काठमाडौंमा खुकुरी चोरी आरोपमा तीन जना पक्राउ परेका छन्।
धादिङ घर भई ललितपुर महानगरपालिका-२ बस्ने २७ वर्षीय राजकुमार तामाङ, सोही वडामा बस्ने रौतहट रघुनाथपुर नगरपालिका-९ घर भएका ३३ वर्षीय कोशेख जफ्रे आलम र २३ वर्षीय लाल मोहमद देवान पक्राउ परेका हुन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो।
उनीहरूले शुक्रबार नागार्जुन नगरपालिका-४ भेषबहादुर कामीको पसलबाट १२० थान खुकुरी चोरी गरेको प्रहरीमा निवेदन आएको थियो। अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।