नुवाकोट ककनी गाउँपालिकाकी २४ वर्षीया सिमा (नाम परिवर्तन) पढाइसँगै जागिरका लागि काठमाडौंमा बस्दै आएकी थिइन्।
उनी प्रेमीसँग लिभिङ टुगेदरमा बस्छिन्। उनको प्राय: महिनावारी गडबड भइरहन्छ। त्यसैले एक दुई महिना ढिला हुँदा कहिले चिन्ता लिइनन्।
तीन महिनासम्म पनि महिनावारी नभएपछि उनले नजिककै मेडिकलबाट प्रेग्नेन्सी किट ल्याएर चेक गरिन्। त्यसमा पोजेटिभ देखियो।
उनले यही कुरा आफ्ना प्रेमीलाई भनिन्। उनीहरू दुवै जना अहिले विवाह र बच्चाका लागि तयार भएनन्। त्यसपछि गर्भपतन गराउने योजनाले मंगलबार बिहान (फागुन १३) गते थापाथली प्रसूति गृहको सुरक्षित गर्भपतन सेवामा आइपुगेका थिए।
हामीले उनलाई मंगलबार बिहान त्यहीँ भेट्यौं।
'हाम्रो प्रेमसम्बन्धको बारेमा परिवारलाई थाहा छ,' सीमाले भनिन्, 'अहिले मेरो स्नातक नसकिएकाले विवाह नगरेका हौं, ढिलाचाँडो बिहे गर्छौं। तर अहिले बच्चा चाहिएको छैन।'
उनले बच्चा रहेको कुरा भने आफ्नो परिवारलाई सुनाउन सकेकी थिइनन्। उनका प्रेमी पनि स्नातक अध्ययन गर्दैछन्।
आफूलाई नै खर्च पुर्याउन धौ-धौ भइहेको छ। साथै अहिले बच्चाबारे केही योजना नबनेकाले पनि गर्भपतन गराउन बाध्य भएको उनी बताउँछिन्।
निजी अस्पतालमा पनि गर्भपतन गराउन सकिन्छ। तर सरकारी अस्पतालमा गराउँदा कम शुल्क लाग्ने र सुरक्षित हुने भएकाले आएको उनको भनाइ छ।
उनीहरू आफ्नो पालो पर्खिएर सुरक्षित गर्भपतनको कक्षमा बसिरहेका थिए।
उनीहरूकै नजिकै सिटमा थिइन्, ३० वर्षीया रिमा (नाम परिवर्तन) पनि २ महिनाको बच्चा बोकेर एक्लै प्रसूति गृह थापाथली आइपुगेकी हुन्।
उनको दुई वर्षको एक सन्तान छ। उनले पहिलोपटक अपरेसन (सिजेरियन डेलिभरी) गरेकी थिइन्। त्यसकारण यति छिट्टै दोस्रो सन्तान नचाहिएकाले गर्भपतन गराउन आएको रिमाले सेतोपाटीलाई जानकारी दिइन्।
'अस्पतालमा गएर एउटा औषधि किनेर खाँदा पनि हुन्छ भन्थेँ। तर सुरक्षित ठाउँमा गरूम् भनेर अस्पताल आएकी हुँ,' उनले भनिन्, 'श्रीमान व्यस्त भएकाले बहिनीलाई लिएर आएकी छु।'
उनले आफूनजिकै उभिएर मोबाइल चलाइरहेकी युवतीलाई देखाउँदै थपिन्- '७/८ हप्तामात्र भएकाले गाह्रो हुन्न कि भन्ने लागेर बुझ्न आएकी हुँ।'
उनको घर बुढानिलकण्ठमा छ।
उनी पहिला बैंकमा काम गर्थिन्। बच्चा जन्मिएदेखि सन्तान हेरिदिने मान्छे नभएकाले जागिरमा फर्किन पाएकी छैनन्। उनका श्रीमान पनि बैंकर नै हुन्।
'दोस्रो सन्तान चाहिएको छ, तर एकैपल्ट हुर्काउन सकिँदैन,' उनले भनिन्,'पहिलो सन्तान चार/पाँच वर्षको भएपछि मात्र दोस्रो सन्तान जन्माउने योजना छ। त्यसैले अहिले यो गर्भ फाल्न आएको हुँ।'
दुई महिनाको गर्भका लागि सामान्य मेडिकलबाट औषधि किनेर खाँदा हुन्छ भनेका थिए। तर अस्पतालमा गर्दा सुरक्षित भइन्छ भनेर आएको उनी बताउँछिन्।
त्यस्तै, सिन्धुली घर भई कोटेश्वर बस्ने २३ वर्षीया सीता (नाम परिवर्तन) को डेढ महिनाको गर्भ थियो। विवाह गरेको एक वर्ष पनि पूरा नभएकाले उनी अहिले बच्चा जन्माउन चहान्न थिइन्।
