अवैध रूपमा अमेरिका बसिरहेका नेपालीहरूलाई बुधबार अमेरिकी सरकारले काठमाडौं ल्याएर छाडिदिएको छ।
बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोर्ट्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी-२३ जहाज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।
अमेरिकाले डिपोर्ट गर्दा अन्य देशहरूमा सेनाको जहाज प्रयोग गरेको थियो। भारतमा पनि केही अघि सेनाकै जहाजमा राखेर अवैध आप्रवासीहरूलाई फिर्ता ल्याएको थियो।
बुधबार नेपाल आएको जहाज भने सेनाको जहाज नभएको पनि प्रवक्ता शेर्पाले जानकारी दिए। उक्त जहाज भोलि अमेरिका फर्किने उनले बताए।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जहाजमा ८ जना नेपालीहरू रहेको जानकारी दिए।
उनीहरूलाई अध्यागमन कार्यालयको जिम्मा लगाइएको छ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थ भट्टराईले आठै जना नेपालीलाई प्रहरीको जिम्मा लगाइएको जानकारी दिए।
'हामीले हाम्रो प्रक्रिया पूरा गरिसकेपछि प्रहरीको मानव वेचबिखन ब्युरोबाट सोधपुछका लागि माग भयो। हामीले उहाँहरूकै जिम्मा लगाएका छौं,' भट्टराईले भने।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले अमेरिकाले फर्काइदिएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि झिकाइएको बताए।
'उहाँहरू कसरी त्यहाँ पुग्नुभयो, मानव बेचबिखन तथा ओसारपसारका भिक्टिम हो कि भन्ने ढंगले सामान्य सोधपुछ गर्नका लागि बोलाएका हौं,' उनले भने।
सामान्य सोधपुछपछि उनीहरूलाई छाडिने पनि एसपी कुँवरले जानकारी दिए।