मध्यपुर थिमीका सौरभ थापा श्रेष्ठ 'इकोज इन द भ्याली' का नियमित सहभागी हुन्।
काठमाडौंको असनमा भएको पहिलोबाहेक उनले कुनै पनि संस्करण छुटाएका छैनन्। संगीत, संस्कृति र समुदायको 'फ्युजन' भेटिने यो महोत्सवको यसपटक नवौं संस्करण हुँदैछ।
इकोज काठमाडौंबाहेक कहिले बनेपा, कहिले बुंगमती त कहिले कीर्तिपुर पुगेको छ। संगीत र सांस्कृतिक गतिविधिमा रम्नेहरूमाझ इकोजको बेग्लै आकर्षण छ। सोही आकर्षणले सौरभलाई यसको नियमित सहभागी बनाएको हो।
यसबीच सौरभलाई लागिरहन्थ्यो, 'मध्यपुर थिमीमा यो महोत्सव कहिले होला?'
यो प्रश्नको उत्तर उनले पाइसकेका छन्।
यही शुक्रबार र शनिबार मध्यपुर थिमीमा इकोज इन द भ्याली हुन लागेको छ। सहभागीबाट 'होस्टिङ सिटी' बन्न पाउँदा निकै खुसी लागेको सौरभ बताउँछन्।
सौरभझैं धेरै जना आफ्नो ठाउँमा इकोज आइदिओस् भन्ने चाहना राख्छन्। कतिले त बोलाउन पनि थालेका छन्।
'एउटा समय थियो, जब हामी यसपालि कता गर्ने होला भनेर ठाउँ खोज्न धाइरहेका हुन्थ्यौं। अहिले हामीलाई खोकना, पनौती जस्ता नजिकका सहरसँगै मनाङ लगायत ठाउँबाट पनि मानिसहरूले बोलाइरहेका छन्,' इकोजका सह–संस्थापक एवं संगीतकार रिजु तुलाधरले भने।
इकोजका अर्का सह–संस्थापक हुन् भूषण शिल्पकार। दुई दशक पुरानो उनीहरूको चिनजान र दोस्तीमा इकोजले थप रङ भरिदिएको छ।

सन् २०१६ को कुरा हो।
त्यति बेला बेस गितारिस्ट रिजु नेपाली रक ब्यान्ड 'रविन एन्ड लुज (रविन एन्ड द न्यू रिभोलुसन)' मा आबद्ध थिए। हाल भएको 'कान्ता दब दब ब्यान्ड' बनेकै थिएन।
यता भूषण 'फोटो सर्कल' मा आबद्ध थिए। पाटनका भित्ता, गल्लीहरूमा फोटो प्रदर्शनी गरेको अनुभवले सडक कार्यक्रम कसरी गर्न सकिन्छ भन्ने धेरथोर ज्ञान उनले पाएका थिए। फोटो सर्कलअघि 'कुटुम्ब ब्यान्ड' को व्यवस्थापन सम्हाल्दा उनको चिनजान रिजुसँग भएको थियो। कुटुम्बले लुजसँग थुप्रैपटक सहकार्य गरेको थियो।
रिजु सांगीतिक कार्यक्रमका लागि देश–विदेश भ्रमण गरिरहेका हुन्थे। विभिन्न देश जाँदा उनले सडक अनि फुटपाथ बन्द गराई, स्टेज बनाएर सांगीतिक कार्यक्रमहरू गरेको देखेका थिए।
त्यो देख्दा उनले सोचे — नेपालमा त मान्छेलाई दैनिक हिँड्नै निम्ति त राम्रा र फराकिला फुटपाथ छैनन्!
उनले यो पनि सोचे — यस्तो कार्यक्रम गर्न हामीलाई किन चाहियो फुटपाथ? हामीसँग लिच्छवि अनि मल्लकालदेखि बनेका दबू (डबली) हरू छन् नि!
