गोरखाको बूढीगण्डकी बगरमा पतेरो खोज्दै टिप्नेहरूको भिड लागेको छ।
धार्चे गाउँपालिकामा पर्ने माछीखोला र चुमनुब्री गाउँपालिकामा पर्ने जगतलगायत बुढीगण्डकी नदी किनारका बगरमा रहेका पतेरो स्थानीय बासिन्दाले टिपेर लगेका हुन्।
‘तीन-चार दिनअघिसम्म त बगरमा पतेरो खोज्ने र टिप्नेको भिड नै थियो, अहिले पतेरो पनि भनेजति पाइन छाड्यो होला, बगरमा मानिसहरू कम देखिएका छन्,’ सोमबार बिहान सेतोपाटीसँग कुराकानी गर्दै चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिवासका अध्यक्ष रामकुमार गुरूङले भने।
पतेरो महँगोमा बिक्री हुन्छ, स्थानीय व्यापारीमार्फत् चिनियाँ व्यापारीले किन्छन् भन्ने हल्ला चलेपछि स्थानीय बासिन्दा घर नजिककै बुढीगण्डकी बगरमा पतेरो टिप्न पुगेका थिए। पतेरो प्राय बोटविरूवामा बस्ने गर्छ। यो एकप्रकारको किरा हो।
तर वडाध्यक्ष गुरूङले भने स्थानीय बासिन्दाहरूले पतेरो किन टिपेका हुन्, बिक्री गर्ने भए कहाँ लगेर बिक्री गर्छन् जस्ता केही पनि विषयमा वडालाई जानकारी नभएको बताए। ‘प्रतिकेजी ८०० रुपैयाँमा बिक्री हुन्छ भन्ने हल्ला रहेछ,’ उनले भने, ‘स्थानीयले बगरबाट संकलन गरेको पतेरो बिक्री गरे कि गरेनन् हामीलाई थाहा छैन।’
वडाध्यक्ष गुरूङका अनुसार माछीखोलालगायत क्षेत्रमा पतेरो टिप्ने काम पहिले भएको थियो। ‘तल माछीखोलातिर पनि पतेरो टिपेका रहेछन्, सर्दै सर्दै मानिसहरू माथितिर आएका हुन्,’ उनले भने, ‘पहिले यसरी पतेरो टिपेको मलाई थाहा थिएन।’
सिर्दिवासस्थित फिलिमका सुजन गुरूङले स्थानीय बासिन्दा पतेरो खोज्न बुढीगण्डकी बगरमा डुलिरहेको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। उक्त भिडिओमा पतेरो खोजीका लागि बाक्लो संख्यामा मानिसहरू बगरमा पुगेको देखिन्छ।
बुढीगण्डकी बगरका ढुंगामुनि रहेका पतेरो स्थानीयले टिपेका हुन्। यस्तो पतेरो पहिले बगरका यी ढुंगामुनि थिए वा थिएनन् यकिन छैन। तर गत बिहीबारदेखि पतेरो टिप्नेहरूको भिड बगरमा देखिएको थियो। ‘यतिधेरै पतेरोचाहिँ पहिलो पटक बगरमा फेला परेकोजस्तो लाग्छ,’ गुरूङले भने।
स्थानीयले पतेरो टिपेको क्षेत्र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) भित्र पर्छ। बुढीगण्डकी बगरमा पतेरो खोज्ने र टिप्ने काम भइरहेकोबारे एमक्यापलाई पनि केही स्थानीयले जानकारी दिइसकेका छन्। वडा, एमक्याप र प्रहरीले पनि बुढीगण्डकी बगरबाट पतेरो संकलन नगर्न स्थानीय बासिन्दालाई आग्रह गर्दै आएका छन्।
भिडिओ: