२० वर्ष कैद सजाय तोकिएका एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू २४ वर्षपछि पक्राउ परेका हुन्।
साबिक हाँसिपुर गाविस र हालको राजपुर गाउँपालिका वडा नम्बर ९ घर भएका जितबहादुर नेपाली र उनकी पत्नी नमी छिमेकी जिल्ला कपिलवस्तुबाट पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बस्दै आएका उनीहरूलाई कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ बाट पक्राउ गरी दाङ ल्याएको हो।
अवैध सम्बन्धबाट छोरीको जन्म भएपछि उक्त शिशुको हत्या गरेको उनीहरूमाथि अभियोग थियो।
दाङ जिल्ला अदालतले २०५७ सालमा उनीहरूलाई जनही २० वर्ष कैदको फैसला सुनाएको थियो। त्यसयता उनीहरू फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी पवक्ता डिएसपी चक्रबहादुर शाहले धेरै वर्ष पुरानो मुद्दा भएको हुँदा उनीहरूविरूद्धको मिसिल अदालतवाट मगाएको बताए। त्यो अध्यनपछि थप तथ्य सार्वजनिक गर्ने पनि उनले बताए।
दिउँसो पक्राउ परेका दम्पत्तिबारे अध्ययनपछि विस्तृत जानकारी दिने पनि उनले बताए।
पक्राउ परेका दम्पत्तिलाई जिल्ला अदालतमा पेस गरी अदालतको आदेशले सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको छ।
यसैबीच बर्दिया प्रहरीले आगजनी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउपछि सार्वजनिक गरेको छ । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ५ का ३६ वर्षीय श्रीराम चौधरी पक्राउ परेका हुन्।
बर्दिया जिल्ला अदातलले आगजनी गरेको अभियोगमा चौधरीलाई २०७० वैशाख ५ गते १५ दिन कैद सजायको फैसला सुनाएको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए। जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार सुराकका आधारमा इलाका प्रहरी कार्यालय ढोडरीवाट खटिएको प्रहरीले चौधरीलाई घरबाटै नियन्त्रणमा लिएको हो। पक्राउ परेका चौधरीलाई अदालतमा पेस गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।