त्यसैले नजिककै मेडिकल पसलबाट एक औषधि किनेर खाइन्। औषधि खाएको एक सातासम्म पनि हल्का रगत बगेपछि अस्पताल आएको उनी बताउँछिन्।
'महिनावारी भएझै रगत बगिराको भएर अस्पताल आइपुगेँ,' उनले भनिन्, 'चेकअप हुँदै छ।'
उनी बिहान १० बज्दै गर्दा अस्पताल आइपुगेकी थिइन्। ३/४ हप्ताको मात्र गर्भ भएकाले आफै औषधि किनेर खाएको उनको भनाइ छ।
धेरैजसो गर्भवती महिलाले प्रेग्नेन्सी किटमा पोजेटिभ देखाउनसाथ मेडिकलको औषधि किनेर खान्छन्। त्यसले गर्दा महिलाको स्वास्थमा असर पुग्ने सुरक्षित गर्भपतन सेवाकी इन्चार्ज सगुन थापाले जानकारी दिइन्।
उनका अनुसार प्रग्नेन्सी किटमा पोजेटिभ देख्नसाथ बच्चाको एउटा आकार बनिसकेको हुँदैन्। कम्तीमा ६ हप्तापछि मात्र बच्चाले एउटा रूप लिएको हुन्छ। त्यसपछि मात्र गर्भपतनको औषधि खानुपर्ने हुन्छ। तर कतिपय मानिसहरूले पोजेटिभ देखिनसाथ खान्छन्।
'यसरी बच्चा नबसी खाँदा महिलाको प्रजनन स्वास्थ्यमा असर पुग्न सक्छ,' उनले भनिन्, 'कहिलेकाहीँ बच्चा पाठेघर बाहिर पनि बसेको हुन्छ। त्यस्तो अवस्थामा चेक नगरी औषधि खाँदा बच्चा गएर भनेर बस्छन्। तर बच्चा हुर्किरहेको हुनसक्छ।'
उनले थपिन्- 'पाठेघरभन्दा बाहिर बच्चा बस्नु आमाको लागि खतरा हो। त्यसैले गर्भचेक नगरी मेडिकलका औषधि खानु हुँदैन।'
गर्भपतनको औषधि खुलेआम बिक्री हुन्छ। त्यसले गर्दा अविवाहित महिला तथा विवाहित पनि अस्पताल आउँदैनन्। मेडिकलको औषधिले अत्यधिक रगत बगेपछि वा समस्या भएपछि मात्र आउँछन्। उनीहरूलाई गर्भपतनबारे सचेत नभएकाले यसबारे अझै शिक्षित गराउनु पर्ने थापाको भनाइ छ।
गर्भपतन सरकारले तालिम दिएको र स्वास्थ्य संस्थाबाट मान्यता प्राप्त संस्थाबाट मात्र गर्भपतन गराउनुपर्छ भन्नेकुरा बुझाउनु जरूरी छ।
सुरक्षित गर्भपतनका दुई प्रक्रिया छन्।
सर्जिकल र मेडिकल हुन्। यसमा कुनै पनि गर्भवती महिलाको स्वास्थ्य अवस्था र स्वइच्छाअनुसार सुरक्षित गर्भपतन गराउन सकिन्छ।
१८ वर्षभन्दा बढी उमेर समूहका कुनै पनि महिला अस्पताल आएर सुरक्षित गर्भपतन गराउन सक्छन्। उनीहरूले ५० रूपैयाँ तिरेर नाम दर्ता गराइन्छ। नाम दर्ता भएसँगै उनीहरूको स्वास्थ्य परीक्षण हुन्छ। उनीहरूले भनेअनुसारको बच्चा कति हप्ताको छ भनेर हेरिन्छ।
'यौनीमा औंला हेरेर बच्चा कति हप्ताको भयो भनेर थाहा पाइन्छ। यद्यपि त्यसरी थाहा भएन भने स्वास्थ्य परीक्षण गर्छौं,' उनले भनिन्, 'स्वास्थ्य अवस्था हेरेर गर्भपतन गराउँछौं।'
महिलाको स्वास्थ्य दुवै पद्धतिबाट गर्दा हुनेभएमा स्वयम व्यक्तिको इच्छा अनुसार हुन्छ। यसमा प्राय:ले मेडिकलबाट गर्भपतन गराउँछन्। दुवैको प्रभावकारिता भने उस्तै हुने इन्चार्ज थापा बताउँछिन्।
मेडिकलबाट गराउनका लागि डिडिएले मान्यता दिएको प्रेग्नो किट खुवाउने गरिएको छ। त्यसमा ५ चक्की हुन्छन्। त्यसका भएको सबभन्दा ठूलोचक्की सुरूमा खुवाइन्छ। उक्त चक्की खाएको चौबिस घन्टामा अर्को ससानो ४ वटा चक्की खानुपर्छ।
यी सानो चारवटा चक्की एकैपल्ट खानुपर्छ। महिलाले गालाको दायाँ-बायाँ दुई/दुई राखेर आधा घन्टासम्म चुसेर खानुपर्छ। जिब्रोमुनि चारवटै चक्की राखेर चुसेर बसेर खान सकिने उनी बताउँछिन्।
