रुपन्देहीको सैनामैनामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै नवीन कार्यक्रम सुरु गरेको छ। विद्यार्थीलाई आत्मनिर्भर र व्यवसायिक रुपमा सक्षम बनाउने उद्देश्यले लोक भजन र पञ्चेबाजाको तालिम दिंदै आवश्यक उपकरण समेत उपलव्ध गराएको हो।
पहिलो चरणमा भजन समूह र पञ्चेबाजा समूह तयार पारेर व्यवसायिक रुपमै खटाउन उपकरण समेत उपलव्ध गराइएको छ। यसरी तालिम र उपकरण पाएका विद्यार्थीको समूहले स्कूल समयका अतिरिक्त व्यवसायिक रुपमै भजन गाउने र पञ्चेबाजा बजाउन सक्नेछन् भने स्कुल तहपछि पेसाकै रुपमा अपनाउन पनि सक्नेगरी अवधारणा बनाइएको विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले बताए।
विद्यालयले पहिलो चरणमा आन्तरिक स्रोतबाट दुई लाख रुपैयाँ लगानी गरेर बाजा खरिद गरी विषयविज्ञका शिक्षक र प्रशिक्षक मार्फत विशेष तालिम उपलव्ध गराएको पुरीले बताए।
´हामीले विद्यार्थीलाई सांस्कृतिक विधामा दक्ष बनाउँदै उनीहरूको आत्मनिर्भरता बढाउने प्रयास गर्दैछौ। यस कार्यक्रमले उनीहरूलाई भविष्यमा कडा प्रतिस्पर्धा भित्र आफ्नो स्थायित्व कायम राख्न मद्दत पुर्याउनेछ,’ पुरीले भने।
ढोलक, टेम्को, सनाई, दमाहा, कर्नाल, नर्सिङ, झ्याली, खैजडी, मादल, मजुरालगायतका वाद्यवादनका सामग्रीहरु विद्यार्थीका तालिमप्राप्त समूहलाई उपलव्ध गराइएको छ।
पहिलो चरणमा ३० जना विद्यार्थीलाई भजन र पञ्चेबाजा बजाउने तालिम उपलव्ध गराइएको कार्यक्रम संयोजक तथा विषय शिक्षक सुष्मा सिनालले जानकारी दिए। विद्यार्थीहरूलाई परम्परागत संगीतको सीप सिक्नका साथै, आवश्यक सामग्री पनि प्रदान गरी अब्बल र व्यवासायिक समूह बनाउने कोशिस अनुरुप नयाँ कार्यक्रम सुरु गरिएको संयोजक सिनालले बताए।
यसबाट विद्यार्थीहरूले स्कुल समयको अतिरिक्त आफ्नो सीपलाई व्यवसायिक रुपमै प्रयोग गर्न सक्नेछन्। तालिमका माध्यमबाट विद्यार्थीहरूलाई केवल परम्परागत सांस्कृतिक विधा सिकाइने मात्र नभई उनीहरूलाई वाद्यवादनका सामग्री पनि उपलब्ध गराइने छ। यसले विद्यार्थीहरूलाई स्कुलको समयबाहेक आफ्नो सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्ने अवसर प्रदान गर्नेछ।
प्रधानाध्यापक पुरीकाअनुसार कक्षा ७ देखि माथिका विद्यार्थीलाई रुची, परम्परागत पेसामा लगाव र अभिरुचीका आधारमा यस कार्यक्रमका लागि छनौट गरिएको हो।
यो कार्यक्रम विद्यार्थीहरूको सिर्जनात्मकता र परम्परागत कला र संस्कृतिमा रुची वृद्धिका लागि महत्वपूर्ण कदम रहेको यस क्षेत्रका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले प्रशंसा गरे।
उनले प्रदेश सरकारमार्फत पनि यसप्रकारका नौला र अनुकरणीय कार्यक्रममा आवश्यक सहयोग तथा सहकार्यको नीति ल्याउन लगाइने बताउँदै शिक्षालाई सीप, रुची र क्षमतासँग जोडेर व्यवहारिक बनाउनु नै अहिलेको आवश्यकता रहेकोमा जोड दिए।
विद्यालयको ५१ औं वार्षिकोत्सव समारोहका अवसरमा व्यवसायिक रुपमै तालिम लिएका विद्यार्थीहरुले लोक भजन र पञ्चेबाजा बजाएर नृत्य समेत प्रदर्शन गरेका थिए। सैनामैना नमुना माविले विद्यार्थीलाई आत्मनिर्भरतामा उत्प्रेरित गर्नेगरी नौलो र उदाहरणीय कार्यक्रम सुरु गरेको भन्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले नगरपालिकाबाट पनि आवश्यक सहयोग र सहकार्य हुने प्रतिवद्धता जनाए।
यो विद्यालय अहिले रुपन्देही जिल्लामा एक अव्बल सामुदायिक विद्यालयको रूपमा परिचित छ, जहाँ करिब २,७०० विद्यार्थी अध्ययनरत छन्। यो विद्यालयले नगरमै पहिलो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आइएसओ सर्टिफिकेट’ प्राप्त गरेको छ।
यहाँ विज्ञान, व्यवस्थापन, र हस्पिटालिटी म्यानेजमेन्ट जस्ता प्रमुख शैक्षिक कार्यक्रम पनि सञ्चालन भइरहेको र विद्यार्थीको चाप अनुसारका कक्षाकोठाको अभाव रेहेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले स्थानीय, प्रदेश र संघीय गरी तीनै तहमा आवश्यक सहयोगका लागि प्रस्तावना पेस भएको बताए।
सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको यो पहलले विद्यार्थीहरूलाई केवल अध्ययनमा मात्र नभइ, तर परम्परागत कला र व्यवसायिक सीपमा पनि दक्ष बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने यसक्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक अगुवा, सामाजिक संघसंस्थाका प्रतिनिधि र अभिभावकहरुले पनि प्रसंशा गरेका छन्।
५१ औ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा विद्यार्थीले कलात्मक प्रस्तुति प्रदर्शन गरेका थिए। विद्यालयका शिक्षकहरूको निरन्तर प्रयास र सहकार्यले विद्यालयलाई नयाँ पंक्ति र आत्मनिर्भरता सँग जोड्ने नयाँ दिशा दिने विद्यालयका सल्लाहकार समितिका संयोजक खुशीराम चौधरीको भनाइ छ।
नगरपालिका शिक्षा विकास समितिकी प्रमुख राधा बञ्जाडेले विद्यालयले सुरु गरेको यस कार्यक्रमले परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आत्मनिर्भर बनाउने प्रेरणा दिने बताइन्।
´लोक भजन र पञ्चेबाजालाई व्यवसायिक बनाउने प्रक्रिया भनेको केवल परम्परागत कला विधाको बचाउ मात्र होइन, यसको माध्यमबाट आर्थिक अवसर र सांस्कृतिक परम्परालाई जीवित राख्ने चुनौतीको सामना गर्नु पनि हो, उनले भनिन्।