दाङमा सबभन्दा महंगो स्कुल सञ्चालन गर्दै आएका गुरुकुल एकेडमीका सिइओ नै अस्वाभाविक रूपमा कर वृद्धि गरेको भन्दै घोराही उपमहानगरको परिसरमा धर्ना बसेका छन्।
‘समृद्ध दाङ, हाम्रो अभियान’ नारा लेखेको ब्यानरसहित गुरूकुलका सिइओ अन्तराज घिमिरे सहितका केही व्यक्तिहरू उपमहानगरको परिसरमा कर वृद्धि फिर्ता हुनुपर्ने माग गर्दै धर्नामा बसेका हुन्।
आफूलाई सामाजिक अभियन्ता बताउने क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मज्गैंयाले थालनी गरेको अभियानमा घोराहीले अस्वाभाविक रूपमा बढाएको कर वृद्धि फिर्ता हुनुपर्ने माग सहितको धर्ना कार्यक्रममा लुम्बिनी प्रदेश विकास प्राधिकरणका पूर्वप्रमुख अन्तराज घिमिरे पनि ऐक्यबद्धता जनाउन सामेल भएका हुन्।
त्यो धर्ना कार्यक्रममा नागरिक समाज दाङका संयोजक निमबहादुर थापा पनि सहभागी छन्।
घोराही उपमहानगरपालिकाले पछिल्लो समय अस्वाभाविक रूपमा सर्वसाधारण नागरिकको ढाड सेक्ने गरी जग्गा मालपोत र व्यावसायिक कर वृद्धि गरेको हुँदा त्यो फिर्ता हुनुपर्ने मागसहित उनीहरू उपमहानगर परिसरमा धर्ना बसेका छन्। उनीहरूले बिहान ११ बजेदेखि धर्ना सुरू गरेका थिए।
यो विषयमा सबभन्दा पहिले नेपाली कांग्रेस घोराही नगरले समितिले सबभन्दा पहिला विरोध सुरू गरेको थियो।
कांग्रेस नगर सभापति तिलक रावतले एकै पटक शत प्रतिशत रूपमा गरिएको कर वृद्धि फिर्ताको माग गर्दै गत माघ २२ गते मेयर नरूलाल चौधरीलाई भेटेरै ज्ञापन पत्र बुझाएका थिए। त्यसपछि पनि कांग्रेस नगर समितिले सार्वजनिक रूपमै विरोधका कार्यक्रमहरू पनि गरेको थियो।
यो विषयमा मेयर चौधरीसँग प्रक्रिया लिने प्रयास सम्भव भएन। नेकपा एमालेको नेता समेत रहेका चौधरी काठमाडौं गएको उनको सचिवालयले बताएको छ।
मेयरको सचिवालयका अनुसार गत असारमै नगरसभाबाट पारित गरी कर बढाउने निर्णय भएको थियो। आर्थिक वर्ष सकिनै लाग्दा कर वृद्धिको विरोध गर्नु अस्वाभाविक र राजनीति मात्रै मान्न सकिने सचिवालयका एक पदाधिकारीले बताए।
कतिपयले नगर परिसरमा ‘समृद्ध दाङ, हाम्रो अभियान’ को नाममा कर वृद्धिको विरोध गर्नु आफैमा अमिल्दो भएको टिप्पणी गरेका छन्।