इसराइलको राजधानीमा तीन वटा बसमा विस्फोट भएको छ।
बिहीबार राति तेल अविभको दक्षिणी सहर बटयाममा सडकमा पार्क गरी राखिएका तीन वटा बसमा विस्फोट भएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। विस्फोट भएका तीन वटा बस छुट्टाछुट्टै ठाउँमा पार्क गरी राखिएको थियो।
बटयामका मेयर त्ज्विका ब्रोटले विज्ञप्ति जारी गर्दै पार्क गरी राखिएको बसहरूमा विस्फोट भएकाले मानवीय क्षति नभएको बताएका छन्।
उनले नजिकैको अर्को सहर होलोनमा पनि विस्फोट नभएका बमहरू भेटिएको बताएका छन्। विस्फोटको घटना र अन्यो ठाउँहरुमा पनि बम भेटिएपछि तेल अविभमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
विस्फोट नभएका बमहरू इसराइली सेनाले डिस्पोज गरिसकेको छ।
डान बस कम्पनीका डाइरेक्टर ओफिर कर्नीले बिहीबार राति बसको अन्तिम सिटम बसेका व्यक्तिको गतिविधि शंकास्पद रहेको बताएका छन्। ती व्यक्तिले आफूले बोकेको झोला बसमै छाडेको र बसका चालकलाई पनि सतर्क गराएको भनेर इसराइली मिडियाहरूसँग बताएका छन्।
ब्रोटले नगरभित्र सुरक्षा गस्ती बढाइएको बताए।
इसराइली अधिकारीहरूले उक्त विस्फोटको घटनालाई आतंकवादी हमला हुनसक्ने भनेर अनुसन्धान गरिरहेको छ। विस्फोटको घटनापछि इजरायली अधिकारीहरूले देशभरका सबै बस र रेलहरू केही समय बन्द गरेको न्युयोर्क टाइम्सले लेखेको छ।
इसराइलका रक्षामन्त्री इसराइल कात्जले वेस्ट ब्यांकका शरणार्थी शिविरहरूमा सक्रियता बढाउन आइडिएफलाई निर्देशन दिएका छन्।