मुगुको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा आगलागी भएको छ।
छायानाथ रारा नगरपालिका-९ रारा तालनजिक रहेको डाँफे होटलमा आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी इन्स्पेक्टर अच्युतराज आचार्यले जानकारी दिए।
ढुंगामाटोले बनेको र जस्तापाताले छाएको दुई तले घर र बाँकी काठले बनेको र जस्ताले छाएको चार वटा टहरा जलेर नष्ट भएको उनले बताए।
आगलागी गएराति १ बजेतिर भएको थियो। सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर ३:५५ बजे आगलागी पूर्ण नियन्त्रणमा लिएका थिए।
होटलमा रहेका पाहुनाहरू आगलागी भएको थाहा पाएपछि होटलबाट बाहिरिएका थिए भने केहीलाई उद्धार गरिएको थियो। उनीहरू नजिकै रहेका अरू होटलहरूमा राखिएको इन्स्पेक्टर आचार्यले जानकारी दिए।
मुगुका सिडिओ र प्रहरी प्रमुख घटनास्थलतर्फ प्रस्थान गरेको उनले बताए।
होटल पूर्वसांसद गोपाल बमको हो।