दाङमा गएराति मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका युवकको बिहीबार दिउँसो मृत्यु भएको छ।
प्रहरीका अनुसार लमही नगरपालिका – ८ सतबरियाका ३३ वर्षीय गणेश चौधरीको बाँके, नेपालगन्जस्थित नर्सिङहोममा उपचार क्रममा मृत्यु भएको हो।
गणेश बुधबार उनकै गाउँका ४२ वर्षीय एक व्यक्तिले चलाएको मोटरसाइकलमा बसेर आफ्नो घरठाउँतिरै जाँदै थिए। राति करिब सवा १० बजेतिर लमही– ७ नयाँबस्तीमा मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो।
घाइते गणेशलाई उपचारका लागि सुरूमा लमही अस्पताल पुर्याइएको थियो। त्यहाँबाट घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालन्जस्थित नर्सिङ होम लगिएको थियो। त्यहीँ उपचार क्रममा बिहीबार दिउँसो दुई बजेतिर गणेशको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए।
धमलाका अनुसार मोटरसाइकल चालक भने सामान्य घाइते अवस्थामा बिहीबार बिहान मात्रै फेला परेका हुन्। गणेश र आफू ठाउँठाउँमा मदिरा सेवन गर्दै यात्रामा निस्किएको बयान उनले दिएका छन्।
'दुर्घटनास्थल क्षेत्रमा सडकको नाला निर्माणको काम भइरहेको छ,' धमलाले भने, 'किनारमा राखिएको ढुंगामा परेपछि मोटरसाइकल अनियन्त्रित भएर बन्दै गरेको नालामा परेको थियो। पछाडि सवार व्यक्ति गम्भीर घाइते भका थिए।'
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।