धनुषामा महिलाको हत्यापछि घरभित्रै गाडेको अवस्थामा शनिबार दिउँसो प्रहरीले उत्खनन गरी शव निकालेको छ।
जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाकी २० वर्षीया अञ्जलीदेवी यादवको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा प्रहरीले उत्खनन गरी निकालेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार अञ्जलीका श्रीमान हरेराम यादव फरार छन्।
उनले श्रीमतीको हत्या गरी घरभित्रै गाडेर १० महिनाकी छोरी साथमै लिएर फरार रहेको हुन सक्ने आशंका भइरहेको एसपी तिवारीले सेतोपाटीलाई बताए।
‘हत्या गरिएकी अञ्जली गर्भवती थिइन् भन्ने कुरा स्थानीयले गरेका छन्,’ एसपी तिवारीले भने, ‘त्यो कुरा भने पोष्टमर्टमपछि मात्रै यकिनका साथ भन्न मिल्ने छ।’
जिल्ला प्रहरी प्रवक्ता डिएसपी वरूणबहादुर सिंहका अनुसार स्थानीयको सूचनाको आधारमा प्रहरी शनिबार बिहान अञ्जलीको ताला लगाई बन्द गरिएको घरमा पुगेको थियो।
स्थानीयले घरबाट गन्ध आएको हुँदा हरेरामले श्रीमतीको हत्या गरी घरभित्रै गाडेको हुन सक्ने भन्ने प्रहरीलाई खबर गरेको हुँदा प्रहरी त्यहाँ पुगेको थियो।
प्रहरी गई घरको ढोका खोली हेर्दा घर भित्र दुगन्ध फैलिएको अवस्था खुलेपछि थप अनुसन्धान थालेको थियो।
घरकै देवता राखिएको पूजाकोठामा खनेको तथा शंकास्पद देखिएपछि केही चिज गाडेको हुन सक्ने सम्भावनाका साथ प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा खन्न सुरू गरेको थियो।
बिहान सवा ११ बजेदेखि खन्न सुरू गरेको प्रहरीले दिउँसो १ बजे कुहिएको अवस्थामा अञ्जलीको शव पूजाकोठामा गाडेको अवस्थामा निकालेको डिएसपी सिंहले बताए।
प्रहरीका अनुसार आठ दिन पहिले नै अञ्जलीको हत्या गरी हरेरामले पूजाकोठाभित्रै गाडेको आशंका भइरहेको छ।
‘शव डिकम्पोज भइसकेको अवस्थाले गर्दा अञ्जलीको हत्याबारे अहिलै स्पष्ट भन्न हतार हुन्छ,’ डिएसपी सिंहले भने, ‘हामीले शव निकालेर पोष्टमर्टमका लागि अस्पताल पठाइसकेको हुँदा रिपोर्ट आएपछि कसरी हत्या भएको थियो भन्ने सजिलो होला।’
हरेरामका छिमेकीका अनुसार गत शनिबार अञ्जलीसँग उनको झगडा भएको थियो।
सोही दिन हरेरामले आफ्नी श्रीमती अञ्जली घर छोडेर भागेर गएको छिमेकीहरूलाई बताएका थिए। त्यसको तीन दिनपछि हरेराम पनि आफू दश वर्षीया छोरी लगेर फरार भएको स्थानीयले प्रहरी समक्ष बयान गरेका छन्।
हरेराम छोरी लगेर भाग्दा घरमा ताला लगाएका थिए। तर, घरको पूजाकोठा भित्रै गाडेको अञ्जलीको शवबाट छरछिमेकका दुर्गन्ध फैलिएपछि स्थानीयले हरेरामले श्रीमतीको हत्या गरी फरार भएको हुन सक्ने आशंकाका साथ प्रहरीलाई खबर गरेका थिए।
प्रहरी अधिकारीहरूले श्रीमान हरेरामले श्रीमती अञ्जलीको हत्या गरी घरभित्रै पूजाकोठामा गाडेर आफू नाबालिका छोरी लगेर फरार भएको आशंका गरेको छ।
फरार रहेका हरेराम र नाबालिका छोरीको खोजीमा प्रहरी सक्रिय साथ लाग्ने प्रहरी अधिकारीले बताएका छन्।