भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ् इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको बुधवार मध्यरातमा अन्त्येष्टि गरिएको छ।
प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वरबाट गोरखपुर हुँदै बुधवार भैरहवा ल्याइएको थियो। उनका अभिभावक ढिलो आइपुगेकाले शवलाई केही घण्टा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा राखि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित उनको घरमा लगिएको थियो।
घरमा श्रद्धाञ्जलीपछि राति करिब ११ बजे स्वर्गद्वारी घाटमा अन्तिम संस्कार गरिएको हो। मध्यरातमा गरिएको अन्तिम संस्कारमा पनि भैरहवावासीको ठूलो उपस्थिती थियो। २१ वर्षीय प्रकृतिको शवलाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए।
अन्त्येष्टिमा उनका परिवार, आफन्त, स्थानीयवासी तथा सहपाठीहरूको बाक्लो उपस्थिती थियो। केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत प्रकृति लम्साल गत आइतबार साँझ कलेजको छात्रावासमा मृत फेला परेकी थिइन्।
प्रारम्भिक अनुसन्धानमा कलेजकै सहपाठी युवकको यातनाका कारण उनले आत्महत्या गर्न बाध्य भएको खुलेको छ। भारतीय प्रहरीले ती युवकलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ।
घटनापछि केआइआइटीमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरू पनि असुरक्षाका कारण स्वदेश फर्किरहेका छन्।




