मंगलबार एकाबिहानै थापाथलीको मुख्य चोकनजिकै मेलम्ची खानेपानीको पाइप फुट्यो।
थापाथली चोकबाट नर्भिक अस्पतालहुँदै पूर्वतिर लाग्ने सहायक बाटोको मुख्य वितरण प्रणालीको पाइप फुटेपछि सडक, तथा निजी आवासमा पानी पस्यो। अहिले पनि जलमग्नकै अवस्था छ।
भुइँ तलामा पानी पसेपछि निजी आवासमा समस्या भएको छ। सडक अवरूद्ध नै छ। आवागमन अस्तव्यस्त बनेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलका अनुसार पाइप फुट्नको विस्तृत कारण पत्ता लागिसकेको छैन।
अहिलेसम्मको अवस्था जाँच गर्दा त्यहाँ दुई पाइपबीचको ज्वाइन्ट (जोर्ती) खुस्किएको हुनसक्ने उनले बताए।
‘मेलम्चीको मुख्य पाइपमाथि ठूलो आकारका पोलिथिन पाइपहरू पनि छन्। त्यसले गर्दा खनेर हेर्न सकिएको छैन,’ उनले सेतोपाटीसँग भने, ‘अहिलेसम्मको अवस्था हेर्दा ज्वाइन्ट टुटेको देखिएको छ।’
यसका अतिरिक्त माइतीघर र आसपासका क्षेत्रमा खानेपानी वितरण प्रणाली मर्मत पनि भइरहेको छ। त्यसको चाप पनि त्यस पाइपमा परेको हुनसक्ने उनले बताए।
केयुकेएलले काठमाडौं उपत्यकामा घरघरमा पानी पुर्याउन ‘डिआई’ अर्थात् डक्टाइल आइरन पाइप प्रयोग गरेको छ। पहिले जिआई अर्थात् ग्याल्भनाइज्ड पाइप प्रयोग गरिएको थियो।
तापक्रम घटबढ हुँदा डिआई पाइप लिकेज हुने सम्भावना बढी हुने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए।
गत माघ ३० गते बबरमहल क्षेत्रमा पनि यसै गरी मुख्य वितरण प्रणालीकै पाइप फुटेको थियो। त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्दा प्रयोग गरेको उपकरणले क्षति पुर्याएपछि पाइप फुटेको थियो।
त्यहाँ पनि पाँच सय एमएमकै ठूलो पाइप फुटेको थियो। अहिले पनि त्यही आकारको पाइप फुटेको पौडेलले जानकारी दिए।