यदि औषधि खाँदा वान्ता हुन्छ भने यौनीमा राख्न पनि मिल्छ। यौनीमा राख्दा पनि चारैवटा चक्की एकैपल्ट राख्नुपर्छ। यौनीमा राख्दा पनि प्रभावकारिता उस्तै हुन्छ। तर त्यसका लागि कसरी राख्नुपर्छ भनेर सिकाइने गरेको छ।
'यौनीमा राख्न चाहने तर आफूलाई राख्न नआउनेलाई अस्पताल आएर पनि राख्न मिल्ने प्रावधान रहेको छ,' उनले भनिन्, 'धेरैजसोले मुखमा राखेरै खान्छन्।'
यसरी औषधि खाएको ३ देखि ६ घन्टापछि रगत बग्न थाल्छ। तीन/चार हप्ताको छ भने त्यही अनुसारको रगत बग्छ। यदि १०/११ हप्ताको छ भने त्यसलाई टुक्रा परेर रगत बग्न समय लाग्छ। न्यूनतम एक हप्तासम्म रगत बग्छ। धेरैमा १५ दिनसम्म रगत जाने उनको भनाइ छ।
कोही-कोहीको २१ दिनसम्म पनि हल्का रगत देखापर्छ। त्योभन्दा बढी समय रगत बग्यो वा धेरै रगत बग्यो भने तत्काल अस्पताल भर्ना हुनुपर्ने उनी बताउँछिन्।
सर्जिकल गर्दा भने यौनीबाट औजार वा भ्याकुमले तान्ने हो। त्यस्तो गर्दा दुई/तीन घन्टा धेरै पीडा हुन्छ। तर एक हप्ताभन्दा बढी रगत बग्दैन। यसरी गर्दा औजारहरूले पाठेघरमा प्वाल पार्ने वा चोटपटक लाग्ने डर हुने उनले बताइन्।
यी दुवै पद्धति सुरक्षित गर्भपतन हो। यसका लागि १८ वर्षभन्दा माथिका उमेर समूहका महिलाहरूले गर्न सक्छन्। १२ हप्ता सम्मको गर्भपतन गराउका लागि कुनै पनि कारणहरू देखाउनुपर्दैन्। तर त्योभन्दा माथि २८ हप्तासम्मको गर्भपतन गराउन भने कारण चाहिन्छ।
बच्चा जन्माउँदा आमाको स्वास्थ्यमा समस्या आउने, एचआइभी पोजेटिभ, बलात्कारको मुद्दा, हाडनाता करणीलगायतको केसमा २८ हप्तासम्म सुरक्षित गर्भपतन गराउन सकिने कानुनी प्रावधान छ। त्यही अनुसार गर्भपतन गराउने उनी बताउँछिन्।
सुरक्षित गर्भपतन सेवाको कक्षमा मात्र मासिक दुई देखि तीनसय जना आउँछन्। प्रसूतिमा नि:शुल्क सेवा दिने भएरपनि आउँछ। निजी मेडिकलबाट औषधि खाएर जोखिममा परेपछि इमर्जेन्सीमा देशभरबाट प्रसूति गृह आउने उनले सेतोपाटीलाई जानकारी दिइन्।
'अन्य मेडिकलमा औषधि खाएर जोखिम बढेपछि मात्र आउने महिनाम ३०/३५ वटा केस हुन्छ,' उनले भनिन्, 'अवैध गर्भपतन गराउने र औषधि बेच्नेलाई कारबाही नगरिएकाले पनि जताततै बिक्री भइरहेको छ।'
नेपालले प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न भनी सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिएको हो। गर्भपतन गराउन पाउने महिलाको अधिकार हो। तर त्योसँगै आफ्नो स्वास्थ्यबारे पनि ध्यान दिनुपर्ने उनको बुझाइ छ।
अझै पनि महिलाहरूले गर्भपतनबारे गम्भीर रूपमा नलिएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारीले जानकारी दिए।
'गर्भपतन सामान्य रूपमा लिन थालेका छन्। जति सामान्य सोचिरहेका छौं। त्यति नै जटिल छ,' निर्देशक अधिकारीले भने, 'ससाना गल्तीले ठूलो स्वास्थ्य समस्या ल्याउन सक्छ।'
उनका अनुसार प्रेग्नेसी पोजेटिभ देखाउनसाथ औषधि खाने गल्ती गर्छन्। साथै मुटु तथा दम रोगी भएका तथा गम्भीर रोग लागेकाहरूले गर्भपतनको औषधि सेवन गर्न हुँदैन।