लाह परिवारमा भएको टोपेन्द्रले बताए।
डिला र छोराको अवस्थामा अझै सुधार आएको छैन। राति फेरि घरमै चिकित्सक लगेर उपचार भइरहेको उनले जानकारी दिए।
सबै तस्बिरः नारायण खड्का/सेतोपाटी