शुक्रबार एकाबिहानै काठमाडौं उपत्यकासहित कोशी, मधेस प्रदेशसम्म भूकम्पको कम्पन महसुस भयो। भूकम्पको कडा कम्पनका कारण मानिसहरू आत्तिएर सडकमासमेत निस्किएका थिए।
बिहान २ बजेर ५१ मिनेटमा पूर्वोत्तर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ भैरवकुण्ड केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पको केन्द्रविन्दु आसपास कडा धक्का महसुस गरिएको गाउँपालिका अध्यक्ष पाशाङनुर्पु शेर्पाले जानकारी दिए। उनका अनुसार गाउँपालिकाको लिस्ती, तातोपानी, फुल्पिङकट्टि, मार्मिङतिरका मानिसहरू पनि घरबाहिर निस्किएका थिए।
भूकम्पबाट भौतिक क्षति भने भएको छैन। अहिले जनजीवन सामान्य छ। गाउँपालिकाकै वडा नम्बर ३ तुसारेनजिकै दुगुनागढीको भीरमा सुख्खा पहिरो खसेको उनले बताए।
त्यहाँ बर्खायाममा पनि पहिरो गइरहने र शुक्रबारको भूकम्पले केही ढुंगा खसेको जानकारी आएको उनले बताए।
‘हामीले भूकम्पलगत्तै क्षतिबारे बुझेका थियौं। यहाँका सुरक्षाकर्मीहरू पनि चनाखो भएर क्षतिबारे बुझ्नुभएको थियो। बिहान ७ बजेसम्म क्षतिको कुनै जानकारी आएको छैन,’ उनले भने।
विकट ग्रामीण इलाका भएकाले माथिल्लो भेगमा जमिनमा चिरा पर्ने, पहिरो खसेको हुनसक्ने उनले बताए। तर घरलगायत संरचनामा भने क्षति नभएको उनको भनाइ छ।