रोल्पामा आइतबार दिउँसो होटलमा मदिरा सेवन गरिरहेका व्यक्तिको मृत्यु भएको छ।
रोल्पाको लुंग्री गाउँपालिका– ६ उपल्लो गुमचालका ३३ वर्षीय रामबहादुर बुढाथोकीको मदिरा सेवन गर्दागर्दै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
रामबहादुर सुनिलस्मृति गाउँपालिका– ४ सुलीचौरस्थित एक होटलमा दिउँसो साढे ३ बजेतिर पुगेका थिए। होटल सञ्चालक र रामबहादुरबीच चिनचान थिएन। होटल सञ्चालकसँग उनले मदिरा मागे र पिउन थाले।
त्यही क्रममा साढे ५ बजेतिर होटल सञ्चालकले रामबहादुरलाई कुर्सीबाट भुइँमा लडेको अवस्थामा देखेकी थिइन्। उनले लडेका रामबहादुरलाई उठाउन प्रयास गर्दा गरेकी थिइन्। ६ बजेतिर उनले प्रहरीलाई खबर गरिन्।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी पुगेको थियो। मानिस अचेत अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अरूण तामाङको नेतृत्वमा सात जनाको टोली घटनास्थलमा पुगेको थियो। टोलीले अनुसन्धान गर्दा उनको मृत्यु भइसकेको पाएको थियो। त्यसपछि नै रामबहादुरको पहिचान पनि खुलेको थियो।
रामबहादुरको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।