रिजुको यो सोचाइ काठमाडौंका डबलीहरूलाई पुनर्जीवित गर्ने राम्रो अवसर थियो। डबलीहरू विशेषतः देवी नाच (दबू प्याखँ) देखाउन प्रयोग हुन्थे। कतिपय बुढापाकाले बिहान र साँझका भजनहरू बजाउन पनि प्रयोग गर्दै आएका थिए। कति भने अतिक्रमण भइसकेका थिए। कति डबलीमा पसल बनेका थिए, कतिको नामनिसान नै थिएन।
काठमाडौंमा नामोनिसान नै नभएको एउटा डबली हो इन्द्रचोकको 'वंघः दबू'।
यो डबली नब्बे सालको भुइँचालोपछि सहर पुनर्निर्माणक्रममा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले भत्काएका थिए। त्यो पुनर्निर्माणले हामीलाई न्यूरोडको फराकिलो सडक दियो तर केही महत्त्वपूर्ण सांस्कृतिक स्थल विनाश गरायो।
त्यसैमध्ये एक थियो वंघःको डबली। यो डबली मासिएदेखि हरेक येयाँ (इन्द्रजात्रा) को समयमा डबलीमा देखाइने दि प्याखँ (देवी नाच) सडकमा देखाइँदै आएको छ।
अहिलेको समयमा झन् डबलीहरू पुनर्जीवित गर्ने खालका नयाँ गतिविधि काठमाडौंमा कमै छन्। रिजुको योजना नयाँ आयाम थियो जसले यहाँको डबलीलाई जीवन्त बनाउनुका साथै यसको जगेर्नामा टेवा पुर्याउँथ्यो।
डबलीमा संगीत महोत्सव त गराउने तर यस्ता कार्यक्रम कसरी गरिन्छ भन्ने रिजुसँग ज्ञान थिएन। उनले भूषणलाई सम्झिए। फोटो सर्कल भर्खरै छाडेका भूषणलाई रिजुको योजना मनपर्यो।
भूषण शिल्पकार (बायाँ) र रिजु तुलाधरयसरी उनीहरूले सन् २०१७ मा 'इकोज इन द भ्याली' नामक सांगीतिक महोत्सव सुरू गरे। मासिक पत्रिका 'वेभ' मा एक अमेरिकी प्राध्यापकले काठमाडौंको पप कल्चरमा अनुसन्धान गरेर लामो लेख लेखेका थिए। त्यो लेखको शीर्षक राम्रो लागेर वेभका संस्थापक सम्पादकसँग स्वीकृति लिई भूषणले यसलाई आफ्नो महोत्सवको नाम बनाए।
'हाँडीगाउँ, टोखा लगायत ठाउँमा हरेक शनिबार सवारीसाधन बन्द गराएर विभिन्न सांस्कृतिक गतिविधि हुन थालेको छ। त्यस्तो काम हामीले पनि इकोजमार्फत ८ वर्ष अघिबाटै गर्दै आएका रहेछौं,' भूषणले भने।
इकोज सुरू हुँदा सबभन्दा ठूलो चुनौती डबली व्यवस्थापनमै भयो। पहिलो महोत्सव काठमाडौंको असनमा भएको थियो। असनको डबली लस्करै ६ वटा पसल थिए। जम्मा एक दिनका लागि पसल खाली गराउन पनि उनीहरूले पटकपटक पसले र विभिन्न सरोकार निकायसँग छलछल गर्नुपर्यो।
'यति धेरै छलफलमा बस्नुपरेको थियो कि मैले त गन्ती नै गरेर राखेको छु,' रिजुले भने, 'डबली खाली गर्न ४२ वटा मिटिङ बस्नुपरेको थियो। पसलेहरूले डबली हटाउन मानेकै थिएनन्। हामीले एक दिनलाई मात्र हो दिनुहोस् न भनेर पटकपटक आग्रह गरेपछि बल्ल हट्यो।'
असन सँगसँगै अर्को स्टेज जनबहालको डबलीमा बनाइएको थियो। त्यहाँ अहिले पाँचवटा नेवाः साहित्यिक धरोहरको मूर्ति बनाइएको छ। अब संगीतको स्टेजका रूपमा त्यसलाई प्रयोग गर्न असहज छ।
