हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
तराईका थोरै स्थानहरुमा आज बिहान पनि हुस्सु लागेको छ।
बिहीबार दिउँसो सातवटै प्रदेशमा आंशिकदेखि साधारण बदली रहने पूर्वानुमान छ।
त्यस्तै कोशी प्रदेशको हिमाली क्षेत्रको थोरै स्थानमा हल्का वर्षा र हिमपात तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै बागमती प्रदेशको पनि हिमाली क्षेत्रको थोरै स्थानमा हल्का वर्षा र हिमपात तथा पहाडी क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
गण्डकी प्रदेशको हिमाली हिमाली क्षेत्रको केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपात तथा पहाडी क्षेत्रको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बनी प्रदेशको पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशका पनि हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
सुदूरपश्चिम प्रदेशका पनि हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
बिहीबार राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र ती पाँच प्रदेश र लुम्बिनी प्रदेशको समेत पहाडी भूभागका एक- दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ।
तराई क्षेत्रमा भने आंशिकदेखि मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।