तुलसीपुर उपमहानगरपालिका–३ राम्रीको भित्री सडकमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। स्थानीयले महिला सडकमा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय तुलसपुरका प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलिसकेको छैन।
त्यस्तै उनको मृत्युको कारण पनि खुलिसकेको छैन।
मृतक महिलाको शरिरमा कुनै चोट पटक वा घाउ खत देखिएको छैन। पोष्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण भन्न सहज हुने प्रहरी निरीक्षक खत्रीले बताए।
प्रहरी निरीक्षक खत्रीका अनुसार मृतकको साथमा औषधिसहितको पर्चा पनि फेला परेको छ।
त्यो पर्चामा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका –१२ उल्लेख छ। पर्चामा नाम सीतादेवी पोख्रेल लेखिएको छ। मृतकको साथबाट बैंकको डेबिड कार्डपनि फेला परेको छ।
प्रहरी निरीक्षक खत्रीले पर्चाको ठेगाना अनुसार उनका आफन्तहरुलाई सम्पर्कको प्रयास गरिरहेको बताए।
‘हामीले पर्चामा उल्लेख भएको नाम ठेगानामा सम्पर्क गर्ने प्रयास गरिरहेका छौं,' उनले भने।
प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको छ।