बुधबार पर्ने शिवरात्रीमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा साढे ३ हजार प्रहरी परिचालन हुने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको नेतृत्वमा प्रहरी परिचालन हुन लागेको हो।
उनका अनुसार प्रहरीमात्रै ३ हजार ५११ जना खटिने भएका हुन्। परिसरकै मात्र १३०७ जना र हेडक्वार्टरमार्फत २२०४ जना खटिनेछन्।
यसबाहेक सुरक्षा कायम गर्नका लागि ड्रोन, बडी क्यामेरा लगायतको पनि प्रयोग गरिने एसपी बोहोराले बताए।
अवाञ्छित गतिविधिहरू समेत हुनसक्ने भन्दै प्रहरीले सादा पोशाकमा पनि प्रहरी खटाउने भएको छ। ४० जना प्रहरी सादा पोशाकमा खटिनेछन्।
तीन वटा सिफ्टमा विभाजन गरी एउटा सिफ्टमा १०२४ जना रहनेगरी व्यवस्थापन गरिएको छ।
प्रहरीबाहेक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि करिब ९ सय ट्राफिक प्रहरी खटाउने योजना सार्वजनिक गरेको छ।
त्यस्तै सशस्त्र प्रहरी बलले पनि १३ सय प्रहरी खटाउने जानकारी दिएको छ।