काठमाडौंको असनमा उनीहरूले सन् २०१७ पछि २०१९ र २०२३ मा महोत्सव गरेका थिए। सुरूमा एक वर्ष काठमाडौं र एक वर्ष काठमाडौं बाहिर कार्यक्रम गर्ने उनीहरूको योजना थियो। तर बिस्तारै उनीहरूलाई के अनुभव गरे भने यो योजनाले राम्ररी काम नगर्न सक्छ।
'असनमा कार्यक्रम गरेको अर्को वर्ष हामीले बनेपामा गरेका थियौं। तर बाहिर लग्नेबित्तिकै निकै गाह्रो हुने रहेछ। आर्थिक समस्याले पनि उत्तिकै समस्या दिने। त्यही भएकाले अर्को वर्ष पुनः काठमाडौंमा गरेपछि हामीले कीर्तिपुरमा कार्यक्रम गर्ने सोच बनायौं। तर कोरोनाका कारण सन् २०२२ मा मात्र सम्भव भयो,' भूषणले भने, 'काठमाडौं बाहिर नसके पनि रिङरोड बाहिर नजिकैका ठाउँहरूमा भए पनि गरौं न भन्ने हामीले सोचेका छौं।'
काठमाडौंको असन, कीर्तिपुर र बनेपाबाहेक यो कार्यक्रम सन् २०२२ मा बुंगमती र गत वर्ष काठमाडौंको हनुमानढोका संग्रहालय र इटुम्बहालमा भएको थियो।
इकोज इन द भ्यालीमा नेपालबाहेक संसारभरका संगीतकर्मीले पनि सांगीतिक प्रदर्शन दिन्छन्। कति नेपाली ब्यान्डले विदेशीसँग सहकार्य पनि गर्छन्। योपटक नेपालको काठमाडौं पोखरा, कपिलवस्तु, कञ्चनपुरका संगीतकर्मीहरू बाहेक फ्रान्स, अर्जेन्टिना र बेलायतको संगीत इकोजमा सुन्न पाइन्छ। १८ वटा सांगीतिक प्रस्तुति रहेको इकोजमा २३० भन्दा बढी संगीतर्मीहरूले प्रस्तुति दिँदैछन्।


विभिन्न देशका सांगीतिक ब्यान्डलाई नेपाली महोत्सवमा प्रदर्शन गर्न दिँदा संसारभरको सांगीतिक माहोल बुझ्ने मौका मिल्छ। त्यसका साथै, नेपाली संगीतकर्मीलाई उनीहरूसँग सम्बन्ध बिस्तार अनि सहकार्यको अवसर जुट्छ। यति मात्र होइन, एकअर्काबाट सिक्ने मौकासमेत मिल्ने भूषण बताउँछन्।
'विश्व संगीतमा नेपाल कता हो कता छ। हामीसँग जुन रैथाने बाजा र संगीत छ, त्यसलाई हामीले प्रवर्द्धन गर्न नै जानेका छैनौं। कुनै दिन हाम्रो रैथाने कलाकार विदेशी स्टेजमा प्रदर्शन गर्न जान्छन् भने इकोज त्यहाँसम्म पुग्ने रिहर्सल हो भन्दा हुन्छ,' भूषणले भने, 'हाम्रो बाजा र संगीत एकदम फरक छ तर त्यसका लागि हामी व्यावसायिक हुनुपर्छ। हामी कसरी व्यावसायिक हुनेदेखि लवाइखवाइ पनि हामीले विदेशी संगीतकारबाट सिक्न सक्छौं। त्यसरी नै उनीहरूले हाम्रो संगीत र रहनसहन हामीसँग सिक्न सक्छन्।'
उनले अगाडि भने, 'एक हिसाबले यो सौहार्दपूर्ण प्रतिस्पर्धा पनि हो।'
विभिन्न देशी–विदेशी ब्यान्डसँग सहकार्य गरेका रिजु पनि भूषणको कुरामा सहमत छन्।
उनी भन्छन्, 'नयाँ संगीत सुन्दा हाम्रो दिमागको संगीत भण्डार पनि फराकिलो हुन्छ।'
