मोटरसाइकलको हेलमेटभित्र लुकाएर भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– २ ठउरीका २४ वर्षीय रामबहादुर नेपाली र सोही ठाउँका २१ वर्षीय रामचन्द्र थापा बर्दियामा पक्राउ परेका हुन्।
बर्दियाका प्रहरी प्रवक्ता ऋषिराम घर्ती मगरका अनुसार उनीहरू दुबै जनालाई सोमबार दिउँसो जिल्लाको बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेकपोष्ट भन्दा केही उत्तर पश्चिमको गहुँबारीबाट पक्राउ गरिएको हो।
छिमेकी देश भारतबाट नेपालतर्फ लागुऔषध बोकेर फर्किरहेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी प्रहरी चौकी कालिकाबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
खानतलासी गर्दा मोटरसाइकलको हेलमेटमा लुकाइछिपाइ राखेको अवस्थामा ५ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर बरामद भएको डिएसपी मगरले बताए।
जिल्ला अदालतले पक्राउ परेका दुबै युवकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको छ।