कपिलवस्तुबाट स्रोत नखुलेको झन्डै २९ लाख रकमसहित चार जना पक्राउ परेका छन्।
पक्राउ परेका मध्य अर्घाखाँचीको सन्धिखर्च नगरपालिका–५ का ३० वर्षीय गोबिन्द विकको साथबाट भारतीय रुपैयाँ ५०० का १८०० थान, कुल भारतीय रुपैयाँ नौ लाख, कपिलवस्तुको मायादेवी गाउँपालिका–८ का ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट नेपाली रुपैयाँ १००० का नोटहरू १२९४ थान, नेपाली रुपैयाँ ५०० का नोटहरू ३१२ थान समेत गरी कुल १४ लाख ५० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–४ जितपुर ४ नम्बर चोकमा रहेको केसी फेन्सी स्टोरमा स्रोत नखुलेको भारतीय नोटको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पौने ३ बजेतिर उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ परेका बिक र कसौधनको साथमा रहेका रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६ का ४१ वर्षीय वसन्त खरेल र कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ का ४२ वर्षीय शेषमणि गिरीलाई पनि नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन्।
बरामद भएको रकमसहित पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय रूपन्देहीका पठाइएको डिएसपी अधिकारीले बताए।