तुलसीपुरमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।
मृतक सुर्खेतको लेखबेसी नगरपालिका– १० की ४० वर्षीया सीता पोख्रेल रहेको इलाका प्रहरी कार्यालय तुलसपुरका प्रहरी निरीक्षक बिनोद खत्रीले जानकारी दिए।
सीताका छोरा हेमराज पोख्रेलले इप्रकामा फोन सम्पर्क गरी सनाखत गरेको प्रहरी निरीक्षक खत्रीले बताए।
‘छोरा हेमराजले मृतक आफ्नो आमा भएको बताउनु भएको छ,’ प्रहरी निरीक्षक खत्रीले भने, ‘उहाँहरू आइतबार तुलसीपुर आइपुग्ने कुरा गर्नु भएको छ।’
मृतक सीता कहिले घरबाट हिँडेकी थिइन् र कसरी दाङ आइपुगिन् भन्नेबारे घर परिवार आएपछि खुल्ने प्रहरीले जनाएको छ।
‘छोरा हेमराजले आमाको बारेमा सबै कुरा तुलसीपुर आएरै गर्ने बताउनु भएको छ,’ प्रहरी निरीक्षक खत्रीले भने।
तुलसीपुर उपमहानगरपालिका– ३ राम्रीको भित्री सडक खण्डमा एक महिला लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले यसअघि मृतकको साथमा मेडिकल कलेजको कार्ड र बैंकको डेबिट कार्ड फेला पारेको छ।
मेडिकल कलेजको पर्चामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ उल्लेख रहेको थियो। नाम सीता पोख्रेल लेखिएको पाइएको थियो।