झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक गाडी सिन्धुलीमा दुर्घटना भएको छ।
शनिबार दिउँसो पौने १ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मुलकोटमा झापाबाट काठमाडौं आउँदै गरेको मप्र.०२-००१ ज ००६३ नम्बरको इभी गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी ७ जना घाइते भएको सिन्धुलीका निमित्त प्रवक्ता इन्स्पेक्टर बाबुराम कार्कीले जानकारी दिए। उनका अनुसार गाडीमा चालकसहित ९ जना सवार थिए।
दुर्घटनापछि दुई जनालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि घर फर्किएका छन् भने ७ जनालाई थप उपचारका लागि धुलिखेल पठाइएको छ।
दुर्घटनामा घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तीलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन् ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।