चिलीका संगीतकार मोआ निकोलस एडमन्ड्स ग्वेराले सन् २०२० देखि इकोज इन द भ्यालीलाई चिन्दै आएका हुन्। उनी र उनका साथी तोमस करास्को गुबनैंटिस इकोजकै कार्यक्रमका लागि नेपाल आएका थिए। कोरोना लकडाउनका कारण उनीहरू यतै रोकिनुपर्यो। बिस्तारै उनीहरूले रैथाने संगीत समूहकी गायिका झुमा लिम्बू र यहाँका थुप्रै नेपाली संगीतकारसँग सहकार्य बढाए। नेपालमा भएका विभिन्न समुदायको गीतमा संगीत भरे।
कीर्तिपुरमा भएको इकोजमा मोआले तीन वटा समूहसँग मिलेर सांगीतिक प्रस्तुति दिएका थिए। नयाँ मानिस भेट्न, चिन्न र सहकार्य गर्न रूचाउने मोआ इकोजमार्फत राम्रा मानिस र संगीतकर्मी भेट्न पाएको बताउँछन्।
'संगीत मात्र होइन, इकोजले कला र संस्कृतिका विभिन्न आयाम समेटेको छ। तिनीहरू प्रदर्शनमा आए मात्र जीवन्त हुने हो, नभए संग्रहालयजस्तै हुन्छन्। हामीजस्ता विदेशीलाई यहाँको संगीत र संस्कृति एकै ठाउँ हेर्न र चिन्न मिल्ने ठाउँ बनेको छ इकोज,' मोआले भने, 'नेपाल आएर नेपाली संगीतकर्मीहरूसँग काम गर्न पाउँदा र इकोज जस्तो महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई भाग्यमानी ठान्छु।'

इकोज दुई दिनको कार्यक्रम भए पनि यसको काम त्यतिमा सीमित छैन। इकोजले संगीत अनुसन्धान गर्न र 'रेसिडेन्सी' मार्फत संगीत सिर्जना गर्ने माहोल पनि सिर्जना गर्छ।
इकोजले नै जुटाइदिएको आर्थिक सहयोगमा मोआ र उनका साथीहरू तीन वर्षअघि डोल्पाको पुङ्मो गएका थिए। उनीहरूले पुङ्मोको संगीत संकलन गर्ने र अनुसन्धान गर्ने काम गरे। अहिले उनीहरू त्यहाँका रैथाने गीतहरू रेकर्ड गरेर सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।
इकोजकै सहयोगमा गायिका एवं संगीत अनुसन्धाता पुष्पा पलाञ्चोकेले 'रेसिडेन्सी' मार्फत संगीत सिर्जना गर्ने अवसर पाएकी थिइन्। रेसिडेन्सी भनेको कतै गएर बस्ने र सबै कुरा छाडेर एउटै काममा ध्यानकेन्द्रित गर्ने माहोल हो। त्यति बेला कीर्तिपुरका नाच र संगीतमा काम गरिरहेकी उनले त्यहाँका महिलाहरूलाई संगीत सिकाइन्। उनीहरूले कीर्तिपुरमा भएको इकोजमा सांगीतिक प्रस्तुति समेत दिएका थिए।
'कतै कसेर काम गर्न पाएपछि म जस्तो घर–व्यवहार भएको मान्छेलाई निकै सजिलो भएको थियो,' उनले भनिन्।
पुष्पाले अघिल्ला इकोजमा कुनै न कुनै रूपमा सहभागिता जनाउँदै आएकी थिइन्। सुरूमा संगीत नै गर्ने भन्दा पनि संगीतका विभिन्न आयाम पर्गेल्ने हिसाबमा उनी इकोजमा सहभागी हुन्थिन्। अहिले इकोजले राम्रो संगीतकर्मी र मान्छेका रूपमा आफूलाई विकास गरेको उनी महसुस गर्छिन्।
'म जस्तो संगीतमै भविष्य बनाउँछु भनेर सोच्ने धेरैलाई इकोजले हौसला दिन्छ,' उनले भनिन्, 'विभिन्न संगीतकर्मीको काम हेर्ने र सहकार्य गर्ने माहोलले आफू र आफ्नो कामलाई मूल्यांकन गर्न पनि पाइन्छ।'
इकोज अनि संगीत नङ र मासुजस्तै!
