अछाममा १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ।
बिरामी भएर अस्पताल पुर्याइएको बालिकाको पेटमा गर्भ रहेको पाइएपछि उनीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार बालिकामाथि ४/५ महिना अघि नै बलात्कार भएको खुलेपछि उनीहरूका आफन्तले फागुन ४ गते जाहेरी दिएका हुन्।
'बालिकाको पेट फुल्दै गएपछि उपचारका लागि परिवारले अस्पताल गएका रहेछन्। चेक जाँचपछि गर्भवती रहेको र उनीमाथि बलात्कार भएको घटना खुलेको हो,' डिएसपी भण्डारीले भने।
चार/पाँच महिनाअघि पीडित बालिकाको परिवार नै भारतमा बस्ने गरेको पनि डिएसपी भण्डारीले जानकारी दिए। त्यति नै बेला बालिकामाथि बलात्कार भएको बताइएको छ।
उनीहरू ४/ ५ महिनाअघिमात्र नेपाल फर्किएका थिए। त्यसैले बालिकामाथि भारतमै आफन्तले बलात्कार गरेको भनेर फागुन ४ गते बालिकाको परिवारले प्रहरीमा जाहेरी दिएका छन्।
घटनास्थल भारतमा भएकाले आरोपित व्यक्तिलाई पक्राउ गर्न भारत प्रहरीसँग समन्वयन भइरहेको डिएसपी भण्डारीले जानकारी दिए। बालिकालाई भने उपचारका लागि धनगढी पठाइएको उनले बताए।