गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो समय धार्मिक कार्यक्रमहरू बढ्न थालेका छन्।
लुम्बिनीमा गत फागुन १४ गतेदेखि श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या भइरहँदा बुधबारदेखि चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरू भएको हो।
बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिपिटक पाठको शुभारम्भ गरेका हुन्।
अखिल नेपाल भिक्षु महासंघको आयोजनामा सुरू भएको त्रिपिटक पाठको उद्घाटन गर्दै मन्त्री सिंहले विश्वभर अस्थिरताको संकेत देखा परेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताए।
उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै बुद्धसँग सम्बन्धित त्रिपिटक जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाव दिए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बुद्धका उपदेशहरुलाई विश्वभर फैलाउन त्रिपिटक पाठ फलदायी हुने बताए। उनले त्रिपिटक पाठ बुद्धका शिक्षाहरुको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ ठूलो संख्यामा गर्दै जानुपर्ने बताए।
आठौं संघनायक नेपालका भिक्षु बोधिसेन महास्थविरले लुम्बिनी आउँदा आनन्द प्राप्त हुने बताए। उनले मायादेवी मन्दिरको नामको सट्टा बुद्धभूमि राख्दा त्यसले विश्वभर सन्देश जाने सुझाव दिए।
त्रिपिटक उद्घाटन समारोहमा थाई राजगुरु, अखिल नेपाल भिक्षु महासंघका सभापती भिक्षु धम्मसोभन महास्थवीर, महासचिव महासचिव भिक्षु धर्मगुप्त महास्थविर, सचिव निग्रोध महास्थविर, आइबिसिका महासचिव रिपोंछे जगछुप छोदेन, नेपालका लागि श्रीलंकाका राजदुत चमेरा रुवाङ्गी मुनासिंगे, नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, नेपालका लागि म्यानमारका राजदूत म्यूम्यून्ट माउङ, उपासक वाङमो डिक्सिले बोल्दै लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिप्रयहरुको पवित्र स्थल भएकाले त्रिपिटक पाठले बुद्धको उपदेश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
उनीहरूले लुम्बिनी शान्ति र बुद्धदर्शनको उत्पती भएको स्थान भएकोले विश्वभरका बुद्धिष्टहरुलाई लुम्बिनीमा आकर्षित गर्दै यहीँबाट शान्तिको सन्देश फैलाउन सकिने बताए। त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलंका, थाइल्याण्ड तथा म्यानमारबाट समेत बौद्ध अनुयायीहरु सहभागि भएका छन्।
त्रिपिटकलाई गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थका रुपमा लिइन्छ। अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी इशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ त्रिपिटक ग्रन्थ बनाईएको हुन्छ।
हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ भने बौद्ध धर्मको मूल ग्रन्थ पनि त्रिपिटक हो।
यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ। त्रिपिटक पाठ आगामि २५ गतेसम्म विहान साँढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा हुनेछ।