इकोजको अर्को उद्देश्य हो सहर चिनाउनु।
हरेकपटक नयाँ–नयाँ ठाउँमा महोत्सव हुने भएपछि सहर चिनिने भयो नै। सहरलाई अझ विस्तृतमा चिनाउन इकोजले सहरबारे कथा सुनाउने कार्यक्रमदेखि 'हेरिटेज वाक' गर्छ।
मध्यपुर थिमीका सौरभ यसपालि इकोजमा दर्शक मात्र होइनन्, उनले हेरिटेज वाक पनि गराउँदैछन्। पुराना गल्ली, चोक, सम्पदा अनि पोटरी स्क्वायर वरपरको क्षेत्रबारे वर्णन गर्दै उनी र उनका साथी स्याम साहुले थिमी घुमाउने छन्। इकोजका अन्य कार्यक्रम सुरू हुनु अगाडि 'टाइमलेस थिमी' नाम राखिएको यस गाइडेड टुर सुरू हुनेछ। यस भ्रमणमा सहभागी हुन अनलाइनमार्फत नाम दर्ता गराउनुपर्छ।
'काठमाडौं उपत्यकाका अन्य सहरको तुलनामा थिमी एकदम छायामा परेको सहर हो। यो हाम्रो लागि थिमी चिनाउने र यहाँको संगीत–संस्कृति प्रवर्द्धन गर्ने अवसर पनि हो,' सौरभले भने, 'गाइडेड टुरको क्रममा यहाँका ठाउँहरू चिनाउनु त छँदैछ, हामीले यहाँका जात्रापर्वका ब्रोसर पनि बाड्ने सोचेका छौं, जसमा भएको क्युआर स्क्यान गरेर थिमी र यहाँका जात्राबारे थप जान्न सकिन्छ।'

सहर चिनाउने नै इकोजको अर्को सहकार्यको कार्यक्रम हो, 'बाखं न्यने वा'।
नेपाल भाषाको यस शब्दको अर्थ हो, 'कथा सुन्न आउनुहोस्'।
यो समूहले विभिन्न ठाउँका स्थानीय, बुढापाका, गुठियार, पुजारी लगायत व्यक्तिलाई कथा सुनाउन आग्रह गर्छ। कथा सुनाउने भेलाबाट आएको कथाहरूलाई उनीहरू अभिलेख पनि राख्छन्।
यस संस्थाकी संस्थापक एलिना ताम्राकारले इकोजको पहिलो संस्करणमा असनका विभिन्न ठाउँको हेरिटेज वाक गराएकी थिइन्। पछि'बाखं न्यने वाबाट इकोजमा सहकार्य बढाइन्। अन्य समय कुनै निश्चित ठाउँमा गएर उनीहरू कथा सुन्छन् र सहभागीहरूलाई सुनाउँछन्। त्यहाँ भेला हुने मानिस प्रायः संस्कृतिमा चासो दिने र काम गर्नेहरू हुन्छन्। इकोजका सहभागीहरूमा भने विविधता भेटिने उनी बताउँछिन्।
'हाम्रा नियमित बाहेकका सहभागी कथा सुन्न आउँछन्। विशेषगरी, संगीत क्षेत्रमा लागेका धेरै मानिसहरू हुन्छन्,' उनले भनिन्।
यसपालिको इकोजमा थिमी र बालकुमारी मन्दिरको बाखं अर्थात् कथा सुन्न पाइने उनले बताइन्। त्यसका साथै बच्चाहरूका लागि चित्रमा रङ भर्ने कार्यक्रम पनि छ।
हेरिटेज वाक र कथा सुनाउने कार्यक्रमबाहेक यसपटकको इकोजमा क्यालिग्राफी र लिम्बू समुदायको सिरिजंगा लिपीमा लेख्ने, नक्षत्र अवलोकन, चौतारी नाटक, कवितावाचन, छलफल, नेवाः भोय् (नेवारी भोज) लगायत अन्य विविध गतिविधि छ।
'यो वर्ष सबभन्दा धेरै सहाकार्य भएको छ। सहकार्य धेरै हुनेबित्तिकै इकोज चिन्ने र हाम्रो महोत्सवमा सहभागी हुनेको संख्या बढ्छ,' भूषणले भने, 'धेरै सहकार्य हुनुको अर्को फाइदा के हो भने, मानिसलाई संगीत सुन्दा–सुन्दा वा एउटै कार्यक्रम हेर्दा–हेर्दा झ्याउ लाग्यो भने उनीहरूसँग प्रशस्त विकल्प हुन्छ।'
थिमीमा इकोजका कार्यक्रमहरू डबलीसँगै फल्चा, बहाः, बहीः, चुक (चोक) र पुखु (पोखरी) मा पनि हुने छन्। उपत्यकाका फल्चा, डबली अनि खुला ठाउँहरू कसरी पुनर्जीवित गर्ने भनेर बेलाबेला छलफल चलिरहन्छ। त्यस्तो बेला इकोज इन द भ्यालीलाई सम्झिँदा हुन्छ।
संगीत, संस्कृति र समुदायको 'फ्युजन' मा सहर कसरी गुलजार र गुञ्जायमान हुन्छ हेर्न शुक्रबार र शनिबार मध्यपुर थिमी आए पुग्छ।







सबै तस्बिर सौजन्यः इकोज इन द भ्याली